खप्परको दोष

खप्परको दोष

केन्द्रबिन्दु
0
Shares

हाम्रो समाजका अधिकांश घटनाक्रमहरू ‘सनसनीपूर्ण खुलासा’ बनेर सामाजिक सञ्जालमा छाउन थालेका छन् । म कहिलेकाहीँ सोच्ने गर्छु । यस्ता खाले काण्डहरू हेरेर समय खेर फाल्नु हुँदैन । र, हेरेर धारणा बनाउनेहरूलाई पनि त्यसरी एकतर्फी भिडियो हेरेर धारणा बनाउनु हुँदैन भनेर सुझाव दिने गर्छु ।

तर, कहिलेकाहीँ भिडियोको ‘थम्नेल’ वा त्यसको ‘हाइलाइट’ यसरी लेखिएको हुन्छ कि त्यो भिडियो नहेरी सुख पाइँदैन । यो पटक त्यस्तै भयो, ‘स्याङ्जाका कुमारले तनहुँकी अनुपालाई दुई छोरीसहित भगाए’ यो स्याङ्जाको कुरा भएको कारण मैले भिडियो नहेरी बस्न सकिन ।

तनहुँका नकुल अधिकारी जो वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा बस्थे । उनकी ३३ वर्षीय श्रीमती अनुपा स्याङ्जा टक्सारका कुमार भन्ने मान्छेले दुई छोरीसहित भगाएको भन्ने आरोप नकुलले लगाएका छन् । त्यहाँ नकुललाई युट्युबका पत्रकारले “हामी तपाईँलाई न्याय दिलाउन आएका हौँ, हामीसँग सबै कुरा खुलस्त पारेर भन्नुहोस्” भन्ने शैलीमा रहस्यहरू खोतल्दै छन् । म अचम्मै पर्छु । विस्फारित हुन्छन् मेरा आँखा र उदेक लाग्छ मलाई । अरबमा बरबाद भएका नेपाली जिन्दगीको यो भयावह अवस्था हेरेर ।

कहानी अगाडि बढ्छ । नकुल र अनुपाको सात कक्षामा पढ्दादेखि नै लभ थियो । नकुल स्विकार्छन् “हामी त ७ कक्षादेखि नै सँगै हिँडेको हो, लभ गरेर बिहे गरेको हो” । १७ वर्ष अगाडि उनीहरूले बिहे गरे । तेह्र चौध वर्षकी जेठी र अर्की सानी काखे छोरी छन् । कुमारले स्कुल पढ्दै गरेकी चौध वर्षकी छोरीसहित ३ जनाको परिवार नै उठाएर लगिदिएछन् (आरोप अनुसार) अहिले नकुल दुबईबाट फर्किए तर उनले छोराछोरीको लागि ल्याएको खेलौना समेत आफ्ना छोराछोरीलाई दिन नपाएर विक्षिप्त छन् ।

सानैमा प्रेम विवाह गरेकी श्रीमतीमाथि अविश्वास गर्नुपर्ने कुनै कारण थिएन । पैतृक सम्पत्ति जति थियो त्यो उनले श्रीमतीकै नाममा गरेका थिए । घरमा तला थप्नुपर्ने भयो । अलिकति अचल सम्पत्ति जोडेको ऋण पनि तिर्नु थियो । अनुपाले नकुलसँग १२ लाख बैङ्कबाट झिकेर सात लाख ऋण तिर्ने र बाँकीले घरको तला थप्ने योजना सुनाइन् । मासिक ७५ हजारको दरले २१ महिनाको तलब नकुलले श्रीमतीलाई पठाए । पैतृक सम्पत्तिमा अंश पाएको घर धितो राख्न स्वीकृति पनि दिए तर अनुपाले १२ होइन २८ लाख रुपैंया उनलाई थाहै नदिई निकालेर कुमारसँग भागिन् । दुबईबाट फर्केका नकुललाई अहिले बैङ्क र साहुहरूले घेरिरहेछन् ।

त्यति मात्र होइन अनुपाले आफ्ना माइतीहरूसँग समेत मनग्य सापटी लिएकी रहेछिन्, हरेक ठाउँ सक्ने जतिबाट पैसा उठाएर श्रीमानले परदेशमा कमाएको र बैङ्कबाट निकालेको समेत पैसा लिएर अहिले अनुपा कहाँ कुन ठाउँमा छन् नकुललाई अत्तोपत्तो छैन । फोन ‘अफ’ छ । छोरीसँग कुरा हुँदा म फर्कन चाहन्छु भन्छिन् तर कुन ठाउँमा छु भन्ने बताउन सक्दिनन्, उनीहरू काठमाडौँमा भएको लख काट्छन् नकुल ।

झगडा सामाजिक सञ्जालबाट सुरु भएको रहेछ । कुमारले नकुलकी श्रीमती सँग ‘हाई हेल्लो’ गर्ने, श्रीमतीको पोस्टमा कमेन्ट गर्ने गरेको नकुलले थाहा पाएपछि ‘को हो कुमार ?’ भन्ने भनेर सोधेका रहेछन् । अनुपाले सधैँ ‘मामाको छोरा हुन्’ भनेर चिनाउने गरेकी थिइन् रे । पछि कुनै कमेन्ट वा म्यासेज को कुरालाई लिएर नकुल र कुमारबीच भनाभन भएको थियो रे, त्यही कुराले मात्रै यताको सबै सम्पत्ति कुम्ल्याएर नकुलकी श्रीमती उनलाई छोडेर कुमारसँग गएको पक्कै नहुनुपर्ने ।

म भिडियो अगाडि हेर्दै जान्छु । युट्युबरले तपाईँको कान्छी छोरीको नाम के हो भन्दा नकुलले छोरीको नाम थाहै छैन भने, देखेकै छैनन् रे । उनी परदेशमै हुँदा जन्मिएकी छोरी भएको कारण यस्तो भएको हुन सक्छ । मैले सोचेँ कमसेकम छोरीको नामसम्म त थाह पाउनुपर्ने थियो । नकुल आफैले केयर गर्न नसकेर पो भागिन् कि ? यही दोसाँधमा अगाडि भिडियो हेर्दै छु म ।

दसैँमा टिका थाप्न आएकी श्रीमती त्यसपछि घरमा फर्केर आइनन् । म काठमाडौँमै व्यवसाय गरेर बस्छु भन्न थालिन् । नकुलले काठमाडौँ नजाऊ बरु म फर्केर आएपछि जे गर्ने हो गरौँला भनिरहे तर श्रीमतीले मान्दै मानिनन्, उनले घर फर्कन जोड बल गरेपछि श्रीमतीले “मेरो आस नगर्नु, म ऋणमा डुबेँ, मैले व्यवहार बिगारेँ अब म त्यहाँ आउन सम्भव छैन हजुरले आफ्नो व्यवस्था गर्नुहोला तपाईँलाई धोका दिन पुगेँ मलाई माफ गर्नुहोला” यत्ति भनेर अनुपाले फोन काटिन् त्यसपछि सम्पर्क हुन सकेको छैन ।

यहाँ पीडित भनिएका नकुलले प्रहरीमा उजुरी गरेको प्रसङ्ग कतै सुन्न पाइएन । उनले सोचे पोइल गएका महिला युट्युबका पत्रकारले फिर्ता ल्याइदिन्छन् । श्रीमती नपाए पनि सम्पत्ति त पक्कै फिर्ता आउँछ (त्यहाँ युट्युबका पत्रकारले दाबी पनि गर्छन्, ‘हामी राहत दिलाउँछौँ भनेर) त्यसैले नकुल ढुक्कसँग मनको कुरा खोल्छन् जुन उनले प्रहरीको अगाडि सायदै खोल्ने थिए होला ।

म एकोहोरिएर सोचिरहेछु, त्यस्तो कुन परिस्थिति आइपर्‍यो र अनुपालाई ऋण लाग्यो ? कसले खायो त्यो पैसा ? कुन बहकाउमा आएर अरूलाई दिएको हुनसक्छ ? कुन आवश्यकता पुरा गर्न त्यो पैसा खर्च भयो होला ? वा कसैले अन्य प्रलोभनमा पारेर अनुपाको व्यवहार बिगार्दिएको होला ? मनमा यस्तै कुरा खेल्दै थिए, मसँगै बसेर भिडियो हेरिरहेको मेरो साथीले मलाई सोध्यो यो ‘काण्ड’ मा पीडित को हुन सक्छ र यो काण्डको मुख्य कारण के होला ?

म फेरि विस्फारित आँखा बनाएर साथीलाई हेर्छु, मनमा अनेक तर्कना घुम्छन् कुरा खेल्छन् र खुइय्य सुस्केरा हालेर जवाफ दिन्छु ‘हामी नेपालीको खप्परको दोष हो’ । न नकुल विदेश जान्थे, न श्रीमान् श्रीमती एक्ला एक्लै भएर बस्नु पर्थ्यो । न अनुपाले एक्लै व्यवहार गर्नु पर्थ्यो न कुमार जस्ता मान्छेहरूले उनको जिन्दगीमा स्थान पाउँथे र न यो घरबार बिग्रन्थ्यो ।

यहाँ दोष कसैको छैन, यो खप्परको दोष हो । मेरो जवाफ सुनेपछि साथी उठेर बाहिर गयो र श्रीमतीलाई फोन गर्‍यो, छोरी खोइ ?

Logo