विकास बोर्डका अध्यक्ष भट्टराईलाई राजकुमार राईको खुला सल्लाह

विकास बोर्डका अध्यक्ष भट्टराईलाई राजकुमार राईको खुला सल्लाह


श्री केशव भट्टराई
अध्यक्ष, चलचित्र विकास बोर्ड, चावहिल काठमाडौँ ।

चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएको १ सय २० दिनपछि म यहाँलाई सम्झँदै छु । भनिन्छ, ‘नमागी सल्लाह नदिनू ।’ तर, म त्यो भनाइ एकछिनका लागि बिर्सदै तपाईंलाई सल्लाह पठाउँदै छु, खुल्ला रूपमा । मनन गर्नुभयो भने तपाईं र चलचित्र क्षेत्र दुवैका लागि फाइदाजनक हुनेछ । म विकास बोर्डको अध्यक्ष भइसकेको हुनाले मात्र होइन, चलचित्र निर्माता संघको अध्यक्षको रूपमा नेतृत्व गरिरहँदा तपाईंले मलाई मातहतमा बसेर साथ दिनुभएको विगत सम्झेर पनि सल्लाह लेख्दै छु ।

आशलाग्दो जागिर छोडेर आएको, चलचित्रमा दुई दशकभन्दा लामो निरन्तरता, पढेलेखेको, तुलनात्मक रूपमा इमान्दार आदि कारणले तपाईंको कार्यकाल सफल हुनुपर्छ भन्ने मेरो भित्री सदाशयता हो । तर, चार महिना वितिसक्दा पनि शुभ लक्षण नदेखेको हुनाले सल्लाहको रूपमा ‘रामराम’ भन्न चाहन्छु । याद राख्नुहोला, तपाईंलाई काँध थाप्ने नाममा वरिपरि जम्मा भएको भीडले रनभुल्ल बनाएको छ । ती धेरैजसो मतलबी, गफाडी, अपराधी एवं तपाईंलाई भड्खालोमा हालेर ताली पिट्ने सोचका छन् ।

मैले दुई वर्ष जसरी विकास बोर्डको नेतृत्व गरेँ, त्यसको तुलनामा तपाईं धेरै सजिलो ठाउँमा हुनुहुन्छ । मलाई नियुक्त गर्ने विभागीय मन्त्री ६ महिनामा खुस्केपछि मैले विचार नमिल्ने दुईजना फरक मन्त्रीसँग १८ महिना बोर्ड चलाउनु प¥यो, जसलाई चलचित्रसम्बन्धी कुनै ज्ञान थिएन । (यति हुँदा पनि म केही परिणाम दिन सफल रहेँ ।) तर, तपाईंको विभागीय मन्त्रीको दुईवटा भाषण सुनेपछि तपाईं अनुकूल अवस्थामा हुनुहुन्छ भन्ने बुझेको छु । मन्त्री काम गर्न हतारिएका छन् । परिणाम दिन लालायित छन् । तपाईंलाई उनको ‘फुल सपोर्ट’ छ । तर तपाईं ‘स्टार्ट’ नै हुन सक्नुभएन भन्ने मेरो देखाइ हो । यसलाई मैले बिडम्बना मानेको छु ।

चलचित्र नीति बनाउने सन्दर्भमा मात्र होइन मैले पूर्व अध्यक्षहरूलाई पटक–पटक सम्झेको छु । भेट्न सम्भव नहुनेहरूसँग फोनवाट सल्लाह लिएको छु । कार्यकालभरी चलचित्र संघसँग भिड्दै बसेँ । तर, पनि मैले त्यही संघका नेतृत्वकर्ताहरूसँग धेरैपटक सल्लाह लिएको छु । तपाईंलाई समेत मैले राष्ट्रिय पुरस्कारको जुरी बनाएर होस् वा चलचित्र नीति बनाउने मस्यौदा समितिमा सदस्य बनाएर होस् धेरै सहकार्य गरेको छु । तर, आजको वातावरण त्यस्तो छैन भन्ने साथीभाइहरूको अनुभव छ । अस्ति तपाईंको नेतृत्वले आयोजना गरेको ‘राष्ट्रिय पुरस्कार कार्यक्रम’मा गएका तीन सय जति मानिसमा मैले दुई दशकसम्म कहिल्यै नदेखेका अनुहारको बाहुल्य थियो । मलाई थाहा छैन, तर साथीहरू भन्छन् –‘चलचित्र विकास बोर्डमा विचार नमिल्नेहरूका लागि ढोका बन्द छ ।’ मेरो विनम्र अनुरोध छ, निषेधको राजनीतिले न चलचित्र क्षेत्र, न त तपाईलाई नै फाइदा गर्छ ।

राष्ट्रिय पुरस्कार कार्यक्रममा म आउन सकिन । त्यो कार्यक्रमको ‘सेड्यूल’ थाहा पाएपछि मैले बुझेको थिएँ, यो भद्रगोल हुँदै छ । नभन्दै त्यही भयो । राष्ट्रपतिले दिने अवार्ड कार्यक्रमलाई नौटंकी बनाएर प्रस्तुत गर्न खोजेपछि भद्रगोल हुन्छ नै । यसमा पनि तपाईं विज्ञ र अनुभवीका सल्लाह लिनुपर्ने ठाउँमा भजनमण्डलीका कुरा सुनेर चिप्लनुभएको हो । आउँदा दिनमा यसबाट शिक्षा ग्रहण गर्नुहोला ।

मूल कुरा तपाईंले चलचित्र नीतिको गहिरो अध्ययन गर्न जरुरी छ । चलचित्र नीति मस्यौदा समितिको सदस्य भए पनि यसको महत्व बुझेको देख्दिन । त्यसमा केन्द्रित हुन अनुरोध गर्छु । मन्त्रीले विदेशी फिल्मलाई ‘कोटा’ प्रणालीमा लाने जुन कुरा गर्नुभएको छ, त्योभन्दा सकारात्मक पक्ष अर्को हुँदैन । तर, यसको कार्यान्वयनको तहमा जाने साहस तपाईंले नै जुटाउनु पर्छ । के यसको गृहकार्य सुरु गर्नुभयो ? विगतमा जस्तो लुरे स्वभाव प्रदर्शन नगर्नुहोला । ‘कोटा’ प्रणाली ल्याउनुभयो भने तपाईं अमर हुनुहुनेछ ।

बक्सअफिसको लगभग सबै काम मेरै कार्यकालमा सकिएको हो । तर, कार्यान्वयन चरण फितलो छ । एउटै सर्भरवाट डाटा हेर्न मिल्ने बनाउन नसकुञ्जेलसम्म यसलाई फितलो मान्नुपर्ने हुन्छ । यस सवालमा तपाईंले ध्यान केन्द्रित गर्नुपर्छ । पुराना फिल्मलाई आधुनिक प्रविधिमा ढालेर राख्ने ‘रेष्टुरेसन’ प्रक्रिया पनि मेरो कार्यकालमा सुरु भएको हो । यसलाई पनि गति दिनु होला । तपाईंले राम्रा कामलाई निरन्तरता दिन सक्नुभएन भने बोर्डको काम शून्यमा जान्छ । अनि अर्को कुरा, अरूले गरेका कामको ‘जस’ लिएर सफल भएको ‘डिङ’ नहाँक्नुहोला ।

अध्यक्षज्यू, आजका मितिमा चलचित्र क्षेत्रको अवस्था दयनीय छ । निर्माणमा ह्वात्तै कमी आएको छ । प्रदर्शनमा आएका फिल्म पनि दर्शकविहीन बन्न थालेका छन् । यसको कारण खोज्ने जिम्मा पनि बोर्डकै हो ।

र, चलचित्र चलाउने माहोल बनाउने काम पनि तपाईंकै नेतृत्वको हो । फिल्म बनेनन् र बनेका पनि चलेनन् भने फिल्म सिटी वा स्टुडियोको काम हुने छैन । त्यसकारण रोग पत्ता लगाउने, सही उपचार गर्ने र स्वस्थ भएपछि मात्र विरामीलाई घर लाने हो । यही सिद्धान्तअनुसार सक्रिय हुनुहोला । सहयोग र खुसी पार्ने नाममा झोलेहरूलाई विना मापदण्ड आँखा चिम्लिएर रकम वितरण नगर्नुहोला । चलचित्रकर्मी र समयले एक दिन तपाईंका हरेक कदमको हिसाब माग्नेछन् भन्ने कुरा सदैव हेक्का राख्नुहोला ।

राजकुमार राई
पूर्वअध्यक्ष, चलचित्र विकास बोर्ड, तथा चलचित्र निर्माता

Logo