परिवार र विद्यालयका कारण बालबालिकामा मोबाइलको लत !

परिवार र विद्यालयका कारण बालबालिकामा मोबाइलको लत !


  • प्रसुन संग्रौला –

‘अहिलेको युग विज्ञान र प्रविधिको हो ।’ यो अहिले फेसनमा रहेको वाक्य हो । हुन पनि अहिले मोबाइल, कम्प्युटर र अन्य विभिन्न प्राविधिक उपकरणहरू सामान्य जीवनका अंग बनिसकेका छन् । यस्ता सामग्री प्रयोग नगर्ने र प्रयोग गर्न नजान्ने मानिस विरलै मात्र पाइन्छन् ।

सबैको हातहातमा मोबाइल र ल्यापटप देख्न पाइने आजको समयमा मानिसहरू ससाना कुराहरूमा पनि प्रविधिक उपकरणहरूमाथि निर्भर भएको देख्न सकिन्छ । विशेष गरी अहिलेका बालबालिकाहरू अरू कुराहरूमा भन्दा पनि विभिन्न प्राविधिक उपकरण, गेम तथा भिडियोहरूमा बढी समय दिने र त्यसैमा धेरै रमाएका देख्न सकिन्छ । त्यसमा पनि मोबाइल एक नम्बरमा पर्छ । अर्को भाषामा भन्दा यसलाई मोबाइल एडिक्सन पनि भनिन्छ । मोबाइल एडिक्सन वा लतका कारणले संसारभरि धेरै बालबालिका मानसिक र शारीरिक रोगहरूको चपेटामा परेका खबर बेलाबेलामा भाइरल हुने गर्छन् । केही महिनाअघि भारतमा एक १६ वर्षीय किशोरले लामो समयसम्म लगातार अनलाइन गेम पब्जी खेलेका कारण हृदयाघात भएर ज्यान गुमाएका थिए । यो त एउटा उदाहरण मात्र हो यस्ता घटना संसारभरि कति हुन्छन कति । त्यसको कुनै लेखो छैन ।

कसरी बस्छ बालबालिकाहरूमा मोबाइलको लत ?

मनोविद् गोपाल ढकाल भन्छन्– ‘विशेष गरी दुईटा कारणले भुराभारीहरू मोबाइलप्रति एडिक्ट हुन्छन्, एक परिवार, अर्को विद्यालय ।’ उनका अनुसार अहिलेको परिवार र विद्यालयले दिने शिक्षा गलत छ । घरपरिवारमा हाम्रा बालबालिकाहरूले खान मानेनन् या केही कारणले रोए भने सुरुमा उसलाई फकाउन मोबाइल दिइन्छ जुन एकदम गलत परम्परा हो ।

त्यसैगरी हिजोआज विद्यालयहरूमा पढाउन प्रयोग गरिने प्रविधिले पनि बालबालिकाहरूलाई मोबाइल एडिक्ट बन्न प्रेरित गरेको छ । हिजोआज प्रोजेक्टर र अन्य विभिन्न प्राविधिक उपकरणहरूको सहायता लिएर पढाइन्छ, यस्तो देख्दा अभिभावकहरू निकै गर्व र खुसी भएको देखिन्छ । तर यसबाट हुने नकारात्मक असरहरूको बारेमा उनीहरूले सोचेका हुँदैनन् । विशेष गरी नेपालजस्तो विकासोन्मुख देशमा यस्तो समस्या देखिन्छ ।

आफ्ना बालबालिकाहरू लामो समयसम्म कम्प्युटर र मोबाइलमा बसेको देख्दा उनीहरू ट्यालेन्टेड भए, धेरै कुराको बारेमा बुझ्ने भए भनेर घमण्ड गर्ने अभिभावकहरूको कमी छैन । यसले पनि बालबालिकाहरूमा मोबाइलको लत बसिरहेको छ । यो कुरा यति घातक छ कि बेलैमा नियन्त्रण नगर्ने हो भने यो एउटा परिवार र समाजका लागि मात्र नभई सिङ्गो राष्ट्रका निम्ति घातक हुनसक्छ ।

नियन्त्रण कसरी गर्ने ?

प्रविधिको लत बस्ने कुरालाई पूरै नियन्त्रनमा लिन सकिन्न र लिनु पनि हुन्न । अहिलेको युगमा बालबालिकाहरू प्रविधिसँग घुलमिल हुन एकदम जरुरी छ । तर त्यसोे भन्दैमा तिनीहरूले जतिखेरै टिभी, मोबाइल र भिडियो गेममै आफ्नो समय बिताउनुपर्छ भन्ने छैन । एक अनुसन्धानअनुसार जसका बुबाआमाले धेरै मोबाइल चलाउँछन् उनीहरूका बालबालबालिकाले पनि त्यही अनुपातमा मोबाइलको प्रयोग गर्छन् ।

पहिले पहिले जहाँसुकैका चौर र मैदानभरि बालबालिकाहरू खेलेको, उफ्रेको र कुदेको देख्न पाइन्थ्यो । तर हिजोआज त्यस्ता दृश्यहरू एकादेशको कथा भइसकेका छन् । एक त त्यस्ता मैदान तथा चौरको अभाव, अर्को आधुनिक ग्याजेट तथा प्रविधिमा रमाउने बानी । अनि अहिलेका बालबालिकाहरू पनि एकलकाँटे, साथीसंगीविहीन तथा उग्र व्यवहार देखाउने हुन थालेका छन् ।

अहिलेका बालबालिकाहरूले मोबाइललाई एउटा प्रविधिक उपकरणको रूपमा नलिई मनोरन्जनको साधनका रूपमा लिन थालेका छन् । यस कुरालाई नियन्त्रणमा लिन परिवार र विद्यालयको ठूलो हात हुन्छ । परिवार तथा विद्यालयहरूले बालबालिकाहरूलाई खाली समयमा सिर्जनात्मक काम गराउन लाउनु पर्छ । कथा, कविता लेख्न र चित्रहरू कोर्ने, रंग भर्नेजस्ता काममा भुलाउन सक्नुपर्छ, यति नभए उनीहरूसँग अन्य विभिन्न कुराकानी गरेर समय बिताउन सक्नुपर्छ । त्यसैगरी बालबालबालिकाहरूलाई घुम्न लैजानु पनि एकदम जरुरी छ, यसो गर्दा उनीहरूलाई मोबाइल चलाउनतिर ध्यान जाँदैन र उनीहरूले समाजको बारेमा पनि धेरै कुराहरू बुझ्ने मौका पाउँछन् । प्रोजेक्टर र कम्प्युटरको माध्यमबाट पढाउँदा बालबालिकाहरूले सबै कुरा बुझछन् भन्ने विचार सही होइन । तसर्थ बालबालिकालाई एउटा निश्चित समय तोकेर अर्थात् तालिका बनाएर प्राविधिक उपकरणहरू चलाउन दिनुपर्छ । यसो गर्न सकियो भने धेरै कम संख्यामा मात्र बालबालिकाहरू मोबाइल एडिक्ट हुन्छन् ।

के हुन्छ मोबाइलको लत लागेपछि ?

मोबाइलको लतका कारणले धेरै डरलाग्दा परिणामहरू भोग्नुपर्ने हुनसक्छ । यसका कैयौं नकारात्मक असरहरू हुन्छन् । मनोविद् ढकालका अनुसार यसले सीधा रूपमा बालबालिकाहरूको मानसिक एवं शारीरिक विकासमा असर गर्छ । जतिखेरै मोबाइलमा झुन्डिने र शारीरिक व्यायाम नगर्ने अर्थात् कुनै पनि खालको खेलकुदमा सक्रिय नहुने बालबालिकाहरूको शारीरिक वृद्धिमा गहिरो असर पर्नसक्छ । धेरै मोबाइल चलाउँदा एकहोरो हुने सम्भावाना धेरै हुन्छ, यसो हुँदा बालबालिकाहरूमा एक्लै बस्ने, कसैसँग नबोल्नेजस्ता बानी बस्छन् । यसका कारणले बालबालिकाहरूको भाषा विकास हुँदैन । उनीहरू डिप्रेशनको सिकार हुनसक्छन् ।

जुनसुकै कुरा पनि सही मात्रामा प्रयोग गर्नु राम्रो हुन्छ । भनाइ नै छ नि, ‘मात्रा धेरै भयो भने औषधि पनि विष हुन्छ ।’ यो कुरा मोबाइल, आइपड तथा अन्य ग्याजेट प्रयोगका सम्बन्धमा पनि लागू हुन्छ । यस्ता उपकरणहरू मानिसकै जीवन सहज बनाउनका लागि निर्माण भएका हुन् त्यसकारण यिनको सदुपयोग गर्नु र भविष्यका कणाधार बालबालिकालाई पनि त्यसैअनुसार मार्गदर्शन गर्नु अहिलेको आवश्यकता हो ।

Logo