मिस नेवा: का लागि प्रतिस्पर्धीहरुको व्यस्तता बढ्यो

मिस नेवा: का लागि प्रतिस्पर्धीहरुको व्यस्तता बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवा: नेपाल नजिकिएसँगै यो प्रतिस्पर्धाका प्रतियोगीहरुको व्यस्तता दिनदिनै बढ्दै गएको छ।

नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेष चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियान अन्तर्गत नेप्लीज फेसन होमले आयोजना गर्दै आएको यो प्रतियोगिताका प्रतियोगीहरुको व्यस्तता आयोजकको तर्फबाट प्रदान गरिँदै आएको विभिन्न तालिम, प्रशिक्षण र भ्रमणका कारण बढ्दै गएको हो।

यसैक्रममा १५ औं संस्करण मिस नेवाः नेपाल ११४१ का प्रतियोगीहरुले विश्व शान्तिको कामना गर्दै राजधानीको महांकाल र संकटा मन्दिरमा पूजाआजा गरेका छन् । प्रतियोगीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै शुक्रवार महांकाल मन्दिरमा लाख बत्ती बोलेका छन् ।

शनिवार यही कामना गर्दै नेवार सुन्दरीहरुले संकटा मन्दिरमा पनि पूजाआजा गरेका छन् । मिस नेवाः नेपालको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार सुन्दरीहरुलाई कला, धर्म, संस्कृति, भाषा र भेषबारे ज्ञान अभिबृद्धि गराउने क्रममा हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मन्दिरमा लगेर लाख बत्ती बाली पूजा आजा गराउने क्रममा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको हो।

यस वर्षको मिस नेवाः नेपाल आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दैछन्।उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण दिइरहेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् । नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ।

Logo