शिक्षामा सीपः कला सिर्जनामा विद्यार्थीको क्षमता तिखारिँदै

शिक्षामा सीपः कला सिर्जनामा विद्यार्थीको क्षमता तिखारिँदै

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिका–७, चाबहिलस्थित मित्र आधारभूत विद्यालयका विद्यार्थीहरूले कला सिर्जनामा आफ्नो क्षमता विकास गरिरहेका छन्। यहाँका ३० विद्यार्थी भित्तामा चित्र कोर्ने सीप सिकिरहेका छन्। सुरुमा स्केच बनाउने अभ्यास गरेका उनीहरूले अहिले पूर्ण भित्तेचित्र बनाउन जान्ने भएका छन्।

गत शुक्रबार विद्यार्थी सुस्मिना काफ्ले भित्तामा स्वयम्भूको चित्र कोरिरहेकी थिइन्। उनले भनिन्, “भित्तामा चित्र बनाउन रमाइलो लागिरहेको छ। सुरुमा प्राविधिक कुरा सिक्यौँ, अब फिल्डमै प्रयोग गर्न पाउँदा धेरै खुशी लागेको छ। यसले मेरो कला सिक्ने चाहना पूरा गरिदिएको छ।”

विद्यार्थीहरूले समूह बनाएर विद्यालयको भित्तामा जनजीवन, संस्कृति र सम्पदालाई चित्रमा उतारेका छन्। केहीले बालबालिका खेलिरहेको दृश्य, फूलमा मौरी, नेवारी महिला र धिमे बाजा जस्ता चित्र कोरेका छन्। शिक्षक रोजन खड्काका अनुसार ४ देखि ८ कक्षाका विद्यार्थीलाई “शिक्षामा सीप” कार्यक्रमअन्तर्गत कला शिक्षा दिइरहेको छ। हरेक शुक्रबार यस कार्यक्रमअन्तर्गत सिकाइ हुने गरेको छ।

शिक्षिका विन्देश्वरी महर्जनले यसलाई पहिलो पटक विद्यालयमा सञ्चालन गरिएको र निरन्तरता दिन सके राम्रो हुने बताइन्। “विद्यार्थीहरू उत्साहित छन्। यसलाई पाठ्यक्रममै समावेश गर्न सकिएमा अझ प्रभावकारी हुने थियो,” उनले भनिन्।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रममा गत वर्षको सफलतापछि यस वर्ष पनि निरन्तरता दिइएको छ। विगतमा तयार भएका चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो।

काठमाडौँ–६, महाङ्कालस्थित जनकल्याण माविका विद्यार्थी पनि कक्षा कोठामै आर्ट पेपरमा चित्र बनाउन अभ्यास गरिरहेका छन्। यहाँ ३० विद्यार्थी सहभागी छन्। शिक्षक महेन्द्र तामाङ र दीपक आउजीले विद्यार्थीलाई चित्रकला सिकाइरहेका छन्। कला फोकल शिक्षक दीपक घिमिरेका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको सिर्जनात्मक क्षमता तिखार्ने अवसर दिन्छ।

यस्तै, बौद्ध माविका २४ विद्यार्थीहरूले माटोबाट बौद्ध स्तुपा बनाउने अभ्यास गरिरहेका छन्। शिक्षक खेमनाथ सापकोटाका अनुसार पाँचदेखि पन्ध्र दिनको प्रशिक्षणपछि विद्यार्थीले विभिन्न चित्राकृति र मूर्ति बनाउन सक्ने भएका छन्। उनले थपे, “रङसँग खेल्दै गर्दा विद्यार्थीहरूले रमाउँदै सिक्ने अवसर पाउँछन्। यस्तो कार्यक्रम आवश्यक छ किनकि यसले सिकाइलाई प्रभावकारी बनाउँछ।”

विद्यार्थीहरूले टङ्गला स्कुलमा पनि भित्तेचित्र बनाए। पीपलको रूखमुनि गौतम बुद्ध बसिरहेको दृश्य, प्रकृति र जनजीवनका चित्र विद्यार्थीहरूले सिर्जना गरेका थिए। विद्यार्थीहरूको उत्साहले भविष्यमा उनीहरूलाई सिर्जनात्मक पाटोमा मार्गदर्शन गर्ने विश्वास गरिएको छ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको बहुआयामिक कला विभागकी प्रमुख सौरगङ्गा दर्शनधारीका अनुसार विद्यालय तहबाट कला सिकाउनु आवश्यक छ। प्रतिष्ठानले यसलाई छुट्टै कोर्सका रूपमा विकास गर्नुपर्ने उद्देश्य राखेको छ।

हाल २६ विद्यालयका विद्यार्थी भित्तेचित्र, १७ विद्यालयका विद्यार्थी चित्रकला र मूर्तिकला सिकिरहेका छन्। हरेक विद्यालयमा २०–३० विद्यार्थी सहभागी छन्।

Skip This
Skip This
Logo