शिक्षक बारे कविता लेख्नुस, एक लाख जित्नुस

शिक्षक बारे कविता लेख्नुस, एक लाख जित्नुस


फिल्म ‘प्रकाश’ले खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ । प्रदिप खड्का अभिनित फिल्म  ‘प्रकाश’ले शिक्षकको विशेषता वा महत्वबारे कविता लेखेर पठाउन आह्वान गरेको हो । १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीले प्रतिस्पर्धामा भाग लिन पाउने भएका छन् ।

पहिलो हुनेलाई एक लाख रुपैयाँ पुरस्कार दिईने छ भने दोस्रो हुनेलाई ५० हजार प्रदान गरिनेछ । नेपाली र अंग्रेजी दुवै भाषालाई मान्यता दिइएको कविताको लम्बाइ एकदेखि साढे एक मिनेटसम्मको हुनुपर्ने प्रावधान राखिएको छ । सहभागीले कविताको भिडियो बनाएर पठाउनु पर्ने छ । साउन २० गतेदेखि सुरु हुने प्रतिस्पर्धा भदौ २० गतेसम्म चल्नेछ । 

भदौ १० गते देखि प्रदर्शनमा आउने तयारी गरेको फिल्म  ‘प्रकाश’को मुख्य पात्रको पनि कथा शिक्षक बनेर परिवार र आफ्नो सपना पूरा गर्ने रहेको हुदा मुख्य पात्रको थिममा आधारित रहेर शिक्षकको विषयमाथि कविता प्रतिस्पर्धा आयोजना गरिएको निर्माता महेन्द्र अधिकारीले बताए ।

दिनेश राउत निर्देशित फिल्म  ‘प्रकाश’मा प्रदीपसहित दीया मास्के र रेणु योगीको मुख्य भूमिका छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बू र एलिस कार्कीको संगीत छ ।
 

Logo