प्रस्तोता समाजको चुनाव भोलि, संस्थामा भद्रगोल

प्रस्तोता समाजको चुनाव भोलि, संस्थामा भद्रगोल

केन्द्रबिन्दु
0
Shares

बौद्धिक सम्पत्तिको प्रतिलिपि अधिकार सम्बन्धी कानुन अन्तर्गत गीत सङ्गीत पनि बौद्धिक सम्पत्ति अन्तर्गत पर्ने विश्वव्यापी मान्यता अनुसार नेपालमा पनि कानुनले गीत सङ्गीतको प्रतिलिपि अधिकार को(कसमा निहित रहने भन्ने व्याख्या गरेको छ । प्रतिलिपि अधिकार र सङ्गीत रोयल्टीको विषय सँगसँगै आउने भएका कारण प्रतिलिपि अधिकार धनीहरूलाई सङ्गीत रोयल्टीको व्यवस्थापन गर्नको लागि समेत कार्यक्षेत्रहरू छुट्ट्याइएका छन् ।

गीत सङ्गीतको क्षेत्रमा रोयल्टी व्यवस्थापन गर्न भनेर कानुन अनुसार केही संस्थाहरू सञ्चालनमा रहेका छन् । तिनै मध्येको एउटा संस्था हो ‘प्रस्तोता समाज’ । पहिला यो संस्था ‘गायक’ हरुमात्रको थियो तर संस्थाको विधानले वाध्यवाधक, नृत्यकार र अभिनयकर्ताहरुलाई समेत समेटेको कारण पछिल्लो कार्यसमितिमा अभिनय र नृत्य क्षेत्रका कलाकारहरू समेत कार्यसमिति भित्र परेका थिए ।

पहिलो कार्यकाल रामकृष्ण ढकाल, दोस्रो कार्यकालमा हेमन्त शर्मापछि अहिलेको कार्यकालमा तुलसी पराजुली प्रस्तोता समाजका अध्यक्ष रहेका छन् । अब चौथो कार्यकालको लागि भोलि निर्वाचन हुँदैछ । तर पछिल्लो समयमा सदस्यता वितरण या नविकरण गर्दा नृत्य र अभिनय विधामा कार्यरत कलाकारहरूलाई सदस्यता नदिईएको गुनासो कलाकारहरूले गरेका छन् ।

कलाकार महेन्द्र गौतम भन्छन्, उनले अभिनयकर्ताको रुपमा सदस्यता लिन खोज्दा उनलाई गायकको रूपमा फारम भराई सदस्यता दिईयो । जबकी कुनै पनि सृजनालाई अभिनयका माध्यमबाट समाजमा प्रस्तुत गर्न, स्वर प्रदान गर्ने, नृत्य गर्ने त्यो सृजनामा वाद्यवादनका सामाग्री बजाउने लगायत वाद्यवादन संयोजन गर्ने सम्मका सबै कलाकारहरूलाई प्रस्तोता मानिने चलन छ ।

संस्थालाई झन् फराकिलो बनाउँदै र झन् समावेशी गराउँदै लैजानुपर्ने समयमा रोयल्टी सम्बन्धी काम गर्ने संस्थाहरूमा फरक विधाका कलाकारहरू हाबी हुँदै जान थालेको प्रस्ट देखिन्छ । बैठक भत्ता, सरकारी अनुदान र बजेट अनि वैदेशिक सहयोग लगायतका कतिपय आर्थिक कारोबारमा चलखेल गर्न पाइने भएको कारण यसरी संस्थामा पदीय हानाथाप हुने गरेको प्रस्ट हुन्छ ।

अभिनयकर्ता कलाकारहरूलाई सदस्यता नदिन कुनै मूल्यमा नपाइने विधानले प्रस्ट व्यवस्था गरेको हुँदाहुँदै पनि गायकहरूले अन्य प्रस्तोताहरूलाई अल्पमतमा पारेर संस्थामा एकलौटी हालीमुहाली गर्न यसरी सदस्यता वितरणमा कडाइ गरिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

रोयल्टी सम्बन्धी काम गर्ने कुनै पनि संस्थाको अवस्था उस्तै छ । उत्पादक समाजमा गैह्र उत्पादकहरू हाबी भएको चर्चा चल्छ बेलाबखत । सङ्गीत रोयल्टी सङ्कलन समाजमा पनि ‘सबैभन्दा बढी रोयल्टी बुझ्नेहरू’ को उपस्थिति र चासो न्यून छ त्यस्तै प्रस्तोता समाजमा पनि ‘गैह्र प्रस्तोता’ हरू हाबी हुँदै जान थालेको देखिन्छ ।

Skip This
Skip This
Logo