शीतल निवासलाई नफापेको ३

शीतल निवासलाई नफापेको ३

केन्द्रबिन्दु
0
Shares

नेपालमा एउटा उखान चर्चित छ, ‘अर्काको आङको जुम्रा देख्ने तर आफ्नो आङको भैसी पनि नदेख्ने’ । अहिले सामाजिक सञ्जालमा त्यही भइरहेको छ । नेपालमा बढ्दो सामाजिक सञ्जालको प्रयोग, जुनसुकै निकायको छिटो अपडेट र ब्रेकिङ समाचारको नाममा केही न केही विषयहरू चर्चामा आइरहन्छ ।

आज शीतल निवासलाई नफापेको ३ को चर्चा गरौं । हिजो माघ ३ गते शुक्रबार जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । राष्ट्रपति कार्यालयले यही भेटघाटको प्रेस विज्ञप्ति आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेपछि एकाएक फेसबुकमा प्रेस विज्ञप्ति भाइरल बन्यो । मिति बिग्रेको विषयले सबैको ध्यान तान्यो । विज्ञप्तिमा व्याकरण नमिलेकोदेखि मिति गलत भएको चर्चासम्म सामाजिक सञ्जालको लागि मसला बन्यो । अहिले पनि चर्चा सेलाएको छैन ।

राष्ट्रपतिको कार्यालय शीतल निवासको यो पहिलो पटक भने होइन । यसअघि पनि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा कमजोरी छ । राष्ट्रपति भण्डारीले तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । तर राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा २०७३ साल फागुन ३ गते उल्लेख थियो ।

त्यसो त शीतल निवासलाई ३ गतेले फापेन भन्न पाइएला । किनभने २०७४ साल फागुन ३ गतेको विज्ञप्ति र गत माघ ३ गतेको विज्ञप्तिले बढी चर्चा पाएको छ । सुरूमा त मिति बिग्रेको विषयले बढी चर्चा पायो । मिति बिग्रेको प्रसंगबाट सुरू भएको चर्चाको विषय विस्तारै अशुद्ध लेखिएकोतिर पनि मोडियो ।

नेपालमा चर्चा नै गर्ने हो भने शीतल निवासको विषय मात्र चर्चा गर्न योग्य होइन । च्याउसरी खुलेका अनलाइनमा लेखिएका शब्दहरूको चर्चा गर्ने हो भने एउटै अनलाइनमा एउटै शब्द दुई खालको पाइन्छ । एउटै शब्द ह्रस्व पनि भेटिन्छ भने दीर्घ पनि भेटिन्छ । यो त अरूको आङको जुम्रा देख्ने अनि आफ्नो आङको भैंसी पनि नदेख्ने भएन र ?

अझ अचम्म त, नेपालमा चलेका अनलाइनको अपडेट हेर्ने हो भने नेपालका जिम्मेवार व्यक्तिको नाम र थर समेत बिगारेर लेखिएका देखिन्छन् । समाज सुधार गर्ने भनेको आफू सुध्रिएर हो त भनिन्छ, तर आफूले सुधार गर्ने चाहना नराखेर अरूको खण्डनमै हाम्रो दिन बितिरहेको छ ।

यसबारे बोल्ने आधार त गुगल नै हो । गुगलमा खोजी गर्दा जिम्मेवार पदमा बस्नेको थर सबैभन्दा बढी उपसभामुख शिवमाया तुम्बाहाङ्फेको थर बिगारिएको पाइएको छ । कुनै अनलाइनमा ‘तुम्वाहाम्फे’ छ भने कतै ‘तुम्बाहाम्फे’ लेखिएको भेटिन्छ । गुगल नै आधार मान्ने हो भने उनको थर अनलाइनहरूले तुम्वाहाम्फे नै बनाइसके । सबैभन्दा बढी लामो सूची तुम्वाहाम्फेको छ ।

त्यस्तै जिम्मेवार मन्त्री तथा सांसदहरूको नाम बिगारिएकोमा सबैभन्दा अगाडि पद्मा कुमारी अर्यालको नाम रहेको छ । साथै श जोडिएका, ब जोडिएका आदि धेरै सांसदहरूको नाम बिग्रेको समस्या भेटिन्छन् । त्यसैले नेपालमा अरूको विरोध गर्नु जति सजिलो केही छैन । आफैबाट सुधार हुनुपर्ने कुरा भने अहिलेसम्म कोमामै छन् । त्यसैले अरूको चर्चा गर्दै गर्दा शीतल निवासलाई ३ ले नफापेजस्तै हामी सबैलाई नफापेको दिन हुन्छ । हामी सबै मिलेर समस्या न्यूनीकरणमा लागौं । अरूको खण्डन गर्ने समयलाई आफ्नो कमजोरी सुुधारमा लगानी गर्ने हो भने भोलिको सामाजिक सञ्जालमा एउटा कमजोरी अवश्य घट्नेछ । त्यसरी नै गर्ने हो नेपालमा बढ्दै गइरहेको बिग्रँदो शब्द र हतारमा गरिएको गल्तीको न्यूनीकरण हुनेछ ।

किन बारम्बार चिप्लिन्छ शीतल निवास ? ५ लाइनको विज्ञप्तिमा ६ वटा गल्ती !

Logo