धरान ।
लोक पप तथा मेलोडियस गीतसंगीतका लागि ९० को दशकदेखि अझ पनि उत्तिकै लोकप्रिय पोख्रेली ब्याण्ड कन्दरा अहिले पनि आफूलाई नयाँ नयाँ गीतसंगीत पस्कनमा उत्तिकै सक्रिय छ ।
यहि क्रममा कन्दरा ब्यान्डले स्वरसम्राट नारायण गोपालप्रति समर्पित गर्दै उनको लोकप्रिय गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ लाई आफ्नो स्वरमा पस्केको छ ।
कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ हाल अस्ट्रेलियामा कार्यरत रहेपनि उनी आफ्ना नेपालमा रहेका सहकर्मीहरुसँग उत्तिकै नजिक छन् । यहि नजिकपनलाई आफ्ना श्रोता, दर्शकमाझ आत्मियता बनाउन उनी आफ्नो ब्याण्डसँग कुनै पनि स्टेज शो होस् या गीत रेकर्डकै बेला किन नहोस् नेपाल आइहाल्छन् । गत केहि वर्ष अघि मात्र उनले आफ्नो ब्याण्डसँग धरान, दमक, बुटवल, बिर्तामोड, पोखरा लगायतका विभिन्न शहरमा कार्यक्रम गर्न नेपाल आएका थिए भने अस्ट्रेलियामा नै आयोजना हुन लागेको कार्यक्रमका लागि आफ्नो ब्याण्डका सदस्यहरुलाई अस्ट्रेलिया लाँदै थिए । सोही समय कोरोनाको महामारीका कारणले उक्त कार्यक्रम नै हुन पाएन । अब भने पुनः कन्दरा ब्याण्डलाई सक्रिय बनाउन आफ्ना ब्याण्ड सदस्यहरुसँग लागिपरेका छन् ब्यान्डका गायक विवेक श्रेष्ठ ।
नारायण गोपालको ३० औं पुण्य स्मृतिको अवसरमा नारायण गोपालकै शब्द र संगीत तथा हरिभक्त कटुवालको रचना रहेको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ लाई नेपालमा रहेका आफ्ना ब्याण्ड सदस्यहरु सुनिल थापा, अमित गुरुङ, अनिल गुरुङ, अशिम शेरचन, बुद्धराज बज्राचार्य र अविनाश गायकको साथ आफ्नो आफ्नो ठाउँमै रहेर भिडियोसमेत निर्माण गरेका छन् । स्वर सम्राटको अजम्बरी गीतलाई गाउने प्रयास गरेको र यसलाई आफ्ना गीतहरु झैँ श्रोताहरुले मनपराई दिनुहुने आशा कन्दरा ब्यान्डका सम्पूर्ण सदस्यहरुले गरेका छन् ।
विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली गीतसंगीतको लागि आफ्नो ब्याण्ड कन्दरामार्फत निरन्तर लागिरहने प्रण गरेका ब्याण्ड सदस्य तथा गायक विवेक श्रेष्ठ कोरोना महामारीको अन्त्य सँगै फेरि पनि नेपालका कुना कन्दरामा आफ्ना मेलोडियस गीत संगीत पस्किन आउने बताउँछन् । भिडियो :





























प्रतिक्रिया