माफ पाउँ हजुर !

माफ पाउँ हजुर !


  • डा. चित्र माबो लिम्बू 

सडक छाप भन्नुहोस । टिके भन्नुहोस । चौतारीको हुल्दुङ्गा भन्नुहोस् । तर हामी सत्य र न्यायको पक्षमा छौं । व्यवस्था जगेर्नामा छौं । समाजवादको मार्गमा छौं । त्यसैले माफ गर्नुहोस हजुर! हामी तपाईँहरुको विरुद्धमा छैनौं । बरु बुझ्ने हो भने गलत प्रवृत्तिको विरुद्धमा छौं। नयाँ तानाशाहको विरुद्धमा छौं ।

माफ गर्नुहोस ! तपाईँहरु कुन जबजको कुरो गर्दै हुनुहुन्छ । हामीले बुझेको जनताको बहुदलिय जनवादमा त विधिको शासन हुन्छ। नागरिकको सर्वाेच्चता हुन्छ। बहुमतको कदर हुन्छ । अल्पमतको सम्मान हुन्छ । समानता हुन्छ। शक्ति पृथकिकरण सिध्दान्तको मान्यताको पालना हुन्छ । मैले अझै राम्ररी बुझेको कुरो त दुई तिहाइ मत प्राप्त गरेर कम्युनिस्ट अनुकूल संविधान संशोधन गरेर समाजवाद स्थापित गर्नु हो । हामीले जबजलाई टेकेर जनताबाट जनमत पनि पाएका छौं । त्यो पनि दुई तिहाइ नजिकमा छौं । यसर्थमा हाम्रो जबज जनतामा अनुमोदन हुँदैछ । यसबेला जनतालाई कतिको जबजले विश्वास दिन सक्छ भन्ने पक्षको परिक्षण पनि हुँदैछ । तर आजको कम्युनिस्ट नेतृत्व त हुँदाहुँदैको दुई तिहाइ जनमत जलाएर छोटेराजा बन्न खोजिरहेको छ । जनतामा जबजको भ्रम फैलाएर जनमतको घोर अपमान हुँदैछ । जनमतको मातले सृजना भएको दम्भले जबजको अपमान भइरहेको छ । जबजको विश्वसनीयतामा ह्रास ल्याउने काम भइरहेको छ । तानासाहको जन्म भइरहेको छ । त्यसैले तपाईँहरुले जबज रट्ने तरिका नपुर्याएको हो कि, ज्ञानको अभाव हो ? यात जबज भारी भएको हो ? अनि जबजमा भ्रमित भएर पनि किन अरुलाई सिकाउन खोजिरहेका छौ ? के त्यो सब दम्भ नै हो त ? यात बुझाई नै त्यति ।

हामी कागले कान लग्यो भन्दा काग पछ्याउने होइनौं । कान छाम्ने पनि होइनौं । हामी त कागले कान लान नै सक्दैन भनेर बुझेका सचेत वर्ग हौं । हामी आशावादी स्याल पनि होइनौं । हामी त देशको लागि खाली पेट संघर्ष गर्न सक्ने भक्त हौं । हामी हिजो पनि देशको लागि मैदानमा थियौँ आज पनि देशको लागि छौं । हिजो गणतन्त्र जिन्दावाद भन्दा बयलगाडा चढाउने महाराजलाई गणतन्त्रको त्यत्रो माया छैन भन्ने विश्वासमा छौं । हिजो राजतन्त्र मुर्दावाद ! भन्दा कुर्सिको लागि तमासा भन्दै सडकको छेउमा गीत गाएर हिड्नेहरु आज पनि त्यही कुरो दोहोर्याउँदै हाम्रो राष्ट्र भक्ती आन्दोलनको खिसिटिउरी गरिरहेका छन् । तर हामी कति निश्वार्थ छौं ? किनकी हामीले रगत र पसिनाले बचाएको व्यवस्थामा ती खिसिटिउरी गर्ने महोदयलाई हामी पछि कुरिकुरिसम्म भन्ने छैनौं । भरु आउ हामी हातेमालो गरेर देशलाई फूलाउँ फलाउँ भन्ने पक्षमा छौं ।

अमेरिकी साम्राज्यवादले जन्माएको एउटा तानाशाहलाई सेतो दरबारबाट लगारेर एउटा भित्तोमा पुर्याउँदा सिंहदरबारको स्याललाई किन धुलो नचटाउने ? त्यसैले हाम्रो आन्दोलन स्याललाई स्याल दरवारमा पुर्याएर सिंहदरबारमा शक्तिशाली सिंह भित्र्याउने आन्दोलन हो। त्यसको लागि शिकारीहरुले चारतिरबाट घेराउ गर्न किन नपरोस् तर राष्ट्रिय सहमति गरेर भए पनि बिमाखकारी स्यालको अन्त्य गर्ने र शान्ति स्थापना गर्ने हाम्रो आन्दोलनको मुख्य उद्देश्य रहने छ । भोलि हाम्रो आन्दोलनमा हिजोको प्रतिपक्षी दलदेखि स-साना सम्पूर्ण दलले आफ्नो अस्तित्व जोगाउन सहमति गरेर हातेमालो गर्न आइपुग्ने छन् । त्यसमा हामी विश्वस्त छौं। त्यसबेला एकीकृत आन्दोलनको मोर्चा बन्ला । त्यसले प्रतिनिधिसभा व्युँताउला । आवश्यकताले राष्ट्रिय सरकारको माग होला । त्यसपछि राष्ट्रिय सरकार बन्ला । अनि हाम्रो विजय होला । त्यसबेला अहिले सेटिङको बहानामा सामन्तवादको हुइयाँ फैलाउने स्यालहरुको के हालत होला ? त्यो अपमानित पराजयले तपाइँको हालत कस्तो बन्ला ? हिजो संविधानले अधिकार दिएको राजसंस्थाले त जनताको शक्ति सामु घुँडा टेक्नु पर्यो भने संविधानको कुनै धारा उपधाराले नदिएको अधिकार प्रयोग गरेर यात्रा गर्दा बयलगाडा कहाँसम्म पुग्ला र ? त्यसैले बयलगाडाको यात्रा निश्चित छ । त्यो धेरै टाढा पुग्ने छैन ।

हामी सच्चा देशभक्त हौँ । देश र व्यवस्था बचाउन लडिरहेका छौं । त्यसैले हामी पुष्पकमल कता ? माधव कता ? खडगप्रसाद कता ? भनी खोजी गर्ने पक्षमा छैनौँ। दलको आधिकारिकता र चुनाव चिन्ह हेर्ने तिर पनि छैनौँ। हामी त कानूनी राज्यका नागरिक हौँ। हामी माथि कानुन छ । संविधान छ । त्यसैले हामी कुन ठिक र कुन बेठिक भन्नेमा छौँ । न्यायको पक्षमा र अन्यायको विरुद्धमा छौँ । सर्वसत्तावाद र तानासाहको विरुद्धमा छौं । त्यसैले हामी गलत प्रवृत्तिको वकालत गर्छौँ। सत्यको पक्षपोषण गर्छौं। यसो हुँदा घमण्डी , अहंकारी र मप्पाइवादी प्रवृत्तिको सेरोफेरोमा हुर्किएका र आफ्नो आङमा हात्ती दौडिएको देख्न नसक्ने तर अर्काको आङको भने लिखो देख्ने हजुराइको भरमा राजनीति गरेका भुइँ फुटुवा राजनीतिबाट उदाएका केही पुत्रहरुलाई पारो चढ्ला त्यसको लागि माफी पाउँ । म यो पनि भन्न चाहान्छु -हामी ब्यक्तिको पछि छैनौ र ब्यक्तिको विरुद्धमा पनि छैनौं। हामी व्यवस्था जगेर्नाको पक्षमा छौं । सत्यको खोजीमा छौं । त्यसैले हामी यहाँ पनि झन्डै जित्यौ, त्यहाँ पनि झन्डै जित्यौ भन्नेमा होइन , पटक – पटक संघर्षको मैदानमा मर्दै बाँचेर अन्तिम सत्यको जीत गराएर न्याय स्थापित गर्ने कुरुक्षेत्रमा छौं। तसर्थ हामीलाई कसले के भन्दैछ ? भन्नेको हेक्का छैन । हामीलाई त देशको चिन्ता छ। हामीले लडेर ल्याएको व्यवस्थाको चिन्ता छ। कसरी अन्तिम सत्यको जीत गराउने भन्ने सवालको चिन्ता छ। त्यसैले माफ गर्नुहोस ! हामी कसैको विरुद्धमा छैनौं। कसैको पक्षमा छैनौं । त्यसैले हामी सबै एक हौं । सार्वभौम सत्ता, गणतन्त्र र संविधान जोगाउने अभियानमा लागौं । नेता, नेतृत्व, चुनाव र दलको सम्बन्धमा आउने दिनमा छलफल गर्दै जाउँ । मेरो होइन हाम्रो जीतको सम्बन्धमा सोचौं ।

माफ गर्नुहोला हाम्रो अभियानले तपाईँको विरुद्धमा बोल्दैन । हाम्रो अभियानले तपाईं हाम्रो संरक्षणको सवालमा बोल्छ । त्यसैले फेरि पनि भनौं देशको लागि सम्पूर्ण स्वार्थ त्यागेर एक पल्ट हातेमालो गरौं । प्रतिगमनबाट देश जोगाउँ । त्यसले हाम्रो सन्ततिको रक्षा गर्नेछ । तपाईं हाम्रो भविष्यको सुरक्षा गर्नेछ । यदि हाम्रो अभियानले तपाइँलाई अपमानित भएको महसुस हुन्छ भने , माफ पाउ! यो भन्दा अझ दुर्गती नजिक आउँदैछ ।

Logo