‘मैसाब’ लिएर आए सत्यराज र स्वरुपराज (भिडियोसहित)

‘मैसाब’ लिएर आए सत्यराज र स्वरुपराज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कवाली शैलीको रोमान्टिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा मैसाबले घाइते दिलमा आरा चलाइस्यो बोलको कवाली फ्लेवरको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।

राज खानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुले भरिपूर्ण गीत सुन्दा जति आनन्द आउँछ, त्यती नै मज्जा यसको आकर्षक म्युजिक भिडियोले दिन्छ। लोकप्रिय कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ। बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन्। पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन् ।

त्यसैगरी राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ। केही म्युजिक भिडियोमा अभिनय गरीसकेकी छुकिला नेपाली रजतपटको ढोका ढकढक्याउने क्रममा यो गीतको म्युजिक भिडियोमा देखिएकी हुन् । भिडियोमा कविराज गहतराजले होटल याक एण्ड यतीलाई आलिसान दरवारको रुपमा प्रस्तुत गरेका छन् भने आउटडोर इनडोरमा सयभन्दा बढी कोरस कलाकारलाई लोभलाग्दो ढंगले प्रस्तुत गरेका छन् ।

भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन्। कोरियोग्राफीको कलामार्फत हरेकजसो फिल्मी गीतलाई धनी बनाउँदे आएका कविराज गहतराजको यो भिडियो पनि कुनै फिल्मी गीतभन्दा कम लाग्दैन । झकिझकाउ र चमक दमक प्रकाश व्यबस्थापनका साथ सुदीप बरालको छायांकन कलाले भिडियोलाई उत्कृष्ट बनाउन सघाएको छ भने आलिया गिरीको पहिरन डिजाइनले कविराजको दरवारभित्रको सांगितीक कार्यक्रमको परिकल्पनालाई सार्थक बनाउन सघाएको छ।

गीतमा शव्द रचना अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्य एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ । कैलाश राई (सिक्कीम) द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ। कविराज गहतराजले संगीत अनुसार लोकेशन र ड्रेस छनौट गरेको जनाउँदै यो भिडियो आफ्ना लागि चुनौति भएको बताए।

‘एकातिर जोनी जिपहरुको सटमा पलको डबल रोल गर्नु च्यालेन्ज थियो । अर्कोतिर सिक्कीमबाट आएको नयाँ अनुहारलाई प्रोफेसनलरुपमा प्रेजेन्ट गर्नु अर्को च्यालेन्ज थियो। निर्माताले केही कम्प्रोमाइज नगरेकाले मेरो करियरको सबैभन्दा बेस्ट भिडियो बनेको छ भन्ने लागेको छ’ कविराजले भने । गायक सत्यराज आचार्यले यो म्युजिक भिडियो आफूहरुको सांगितीक करियरमा आजसम्मकै सर्वोत्कृष्ट भिडियो बनेको बताए।

‘यसका उच्च आदरार्थी शव्द प्रयोग गरिएका छन् । रोयल तामझामका साथ सुटिङ गरिएको छ । हामीलाई प्रायः स्याड सङमा मन पराइएको थियो । धेरैपछि रोमान्टिक डान्सिङ नम्बर ल्याएका छौँ’ उनको भनाई छ।

म्युजिक भिडियोका छायांकार सुदीप बरालले गीत अनुसार निर्देशकको थिमसँग मिल्ने गरी भिडियो उतारिएको बताए। निर्माता कैलाश राईले सिक्कीमको माया नेपालसँग जोड्ने सिलसिलामा यो गीत तथा यसको म्युजिक भिडियो तयार पारिएको र यस कार्यलाई निरन्तरता दिइने बताए । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट बिहीबार अपरान्ह सार्वजनिक गरिएको हो। भिडियो :

Logo