काठमाडौं ।
सङ्गीतकार आशिष अविरललाई द्विविधा आइलाग्यो जब कविवर माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि सार्वजनिक गर्नू भनी लेख्नु भएको गीतमा धुन भर्नु पर्ने भयो ।
मूर्धन्य स्रष्टाको गीतमा सङ्गीत गर्न पाउनु उनका लागि चुनौती र अवसर दुवै थियो । “गीतलाई न्याय गर्न सक्दिन कि भन्ने लाग्यो, सङ्गीत गर्दिन भन्न पनि सकिनँ”, अविरलले भने, “एक किसिमको द्विविधा जस्तो भयो, गरुँ मृत्युको गीत, नगरुँ राष्ट्रकवि जस्तो ‘लिजेन्ड’को इच्छा ।”
गत साता दिवङ्गत भएका कविवर घिमिरेद्वारा रचित उक्त गीत ‘त्यसरी होस् मरण…’ मा मृत्युकालिक कल्पनाको चित्रण छ । गीतमा गायक कर्णदासले स्वर दिएका छन् । “सागरमा ज्वारभाटा आउँदाको वर्णन जस्तो हो यो”, अविरलले भने, “एउटा विशिष्ट परिस्थितिलाई लिएर बनाइएको गीत हो ।” दुई वर्ष अघि रेकर्ड भएको उक्त गीत कविवर घिमिरेको निधन लगत्तै सार्वजनिक गरिएको थियो । सन् ०१६ मा रचित गीतलाई कविवर घिमिरेकै इच्छा अनुसार परिवारजनले रेकर्ड गराएका थिए ।
“कविज्यूको परिवारका तर्फबाट अशेष शर्मा र मन्दिरा ढुङ्गेल सङ्गीतका लागि म कहाँ आउनुभयो”, सङ्गीतकार अविरलले भने, “उहाँहरुले गीतका बारेमा सबै बताउनु भयो, मृत्युपछि बजाउनु पर्ने गीत भनेपछि त्यो त मेरा लागि मथिङ्गल हल्लाउने कुरा थियो, म केही डराएँ पनि ।” परिवारका तर्फबाट निसङ्कोच काम गर्न आग्रह भएपछि आफू सङ्गीतका लागि तयार भएको उनले सुनाए। पछि कविवर घिमिरेकी जेठी छोरी शान्ति अधिकारी बुबाको इच्छा अनुसार तयार पारिएको लोकशैलीको धुन लिएर सङ्गीतकार अविरलकहाँ पुगिन् ।
“सेलो गीतको धुन जस्तो परिकल्पना गर्नुभएको रहेछ, त्यसमै टेकेर मेरो धर्मले भ्याएसम्म र कविज्यूको इच्छा पनि नमर्ने गरी सङ्गीतबद्ध गरेँ”, उनले भने, “मृत्युको क्षण र प्रक्रियालाई सङ्गीतमार्फत भन्नु थियो, सक्दो प्रयास गरेँ भन्ने लाग्छ ।” उनलाई गीतमा सङ्गीत गर्न महिना दिन लागेको थियो । कविवर घिमिरेका परिवारजन र आफूबीचको सल्लाहपछि स्वरका लागि गायक कर्णदासलाई रोजिएको सङ्गीतकार अविरलको भनाइ छ । गीतको रेकर्ड उनकै राग रेकर्डिङ स्टुडियोमा गोप्यरूपमा गरिएको थियो ।
देशको विशिष्ट प्रतिभासँग जोडिन पाउनु आफ्नो साङ्गीतिक जीवनकालकै महत्वपूर्ण उपलब्धि भएको अविरलले बताए । “सङ्गीतका लागि मलाई खोज्दै आउनुभयो, मेरो कामप्रति जुन विश्वास गर्नुभयो, त्यो मेरा लागि ठूलो सौभाग्य हो”, उनले भने । गीत रेकर्ड भइसकेपछि कविवर घिमिरेलाई भेट्ने दृढ इच्छा भए पनि त्यो अधुरै रहेको अविरलले उल्लेख गरे। सङ्गीतकारसँग भेट हुँदा गीतबारे कुराकानी हुन सक्ने र गोपनीयता गुम्ने डरले पनि भेटको वातावरण नमिलेको हुन सक्छ ।
कविवर घिमिरेले उक्त गीत आफूलाई नसुनाउन र मृत्युपछि मात्र सार्वजनिक गर्न परिवारजनलाई आग्रह गरेका थिए । गीतमा मृत्युको स्वीकारोक्ति छ । गीतको भावभूमि सहज मृत्युवरण हो । “कविज्यूको गहिरो सोच र विशाल हृदयको अभिव्यक्ति गीतमा छ”, अविरलले भने । गीत सार्वजनिक भएपछि त्यसको सङ्गीत पक्षलाई लिएर विभिन्न प्रतिक्रिया उब्जेको उनको भनाइ छ । “कतिपयले सङ्गीतमा अपूर्णता छ भनेर पनि टिप्पणी गर्नुभएको छ, तर साहित्यिक र साङ्गीतिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरुले ऐतिहासिक गीत बन्यो भन्नु भएको छ, म उत्साहित छु ।”
मृत्युपछि बजाउन तयार गरिएको भए पनि उक्त गीत शोकगीत जस्तो नभएको उनको भनाइ छ । “मानिसलाई दुःखी बनाउने, रुवाउनेभन्दा पनि यो गीतको भाव अलिक भिन्न छ, त्यही अनुसार यसको सङ्गीत तयार गरिएको छ”, अविरलले भने । गीतमा जीवन–दर्शन र सहज मृत्युको इच्छा प्रकट भएको उनको भनाइ छ ।
बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका अविरलले हालसम्म १०० भन्दा बढी गीतमा सङ्गीत दिएका छन् । आफ्नो २० वर्षको साङ्गीतिक जीवनकालमा झण्डै चार हजार गीतमा सङ्गीत संयोजन गरेका छन् ।
गायक नरेन्द्र प्यासी र गीतकार आनन्द अधिकारीसँगको सहकार्यमा सार्वजनिक आधुनिक गीत सङ्ग्रह ‘बास्ना’मा उनको सङ्गीत छ । चलचित्र ‘ए मेरो हजुर’को गीतमा सङ्गीतसँगै स्वर पनि अविरलले दिएका छन् । लोकदोहोरी, चलचित्र, आधुनिक, गजल लगायतका विधामा उनी सक्रिय छन् ।रासस































प्रतिक्रिया