गगन थापाको समर्थनमा उत्रिइन् नेतृ रामकुमारी झाँक्री, मागिन् गृहमन्त्रीको राजीनामा

गगन थापाको समर्थनमा उत्रिइन् नेतृ रामकुमारी झाँक्री, मागिन् गृहमन्त्रीको राजीनामा

केन्द्रबिन्दु
126
Shares

नेकपा एकिकृत समाजवादीकी सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सहकारीको करोडौं रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेकी छन् ।

यहि आइतबार संसदमा गृहमन्त्री लामिछानेले दिएको अभिव्यक्ति अमर्यादित, गैह्रजिम्मेवार गैह्रसंसदीय, अराजनीतिक र पदिय मर्यादा विपरित रहेको दाबी गर्दै मंगलबार पूर्वमन्त्री झाँक्रीले आफूमाथि लागेका आरोपमा न्यायिक छानविनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेकी हुन् ।

‘जिम्मेवार ब्यक्तिले संसदमा बोलेका हर विषय वस्तुको जिम्मेवारी लिने, प्रमाणित पनि गर्नुपर्छ। जब संसदमा आफूमाथि नैतिकताको प्रश्न उठ्छ जब त्यसबारे आफूमाथि न्यायिक छानविन गर्न आफूले पद छोड्नुपर्छ। विधि, कानून भन्दा माथि कोही छैन।’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।

साथै पूर्वमन्त्री झाँक्रीले संसद नाङ्गो नाच देखाउने थलो नभएको भन्दै गृहमन्त्री लामिछानेमाथि अर्को कटाक्ष गरेकी छन् । पदको गरिमा र पदिय जिम्मेवारीलाई हल्का फूल्का टोले झगडियाको दर्जामा पु¥याएको उनको भनाई छ । लोकतन्त्र र लोकतन्त्रले स्थापना गरेको संस्था, संसदलाई पंगु बनाउने काम भएको बताएकी उनले राणा शासनको विरूद्ध प्रजातन्त्र प्राप्तिको लागि बलिवेदीमा चढ्ने ति महान सहिदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त र दशरथ चन्द लगायतका सहिदहरूको समेत अपमान गरेको आरोप लगाएकी छन् ।

संसदलाई कुन्ठा पोख्ने थलो बनाउन नहुने पक्षमा रहेकी नेतृ झाँक्रीले तथ्यहरु प्रमाणित छन् भने नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि कारवाही गर्न गृहमन्त्री लामिछानेलाई चुनौती पनि दिएकी छन् । ‘तथ्यहरू प्रमाणित छन भने कारवाही गर्नुस।’ उनले भनेकी छन् ‘तथ्यहिन हुन भने यस्तो गैह्रजिम्मेवार ब्यक्ति देशको गृहमन्त्री बन्न सक्दैन। बन्न हुदैन। सम्माननीय प्रधानमन्त्रीज्यूको यसप्रति ध्यान जाओस्।’ विगतमा पनि विभिन्न काण्डहरुमा प्रश्न उठेपछि सम्बन्धित व्यक्तिमाथि छानबिनका लागि समिति गठन भएर निरुपण हुने गरेको भएकाले यो प्रकरणमा सरकारले समिति बनाउन पन्छिनु गलत भएको उनको भनाई छ ।

सोमबार पनि उनले गगन थापा आन्दोलनले जन्माएको नेता भएको र युवाहरुको राजनीतिक आइकन समेत भएको बताएकी थिइन् । ‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनितीक आईकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो’, उनले भनेकी छन्, ‘गगनथापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का रहोस् ।’

Logo