चन्द्रा आचार्यको तीज गीत ‘तम्रा मया’ले सार्वजनिक (भिडियोसहित)

चन्द्रा आचार्यको तीज गीत ‘तम्रा मया’ले सार्वजनिक (भिडियोसहित)


नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिँदै गर्दा श्रष्टाहरुले तीजसँग सम्बन्धित गीतहरु सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा विशुद्ध नेपाली संस्कृति झल्किएको गायिका चन्द्रा आचार्यको तीज गीत ‘तम्रा मया’ले सार्वजनिक भएको छ । यो गीत चन्द्राको पहिलो सांगितिक कोशेली हो।

खप्तडदेखि रारासम्मका प्राकृतिक तथा सांस्कृतिक विषय समेटिएको पश्चिमी लोकशैलीको यो गीतमा लक्ष्मीप्रसाद गौतमको शब्द छ । गीतमा संगीत गौरव दर्पणको छ भने संगीत संयोजन सुरथ प्रधानले गरेका छन् । सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मित्र लामाले रेकर्डिङ र मिक्सिङ गरेका हुन् । 

गरिमा शर्मा, कमल देवकोटा, मनायु गौतम, एन्जेल कार्कीले अभिनय गरेको भिडियोलाई रमेश थापाले निर्देशन गरेका हुन् । भिडियोमा एउटी युवतीले बाल्यकालदेखि नै आपूmले मन पराएको केटालाई नै श्रीमानको रुपमा कल्पना गरी विवाह र ततपश्चात विभिन्न ठाउँमा घुम्न गएको कल्पना देखाइएको छ । नहकुल खड्काले सम्पादनमा गरेको भिडियोमा कोरियोग्राफी सुरेश पाण्डेको छ । भिडियोको छायाँकन शिव ढकालले गरेका हुन्। 

गरिमाको सुन्दरतासँगै गीतको कोरियोग्राफी, छायाँकन र भेषभुषा पनि निकै राम्रो छ । पछिल्लो समय तीज गीतमा छाडापना र भड्किलो पोशाक प्रयोग बढ्दै गएकोमा यो गीतमा भने त्यस्तो छैन । तीज भनेको विवाहितले श्रीमानको लामो आयुको कामना गर्दै व्रत बस्ने र  अविवाहितले राम्रो श्रीमान पाउँ भन्दै व्रत बस्ने तथा नाचगान गर्ने चाड भएकाले अविवाहित युवतीको कल्पनालाई गीतमा उतारिएको निर्देशक रमेश थापाले बताए।

ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोले राम्रो लोकप्रियता पाउने आशा निर्माण पक्षको छ। 

 

Logo