नेकपा विवाद : ‘भीरबाट लड्न लागेको भैंसीलाई राम राम भन्न सकिन्छ, काँधै थाप्न सकिन्न’

नेकपा विवाद : ‘भीरबाट लड्न लागेको भैंसीलाई राम राम भन्न सकिन्छ, काँधै थाप्न सकिन्न’


नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको जुङ्गाको लडाइँको चपेटामा जनता कहिलेसम्म चेपुवामा चेपिई रहने भन्ने बहस अहिले गाउँ गाउँका चिया चौतारीदेखि शहर बजारका भट्टि पसलमा समेत हुने गरेको छ । पुष्पकमल दाहाल पक्षको मागलाई बेवास्ता गर्दै उनका सामु केपी ओलीले राखेको चट्टानी अडान अहिले संचार माध्ययमहरुमा निकै बिकाउ वस्तु भैरहेको छ । यसले बजार पनि लिईरहेको छ जसका बाबजुत केपी ओलीका समुन्ने पुष्पकमल दाहालको पक्षले कि त घुँडा टेक्नु पर्ने की पाटी नै छोड्नु पर्ने स्पष्ट दबाब देखिएको छ ।

यसर्थ अब पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरुले आफूहरुकै कारणले सरकारको दैनिक कार्य सम्पादनमा पुग्न गएको उल्झनको भागिदार भएकोमा आत्मालोचना गर्दै केपी ओलीसँग सहकार्य गर्नुको बिकल्प देखिंदैन । अन्यथा अर्कोतर्फ लाग्दा पनि केपी ओलीको जुँगा पनि हल्ने अवस्था देखिंदैन यस तर्फ पुष्पकमल दाहाल लगायतका नेताहरुले बेलैमा सुझबुझका साथ कदम चाल्नु नै श्रेयस्कर ठहरिएला ।

यति खेर जनता नेकपाको विवादको समाचार सुन्न चाहँदैनन् न कि विपक्षी दलले नै त्यो चाहेका छन् । स्वयं नेकपाका नेताहरु भने किन आफ्नै पाटी भित्रको कचिंगल फत्ते गर्न चाहँदैनन् ? यहाँ गम्भीर आशङ्का जन्मिएको छ, जसका वाबजुद् नेकपा भित्र रहेर काम गरिरहेका लाखौं कार्यकर्ताहरुमा समेत बिचलन आउन थालिसकेको छ । आशा गरौं नेतृत्व वर्गले तल्लो तहका कार्यकर्ताहरुलाई बिचलनबाट मुक्त राख्न पनि आफूहरु मिल्नुको बिकल्प छैन ।

यिनले जनता प्रतिको जवाफदेहिता र उत्तरदायित्व पूरा गर्न लाग्नुको साट्टा आफ्नै पाटीभित्र र सरकारमा भागबण्डाको किचलो झिकेर दुई अध्यक्षबीचको विवाद उत्कर्षमा पुर्याई जनजीबीकाका समस्यालाई ओझेलमा पारि आ-आफैं संचारमाध्यमका हेडलाईन बनिरहने प्रबृत्तिले जनताबाट यिनले पाएको शाख गुम्ने निश्चित छ । सरकारको दिब्यदृष्टि अहिले कोरोना भाइरसतर्फ हुनु पर्ने र यसलाई कसरी परास्त गर्ने भन्ने विषयमा केन्द्रित हुनु पर्नेमा भागबण्डाको फोहोरि खेलमा लिप्त हुनु आम जनताका लागि कदापी न्यायोचित हुन सक्दैन यो यथार्थलाई यिनले नबुझेका हुन् या बुझेर पनि बुझ पचाएका हुन् आफैं जानुन् । तर समयले यसको हिसाबकिताब गर्ने नै छ । सायद नेकपाका नेताहरु त्यहि समयको पर्खाइमा हुनुपर्छ ।

सत्ताको उन्मादले उन्मुक्त मत्ता हात्ती जस्तो बनेको ओली सरकार ले जनप्रिय काम गर्नुको सट्टा आ-आफैं धन दौलत थुपार्ने कार्यमा तल्लिन भएको देख्दा यिनले जनताबाट पाएको अभिमतलाई लत्याएको स्पस्टै देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने उनीहरु मैं खाउँ मैं लाउँ भन्ने भावनाबाट गुज्रिईरहेका छन् । आखिर सरकार आम जनता प्रति उत्तरदायी भई राष्ट्र र राष्ट्रियता प्रति बफादार बन्ने र नेताले देशको इमान्दार चौकिदारी गर्ने हो भने मात्रै पनि जनताले सरकारबाट राहतको महसुस गर्न पाउने थिए । तर सरकार यसको ठिक विपरित बाटो तिर गइरहेको छ ।

आम जनतालाई गुमराहमा उकुसमुकुस पारेर अल्झाइ रहेको छ । यसरी जनताको बहुमत बटुलेर जङ्गलको शेर बाघको रेसमा दौडिनु पर्ने बिकासको गतिले गल्लिमा भुक्ने भुस्याहा कुकुरको कुँई कुँई रोदन जस्तै रुन्चे स्वरमा सत्तामा लतारिई रहेको देख्दा देशी विदेशी शक्तिहरुले समेत बिचरा भन्नु पर्ने अवस्था आईसकेको छ । यसैले पनि अब सरकारले आफूलाई सच्याई तत्कालै जनमुखि कार्यमा डोहोर्याउनु नै श्रेयष्कर ठहरिनेछ । अन्यथा भीरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँधै थाप्न सकिंदैन ।

Logo