संस्मरण : काठमाडौंको यात्रा साथै पशुपतिको प्रसाद

संस्मरण : काठमाडौंको यात्रा साथै पशुपतिको प्रसाद


  • दुष्यन्त भट्टराई

२०४१ साल मंसिर अन्तिम हफ्ता जस्तो लाग्छ,

भर्खर कक्षा सातको वार्षिक परीक्षा सकिएको थियो । परीक्षा सकिएपछि केही दिन स्कुल बन्द हुने गर्दथ्यो सरहरूलाई उत्तर पुस्तिका परिक्षण गर्ने समय दिनको लागि । त्यसपछि वार्षिक खेलकुद कार्यक्रम आयोजना हुन्थ्यो र वार्षिक उत्सव समापनको दिन रिजल्ट पनि सुनाइन्थ्यो ।

स्कुल बन्दको समयमा प्राय: घरैमा बसिन्थ्यो । मंसिर महिना भएकोले धान काट्ने धमाधम नै हुन्थ्यो सबैका घर घरमा । अहिले जस्तो होलिडे भन्दै घुम्न जाने चलन थिएन ।

स्कुल बन्दको समयमा प्राय: घरैमा बसिन्थ्यो । मंसिर महिना भएकोले धान काट्ने धमाधम नै हुन्थ्यो सबैका घर घरमा । अहिले जस्तो होलिडे भन्दै घुम्न जाने चलन थिएन । त्यतिबेला नेपालमा र नेपालीहरूमा होलिडेको सोचाई नै थिएन । कतै जाने भनेकै कि त तीर्थयात्रा कि त कोही टाढाको आफन्तकोमा हुने शुभ (विवाह, व्रतबन्ध) र अशुभ (मरिमराउ) कार्यहरूमा मात्र । त्यसैले म पनि घरैमा थिएँ त्यो बेला । धान काट्ने, पाँजा उठाएर खमारमा ल्याउने, बेला बेला गोठालो जाने, फुर्सदको समयमा मोजाको गोल खेल्ने, यस्तै यस्तै गरेर दिन बित्दथे ।

मेरो माहिँली सानिमाको माहिँलो छोरा नेत्र घिमिरे दाजु त्यतिबेला काठमाडौ बसेर जागीर खाँदै पढ्दै हुनुहुन्थ्यो । वहाँको भर्खर भर्खर बिहे भएको तर भाउजु घरमै हुनुभएकोले बेला बेला आइरहनु हुन्थ्यो । त्यसरी नै आउँदा ठूली आमा ठूलो बुबालाई भेट्न आइरहनु हुन्थ्यो । यसपाला पनि वहाँ घर आउनु भएको थियो र बुबासँग बरन्डामा बसेर कुरा गर्दै हुनुहुन्थ्यो । म छेउमा बसेर सुनिरहेको थिएँ । कुरैकुराको क्रममा

बुबा : कहिले फर्किन्छस् त माहिँला राजधानी ?
दाजु : भोलि जान्छु बुबा ।
बुबा : गुगुनाउँदै “ ए नानी पूर्वतिर सोम …… उत्तर नगर्नू बुध मंगल…., भोलि मंगलबार , हुने रहेछ पश्चिम जान “

आमा भान्सामा केही गर्दै हुनुहुन्थ्यो , म दौडेर भान्सामा गएँ र आमालाई “ आमा, म पनि काठमाडौ जान्छु नि !!” भनेँ ।
आमा : के भन्छ ? को सँग जान्छस्?
म : माल्दाईसँग जान्छु
आमा : पर्दैन
म : नाईँ जान्छु नि
आमा : स्कुल लाग्ने बेला भएको छ
म : आइहाल्छु नि स्कुल लागुञ्जेलमा
आमा : एक्लै कसरी आउँछस् ? पर्दैन जान !!

घुर्की लगाउन आमालाई मात्र सकिन्थ्यो, बुबालाई त मनको कुरा भन्न पनि डर लाग्थ्यो भलै बुबाले आजसम्म कहिल्यै गाली गर्नु भएको थिएन । म अँध्यारो अनुहार लगाएर भान्साबाट बाहिरिएँ र पुन: बुबा र माल्दाई गफ गरेको ठाउँमा गएर कुरा सुन्न थालेँ । मेरो अँध्यारो अनुहार देखेर बुबाले “ के भयो तँलाई ?” भनेर सोध्नु भयो । म बोलिन वा भनूँ भएको कुरा भन्ने आँट आएन । बुबाको कुरा सुनेर भान्साबाटै आमाले “ काठमाडौ जान्छ रे माहिँलासँग, मैले नजा भनेको अनि कालो मुख बनायो नि “ भन्नुभयो । त्यो कुरा सुनेपछि माल्दाईले पनि “ जाओस् न त बुबा, २/४ दिन घुम्छ, अनि म बस चढाई दिन्छु , आइहाल्छ भाइ “ भन्नुभयो । बुबाले मलाई आफूतिर तानेर “ त्यत्रो आँट कथा लेख्ने छोरोले बोल्नचाहिँ आँटै गर्दैन, जा जा !! दुईचार दिन घुमाएर पठाइदिनु है माहिँला “ भन्नुभयो । मैले त बिर्सेको कुरा पनि सम्झाइदिनु भयो बुबाले आँट कथाको बारेमा ।

त्यो बेला रेडियो नेपालबाट हरेक दिन बेलुका ५:३० बजे बाल कार्यक्रम आउँथ्यो । बासुदेव मुनाल र नुपुर भट्टाचार्य चलाउनु हुन्थ्यो कार्यक्रम प्राय: गरेर । बाल सहभागिताका विभिन्न स्तम्भहरू थिए । उपत्यकाका विद्यार्थीहरू त स्वयम् स्टुडियो गएर बोलेको सुनिन्थ्यो तर बाहिरी जिल्लाका विद्यार्थीहरूलाई स्टुडियो जान सम्भव थिएन, त्यसैले त्यस्ता विद्यार्थीहरूलाई पनि सहभागि गराउने उद्देश्यले रचना पठाउन मिल्ने “को भन्दा को कम “ कार्यक्रम आउने गर्दथ्यो हरेक बुधबार । म पनि कविता, कथाहरू पठाउँथेँ । पठाएका मध्ये पुरस्कृत रचनाहरू बासुदेव मुनाल दाइले पढेर सुनाउनु हुन्थ्यो ।

रेडियो प्राय: बरन्डामा झुन्डिएको हुन्थ्यो । दिनमा तीन चरणमा बज्दथ्यो रेडियो । बिहान ६ देखि ११, दिउँसो १ देखि ४ र बेलुका ५:३० देखि ११ । विहानको शंख ध्वनीसँगै रेडियो बरन्डामा झुन्डिएर बज्दथ्यो आफ्नै सुरमा । यस्तैमा एक दिन सधैँ झैँ स्कुलबाट आएर खाजा खाएर म भैँसी चराउन गएको थिएँ । ५:३० मा “ दुई एकान दुई दुई दुना चार पढपढ भाइबैनी हो भै होसियार “ भन्ने गीतबाट कार्यक्रम शुरु भएछ । बुबा त्यहीँ हुनुहुँदो रहेछ । कार्यक्रममा को भन्दा को कमको नतीजा भन्दै प्रथम भएको कथा आँट र लेखक बलभद्र जनता माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने भाइ दुष्यन्त भट्टराई भनेर मेरो नाम आएपछि बुबाले बरन्डाबाटै कराएर खेतमा भैँसी चराइरहेको मलाई बोलाउनु भएको थियो । म भैँसीलाई एउटा सिमालीको बुटामा बाँधेर दौडेर घर आएँ । कथा आधा पढिसकिएको रहेछ । बासुदेव मुनाल दाइले कथा पढिसकेपछि उपहार स्कुलको ठेगानामा पठाउने छौँ भन्नुभयो । म खुसी भएँ म भन्दा बढी खुसी बुबा हुनुहुन्थ्यो । तर रेडियो नेपालले पठाएका उपहार मैले कहिल्यै पाइनँ , नेपाली हुलाकलाई बेला बेला धन्यवाद दिइरहन्छु अहिले पनि ।

बुबाबाट अनुमति पाइसकेपछि मेरा खुट्टाले भुईँ छाडे । म खुसीले के गरूँ के गरूँ भयो । आमा खुसी हुनुहुन्नथ्यो बुबाको अनुमति सुनेर । दिदी पनि केही बोलिन, आमै पनि चुपै बस्नुभयो । बुबाको आदेशको अगाडि कसैको केही नलाग्ने भयो । पितृसतात्मक परिवार हो नि त । बेलुकाको खाना माल्दाईले पनि हाम्रैमा खाएर जानु भयो । भोलि १२ बजेतिर हिँड्नु पर्छ, तयारी भएर बस्नु भन्दै माल्दाई जानु भयो । आमाले मलाई जाडोमा चाहिने कपडाहरू, गन्जी, कट्टु, मोजा सबै झोलामा हालीदिनु भयो । जुत्ता भर्खरै दसैँमा किनिदिनुभएको थियो त्यही जुत्ता लगाएर जाने भएँ । राति सुत्न त सुतेँ तर निंद्रा लागेन । कतिबेला निँदाएँ ब्यूँझदा उज्यालो भैसकेको थियो ।

इनारबाट पानी उघाएर सिलबरे लोटामा बोकेर पूर्व पट्टीको बाँसघारी भित्र रहेको हगनगौँडी गएँ । अहिले जस्तो घरभित्र बाथरूम ट्वाइलेट थिएन । बाँसघारीमा खाल्डो खनेर वरिपरी बाँसकै भाटाले बारेर हलुका सिमेन्ट दलेको थियो घरको सेन्टरबेरामा लगाउँदा बढी भएको सिमेन्ट । आमै हगनगौँडी भन्नुहुन्थ्यो मैले पनि त्यही सिकेँ । बुबा आमाले त्यसैलाई पाईखाना भन्न थालेपछि म पनि पाईखाना भन्न थालेँ । आँगनमा इनार र इनारको छेउमा काठले बारेको नुहाउने घर बनाएको थियो । आमा र दिदी मात्र त्यहाँ नुहाउनु हुन्थ्यो प्राय: । म त बाल्टीमा पानी झिकेर बाहिरै नुहाउँथेँ । हाम्रो घरमै ट्वाइलेट त २०५४ सालमा मेरो बिहे गर्ने बेलामा मात्र बन्यो पक्का बाथरूम सहितको । दाँत माझ्ने ब्रस पनि बिहान दाँत माँझेर नुहाउने घरको छानामा नसिउरिकन झोलामा लगेर राखेँ । एक वर्ष जति भएको थियो बुबाले ल्याईदिएको डोल्मा घड़ी हातमा बाँधेको । रेडियो नेपालले सात बजेको समाचार अगाडि “ नेपालमा बनेको, बलियो, भरपर्दो डोल्मा घड़ी “ भनेर विज्ञापन गर्थ्यो । कस्तो खुसी लाग्थ्यो । बुबाका हातको सिटिजन घडीको विज्ञापन कहिल्यै सुनिन । म मख्ख देखेर बुबा पनि “ अँ अँ तेरै घडी राम्रो “ भन्नुहुन्थ्यो , म झन् फुरुक्क ।

कति बेला १२ बज्छ भनेर घडी हेरेको हेर्यै गर्न थालेँ । आज त घडी नै सुते जस्तो लाग्यो काँटा नै सर्दैन । त्यो सेकेन्ड काँटा जस्तै दौडिनु नि मिनेट काँटा जस्तो लाग्यो । बल्ल बल्ल ९ बज्यो, आमाले भात खान बोलाउनु भयो । नचपाईकन भात खाएँ कतै ढिलो हुन्छ कि जस्तो गरे । आमाले “ कस्तो नचपाई खाएको , के भरे भैँसीजस्तो उघ्राउँछस् ? “ भन्दै हुनुहुन्थ्यो । म नबोली खाएर उठेँ, बोल्नलाई त मुख ख़ाली हुनु परो नि । मेरो त मुखभरी बुजो भात थियो ।

घुर्की लगाउन आमालाई मात्र सकिन्थ्यो, बुबालाई त मनको कुरा भन्न पनि डर लाग्थ्यो भलै बुबाले आजसम्म कहिल्यै गाली गर्नु भएको थिएन ।

मेरो आँखा त आँगनतिर माल्दाईलाई खोज्दै, डोल्मा घड़ी हेर्दै थिए । बल्ल बल्ल १२ बज्यो । म झोला लिएर बाहिर निस्किएँ , माल्दाई अझै आउनु भएन । १२:३० भयो, अँह आउनु भएन । अब घड़ी किन छिटो घुमेको होला जस्तो भयो । मिनेट काँटा जसरी बिस्तारै हिँड्न नसक्ने सेकेन्ड काँटालाई गाली गर्न मन लाग्यो । दम दिने ठाउँको सुइरो तानेर उल्टो घुमाईदिऊँ जस्तो लाग्यो । मेरो छटपट देखेर आमाले “ जा न सानिमाकै घर जा “ भन्नुभयो । हेर मेरा बुद्धि, दुई सय मिटर पर त थियो सानिमाको घर । उतै नगएर किन पानी नपाएको माछो जस्तो छट्पटाएको होला !! म दौडेर एकै मिनेटमा सानिमाको घर पुगेँ । माल्दाई हिँड्नलाई साइतको टिका लगाउँदै हुनुहुँदो रहेछ सानिमाबाट । मलाई पनि लगाईदिनु भयो टिका । त्यसपछि हाम्रोमा आयौ । आमै र आमाले फेरि टिका लगाईदिनु भयो र हामी हिँड्यौँ ।

चारआली पुग्न पैदल ३० मिनेट जति लाग्यो । टिकट काटेको थिएन , त्यसैले लोकल बस चढेर काँकडभिट्टा नै गयौँ । माल्दाईले चिनेका एक जना शिव बराल दाई हुनुहुँदो रहेछ टिकट काउन्टरमा । “टिकट त प्याक छ तर स्टाफ़ सिटमा बसेर जाऊ तिमी, भाइलाई बोनेटमा बसाइदिउँला “ भन्नुभयो वहाँले । ३ बजे तिर कन्काई यातायातको नाइट कोच स्टेसनमा आएर रोकियो । त्यहाँबाट चढ्ने यात्रीहरू चढे । हामी अझै काउन्टर भित्रै थियौँ । कसैले मलाई पछाडि ढाप मार्दै “कता जान लागेको भतिज ?” भन्यो । फर्केर यसो हेरेको त हरि अंकल हुनुहुँदो रहेछ । हरि अंकल मसँगै एउटै कक्षामा पढ्ने साथी नीर्मला बिस्टको बुबा हुनुहुन्थ्यो । घर त्यति नजिक त थिएन हाम्रो ६ नम्बर वडा वहाँहरूको ४ नम्बर हँडिया खोला पारि । तर साथीको बुबा भएकोले अंकल भन्ने गर्थेँ र वहाँले भतिज भन्नुहुन्थ्यो । “काठमाडौ जान लागेको अंकल “ भनेँ । “ कुन बसको टिकट ?” वहाँले सोध्नुभयो । “ टिकट छैन, तपाईँकै बसमा पठाईदिन लागेको “ शिव बरालले अंकललाई भन्नुभयो । हरि अंकल त्यही कन्काई नाइट बसको ड्राइवर हुनुहुँदो रहेछ । अब त झन् ढुक्क भयो । करिब ४ बजे काकडभिट्टाबाट बस हिँड्यो । माल्दाई पछाडि कता बस्नुभयो कुन्नी, म चाहिँ क्याबिनमा हरि अंकलले बस कुदाएको हेर्दै कुरा गर्दै बोनेटमाथि बसेँ ।

ईटहरीसम्म विभिन्न स्थानबाट टिकट काटेका मान्छेहरू चढाउँदै ७ बजे बस कोसी ब्यारेज आईपुग्यो । म वराहक्षेत्र गए पनि कोसी ब्यारेज पुगेको थिइनँ । अगाडिबाट सबै हेर्दै हेर्दै गएँ । अंकलले महत्वपूर्ण ठाउँहरू बताईदिनु भयो । करिब ९ बजे बस लाहान आईपुग्यो र खाना खानको लागि रोकियो । म शाकाहारी, होटलको नखानू भनेर आमाले घरबाटै के के खानेकुरा हालिदिनुभएको थियो । तर अंकलले म शाकाहारी खुवाउँछु भतिजलाई भनेर सँगै लानु भयो । यात्रुहरू होटलमा खान थाले । स्टाफहरूलाई भित्र बेग्लै कोठामा ताजा मिठो खुवाईँदो रहेछ । माल्दाई पनि हामीसँगै हुनुहुन्थ्यो । मैले शाकाहारी र बाँकीले मासुभात खानुभयो । हेटौँडा पुग्दा लगभग १ बजेको थियो । हेटौँडामा ड्राईवर फेरिने रहेछ । हरि अंकल त्यहीँ बस्नुभयो र त्यहाँबाट अर्को ड्राईवर आएपछि पुन: हिँडियो । बिहान सकुसल करिब ८ बजे बसपार्कमा (अहिलेको पुरानो बसपार्क ) पुग्यौँ र त्यहाँबाट माल्दाईको डेरा कुपन्डोल पुगेर झोला बिसायौँ ।

थापाथलीबाट बागमती पुल तरेर अलिकती अगाडि बढेपछि दाँयातिर एउटा हनुमानको मूर्ति रहेछ । त्यहाँबाट भित्र पस्ने सानो गल्लीबाट छिरेर करिब ५० मिटर भित्र एउटा पुरानो तीनतले घरको भुईँ तलाक़ो दुई कोठा भाडामा लिएर माल्दाई र वहाँका दुईजना साथीहरू बस्नुहुँदो रहेछ । एउटा कोठामा एउटा खाट, एउटा सानो टेवल, किताब राख्ने सानो -याक, अर्को कोठामा पनि एउटा खाट र भान्साको लागि चाहिने सामानहरू । हामी पुग्दा कोठामा वहाँसँगै बस्ने दुर्गा सापकोटा दाइ हुनुहुन्थ्यो । म पढ्दैगरेको स्कुलबाट फस्ट डिभिजनमा SLC पास गर्ने पहिलो विद्यार्थी भएकोले नाम सुनेको थिएँ तर भेटेको थिएन । वहाँ पुल्चोकमा इन्जीनियरिंग पढ्दै हुनुहुँदो रहेछ । हामी पुग्दा दुर्गा दाइले खाना पकाई सकेको रहेछ दुई जनालाई । अर्को साथी बिहानको क्याम्पस गएको हुनाले खाना खाएको थिएन । दुर्गा दाइ क्याम्पस जानु पर्ने भएकोले वहाँ खाएर जानुभयो । केही बेरमा अर्को साथी इन्द्र पाठक आइपुग्नु भयो । बुबा र इन्द्र सर एउटै स्कुल पढाउने भएकोले वहाँलाई चिन्थेँ म । अहिले बेतलवी बिदा लिएर पाटन क्याम्पसमा पढ्दै हुनुहुँदो रहेछ । दिउँसो काम पनि गर्नु हुँदो रहेछ । वहाँ पनि खाएर जानुभयो । बाँकी हामी दुईजना, मलाई भोक लागिसकेको थियो । राति होटलमै खाएकोले आमाले घरबाट हालिदिएको भुटेको चिउरा र चिनी म निकालेर खान थालेँ । माल्दाईले जुठा भाँडा मोलेर भात पकाउनु भयो र १२ बजेतिर दाजुभाइले भात खायौँ । त्यसपछि माल्दाई र म केहीबेर घुम्न निस्कियौँ । मलाई नहराओस् भाइ भनेर हनुमानको मूर्तिबाट यति भित्र पस्नु र यो घर हो है भनेर माल्दाईले तीनपल्ट हनुमान स्थानबाट घर ओहोरदोहोर गराउनु भयो । पहिलो पल्ट यति लामो यात्रा र अनिदो पनि भएकोले बागमती पुल सम्म पुगेर कोठा फर्किएर दुवैजना सुत्यौँ । ब्यूँझदा साँझ परेको थियो र इन्द्र सरले खाना बनाइसक्नु भएको थियो । खाना खाएर केहीबेर कुरा गरेर सुतियो । चिसो निकै भयो मलाई , म त स्वेटर नखोली सिरकमा घुस्रिएँ ।

मलाई नहराओस् भाइ भनेर हनुमानको मूर्तिबाट यति भित्र पस्नु र यो घर हो है भनेर माल्दाईले तीनपल्ट हनुमान स्थानबाट घर ओहोरदोहोर गराउनु भयो ।

कतिबेला निदाएँ कुन्नी दाइले उठाउँदा ७ बजेको थियो । चिसोले गर्दा नुहाउने आँट आएन । ट्वाइलेट जाने, दाँत माँझ्ने र मुख धुने काम भए । खाना खाएपछि र अलिक घाम लागेपछि अलिकति पानी तताएर चिसोमा मिसाई नुहाएँ मैले पनि । दिउँसोतिर माल्दाई र म पशुपति गयौँ ।

शुक्रबार बिहान उठ्दा माल्दाई र इन्द्र सर बिहानै क्याम्पस जानु भएछ । दुर्गा दाइ खाना बनाउँदै । खाना पाकेपछि हामीले खायौँ , दुर्गा दाइ पनि हिँड्नु भयो । म एक्लै । केहीबेरमा माल्दाई र इन्द्र सर पनि आएर खाना खाएर इन्द्र सर अफिस जानुभयो । माल्दाईको पनि अफिस जानु पर्ने , मलाई छोड्न पनि नमिल्ने । हामी सँगै गयौँ सिंहदरबार । राष्ट्रिय कम्प्यूटर केन्द्रमा काम गर्नुहुँदो रहेछ । मलाई सिंहदरबारको मूल गेटबाट बाहिर नजानू, भित्र घुम्दै गर्नु , म केहीबेरमा आउँछु भनेर जानुभयो । म घुम्न थालेँ । गाउँबाट आएको सानो फुच्चे, दरबारै दरबार भएको ठाउँमा एक्लै भएँ । केही डर पनि लाग्यो । एउटा ठूलो छातैछाता भएको घर रहेछ, बोर्डमा नेपाल टेलिभिजन लेखिएको थियो । घरमा टिभी थिएन त्यसैले मलाई खासै चासो भएन तर टेलिभिजन भएपछि रेडियो नेपाल कहाँ छ भनेर कौतुहलता जगायो । यता उता हेर्दै गएँ , अरू बाटोमा जाँदा हराउँछु भन्ने डरले मूल गेटबाट छिरेर जुनबाटो माल्दाईसँग आएको थिएँ त्यही बाटो हिँड्दै गएँ । एउटा ठूलो दरबारमा राष्ट्रिय पन्चायत लेखेको देखेँ । अझै अगाडि हिँड्दै गएँ । मूख्य सिंहदरबारको भवन पुगेँ , अगाडि पानीको फोहोरा सहितको बगैँचामा पुगेपछि मूल गेट आयो । बाहिर निस्किन अनुमति थिएन । बगैँचामा एक जना वृद्ध काम गर्दै थिए, उनैलाई रेडियो नेपाल कहाँ छ भनेर सोधेँ । किनकि रेडियो नेपाल सिंहदरबारभित्रै छ भन्ने कुरा त दिनैपिच्छे बासुदेव दाइको मुखबाट रचना पठाउने ठेगाना भन्दा सुनिरहेको थिएँ । उनले नै बगैँचाबाटै अलिक अगाडि दाहिने तिर औँल्याउँदै रेडियो नेपाल देखाई दिए । खुसी हुँदै गेटमा पुगेँ, चिनेको कसैलाई थिएन, गेटका सूरक्षाकर्मीले भित्र जान दिएनन्, कसलाई खोजेको भने , मैले “बासुदेव मुनाललाई” भनेँ । “वहाँ त भरे ५ बजे मात्र आउनु हुन्छ, समय लिएको थियो र भेट्न?” “थिएन” मैले भनेँ । यसरी रेडियो नेपाल पुगेर पनि चिनेको मानिस नहुँदा रेडियो नेपाल घुम्ने र बासुदेव मुनाल दाइलाई भेट्ने रहर रहरमै सिमित हुनपुग्यो । पछि २०४९ सालमा म त्रिचन्द्रमा BSc पढ्दै गर्दा बासुदेव दाइलाई भेट्ने रहर पूरा गरेँ । केही वर्ष अगाडि बासुदेव मुनाल दाइ बितेको खबरले निकै दुखी भएँ । माल्दाई अफिसबाट निस्केपछि कोठा आयौँ । खानपिन गरेर सुतियो ।

आज शनिवार, क्याम्पस अफिस सबैको छुट्टी । दुर्गा दाइ र इन्द्र सर कपडा धुने र सरसफाई गर्ने भन्दैहुनुहुन्थ्यो । हामी दाजुभाई बिहानै थापाथली, माइतीघर, पुतलीसडक हुँदै पैदल ८ बजेतिर बागबजारको खसी बजारबाट भित्र जाने साँघुरो गल्लीभित्रको एउटा घरको दोस्रो तलामा पुग्यौँ । कहाँ जाँदै थियौँ मलाई थाहा थिएन र मैले सोधिन पनि किनकि जता गए पनि मेरोलागि नौलो नै थियो । माल्दाईले ढोका ढक्ढकाउनु भयो । बागबजारको गल्लीको घर बाहिर घाम लागे पनि अँध्यारो छ, अनुहार राम्ररी देखिन्न । एकजना मेरै उमेरकी केटीले ढोका खोलिन् । भित्र पसेपछि र बिजुलीको उज्यालो देखेपछि मात्र लक्ष्मी माइज्यू, बहिनी रेखा र भाइ सरोजलाई भेट्न आएका रहेछौँ भन्ने थाहा पाएँ । माइज्यूले चिया बनाउनु भयो । चिया पिउँदै कुरा गर्दै गयौँ । कुरा गर्दागर्दै ९ बजेछ । अब जान्छौँ भनेर माल्दाई उठ्नुभयो , “कहाँ जाने ? खाएर जानुपर्छ” भनेर माइज्यूले हिँड्न दिनु भएन । एउटा ठूलो कोठा, कोठामा सुहाउने एउटा ठूलो खाट, कपडाले छोपेको केही सुटकेशहरूको चाङ, एउटा काठको भाँडा,मसला राख्ने -याक, त्यसमाथि स्टोभ, एउटा गोद्रेज स्टील दराज, दुईवटा मुडा । त्यो एउटा कोठा कोठा होइन सम्पूर्ण घर थियो । ट्वाईलेट भुईँतलामा सिँडीमुनिको चेप । माइज्यूको जागिर टिम्बर कर्पोरेशनमा भएकोले माइज्यू र भाइ बैनी मात्र काठमाडौ बस्नुहुन्थ्यो । मामा राम प्रसाद त्यतिबेला भद्रपुर नगर पञ्चायतको प्रशासक हुनुहुन्थ्यो ।

खाना खाएर हामी रत्नपार्क, घन्टाघर, रानी पोखरी, राजदरबार हेर्दै पैदल नै कुपन्डोल कोठा आयौँ ।

आइतबार बिहानको खाना खाएपछि मलाई इन्द्र सरले जावलाखेल लिएर जानुभयो र “चिडियाखाना घुम्नु र बाहिर निस्केर यहीँ बस्नु, म तीन बजे तिर आउँछु “ भनेर टिकट काटेर भित्र पठाएर जानुभयो । जिन्दगीमा पहिलो पल्ट कुनै चिडियाखाना घुम्दैथिएँ । गेट छेवैको पसलमा एउटा कापी र कलम किनेँ । जति घुम्दै गएँ देखेका पशुपंछी, जनावर सबैका नाम टिप्दै गएँ । एउटा काकातुवा नाम गरेको चरो ८४ वर्षको भनेर लेखिएको थियो, एउटा चराको त्यति लामो आयु, अचम्म लाग्यो । त्यो चरो १२ वर्ष पछि ९६ वर्षको उमेरमा मरेको सुनेको थिएँ । हात्ती त जंगलकै छेउको घर भएकोले सानैदेखि देखेको थिएँ । हरिण, जरायो, मृग, बाँदर, ढेडु आदि देखेकै थिएँ तर बाघ, भालु, गैँडा, चितुवा आदि जंगली जनावर मेरालागि नयाँ थिए । १० बजे भित्र छिरेको म करिब ३ बजे बाहिर निस्किएँ । त्यहीँ छेउको एउटा पसलमा केही किनेर खाँदै थिएँ इन्द्र सर आइपुग्नुभयो र डेरामा आयौँ ।

सोमबार बिहानै माल्दाई र म थापाथलीबाट ट्रलीबस चढेर कोटेश्वर गयौँ । कोटेश्वरमा ट्रलीबसबाट ओर्लेपछि केही पश्चिम खेतको आलीआली हुँदै महादेवस्थान नजिकै एउटा पुरानो घरमा पुग्यौँ । गोपाल पोख्रेल मामा र माइज्यू त्यहीँ डेरा बस्नुहुन्थ्यो । मामाको विवाह भएको एक वर्ष पनि भएको थिएन । मामा भक्तपुर क्याम्पसमा पढाउनु हुन्थ्यो । खाना खाएर मामा, माल्दाई र म सँगै कोटेश्वर चोकमा आयौँ । माल्दाई ट्रलीबस चढेर अफिस तिर लाग्नुभयो । मामा र म ट्रलीबस मै भक्तपुर गयौँ । सूर्यविनायक सम्म जाँदो रहेछ ट्रलीबस । त्यहाँ झरेर मामाको क्याम्पस गयौँ । मामाका दुई वटा क्लास लिनु पर्ने रहेछ त्यतिन्जेल म अफिसमा बसेँ । मामा कक्षाबाट आएपछि भक्तपुर दरबार घुम्न गयौँ । पचपन्न झ्याले दरबार सुनेको र पढेको मात्र थियो देख्दा मनै प्रफुल्ल भयो । त्यो दिन म काेटेश्वरमा मामाकैमा बसेँ । भित्र खाना खाँदै थियौँ बेलुकाको , अचानक भयंकर ठूलो आवाज आयो, घर नै थररर गर्यो । म जुठैहात हतारहतार बाहिर निस्केर आकासमा हेर्न थालेँ । एउटा अजंगको विमान भर्खर उडेर आकासिँदै थियो । मामा र माइज्यू दुवै हाँस्नु भयो । त्यहाँबाट त नजिकै विमान उडेको र बसेको देखिने रहेछ । राति लगभग ९ बजे सम्म विमान उडे तर त्यसपछि आवाज सुनिन , कतिबेला निदाएँ , उठ्दा झिसमिस उज्यालो हुँदै थियो ।

मामा कक्षाबाट आएपछि भक्तपुर दरबार घुम्न गयौँ । पचपन्न झ्याले दरबार सुनेको र पढेको मात्र थियो देख्दा मनै प्रफुल्ल भयो ।

बुधबार खाना खाएर मामाले नै एयरपोर्ट घुमाउन लानु भयो । सायद बेलुकाको जुठोहात सम्झनु भयो होला । एयरपोर्ट टर्मिनलको माथिल्लो तलामा गएर त्यति नजिकबाट त्यति ठुला हवाइजहाज देखेकै थिइनँ । चारआली व्यारेकमा कहिले कहिले हेलिकप्टर आएको र आकासमा उडेका ससाना चरा जत्रा जाहाज बाहेक देखेकै थिएन । चारआली व्यारेकमा हेलिकप्टर आउँदा हामी स्कुलबाट कुदेर आउँथ्यौँ हेर्न र व्यारेकको काँडे तारबार बाहिरबाट हेर्थ्यौँ हेलिकप्टर उडेको । एयरपोर्टबाट हामी पशुपति गयौँ, पशुपतिबाट बुढानीलकण्ठ, त्यहाँबाट बालाजु बाईसधारा, त्यहाँबाट स्वयम्भु हुँदै त्रिपुरेश्वर आएर ट्रलीबस चढेर साँझमा पुन: कोटेश्वर आइपुग्यौँ । आज धेरै घुमेकोले निक्कै थकाई अनुभव हुँदैथियो । खाना खाएर सुतेको फुस्सै निँदाएँछु कुनै आवाजले उठाएन राति ।

बिहिबार खाना खाएर माइज्यूसँगै माइतीघर सम्म ट्रलीबसमा आएँ । माइज्यू पद्मकन्या पढ्नुहुन्थ्यो ,मलाई “एक्लै जान सक्नुहुन्न होला पुर्याइदिन्छु कुपन्डोल” भन्दै हुनुहुन्थ्यो । मैले “सक्छु नि किन नसक्नु “भनेपछि माइज्यू माइतीघरमा उत्रेर जानुभयो । माइज्यू गइसकेपछि यसो सोचेँ “ कोठा जाऊँ भने दिउँसो कोही हुन्न, मसँग चाबी छैन । अन्त जाऊँ भने देखेको छैन, नयाँ ठूलो बजारमा हराउँछु कि भन्ने त्रास “ । त्यो आकासे लिकमा हिँडीरहेको ट्रलीबसबाट थापाथलीमा नझरी बसिरहेँ । त्रिपुरेश्वर पुगेपछि त त्यही बस हिँडीरहने रहेछ । म पनि उत्रिनै मन लागेन । त्यही बसमा सूर्यविनायक पुगेँ । त्यहाँ त्यो बस छोडेँ तर स्टेसनबाट टाढा गईँनँ । फेरि पछिल्लो बसमा चढेर त्रिपुरेश्वर आएँ, पुन: एउटा छोडेर सूर्य विनायक गएँ । करिब ३ बजुन्जेल यो क्रम जारी रह्यो । बाटाका सबै स्टेसनहरू कण्ठस्त भए । ३:३० तिर कुपन्डोल कोठा गएँ , इन्द्र सर भर्खर आउँदै हुनुहुँदो रहेछ । बेलुका मेरो दिउँसोको ट्रलीबस मोह सुनेर सबै मरिमरी हाँस्नुभयो ।

शुक्रबार वालाचतुर्दशी थियो, पुस पनि लागिसकेको थियो जस्तो लाग्छ, गते सम्झन सकिन । बिहान ४ बजेतिरै माल्दाई र म नुवाई धुवाई सकेर सत्वीज छर्न पशुपति गयौँ । ओहो, कति भीड, खुट्टा टेक्ने ठाउँ छैन । बाबुआमा हुनेले नछर्नु भन्दारहेछन् , सानाबुबाको निधन पहिल्यै भैसकेको हुनाले माल्दाई छर्ने म रमिता हेर्दै सँगसँगै हिँड्ने गरियो । इन्द्र सर र दुर्गा दाइका बुबाआमा नै भएकोले वहाँहरू जानुभएन । हामी पशुपतिबाट घर आउँदा करिब ११ बजेको थियो । अफिस क्याम्पस छुट्टी भएकोले सबै कोठामै हुनुहुन्थ्यो , खाना तयार थियो । हामीले खायौँ र त्यो दिन गफ गरेरै बितायौँ ।

शनिबार माल्दाईले नयाँ सडक, हनुमान ढोका र धरहरा घुमाउन लानु भयो । बेलुकापख सबैजना पाटनको कृष्ण मन्दिर हेर्न गयौँ र पाटन ढोका हुँदै फर्कियौँ । आइतबार सबै आफ्आफ्ना काम र क्याम्पस लागेपछि म पुन: थापाथली आएर ट्रलीबस चढेँ । मलाई किन किन ट्रलिबसको प्यास मेटिएको थिएन । तर दिनभर गरिन आज चाहिँ । सूर्यविनायक पुगेर फर्केपछि पुन: कोठा आएँ । चाबी बोकेर गएको थिएँ आज चाहिँ । भोलि घर जाने भनेको सोमबार परेछ । बुबाले भनेको सम्झेँ ।

“ए नानी पूर्वतिर सोम शनिश्चरैबार
ठिक छैन दक्षिण दिशातिरमा विहिबार
हुँदैन पश्चिम दिशातिर शुक्र आइत
उत्तर नगर्नू बुध मंगलबार साइत ।”

त्यसैले मंगलबार घर जाने निधो गरियो । सोमबार माल्दाईसँग नयाँ सडक गएर घरको लागि कोशेली गुदपाक र पुष्टकारी किन्यौँ , त्यहाँबाट पुरानो बसपार्कमा गएर न्यू अजिमा ट्राभल्सको B साइडको ४ नम्बर सिटको टिकट किनियो । पुरानो बसपार्कबाट हिँड्दै सिंहदरबार पुगेपछि माल्दाई “ तँ कोठा जाँदै गर, म अफिस पुगेर एउटा सानो काम सकेर आउँछु “ भनेर जानुभयो । मसँग चाबी छँदैथियो, म सरासर कोठा आएँ । कोठा पुग्दा इन्द्र सर आइसक्नु भएको रहेछ । टाउको दुखेर चाँडै आएको भन्नुभयो । वहाँ सुत्नु भयो , म पनि यसो ढल्केको निँदाएँछु ।

म उठ्दा ४ बजेको थियो माल्दाई अझै आइपुग्नु भएको थिएन । दुर्गा दाइ आइसक्नु भएछ । इन्द्र सरले “ कति सुतेको उठ, तिमी सुतेपछि म पशुपति गएको थिएँ यी प्रसाद ल्याएको छु , खाऊ “ भनेर एउटा रिकापीमा एउटा कालो डल्लो दिनुभयो । दुर्गा दाइ छेउमा बसेर हेर्दै हुनुहुन्थ्यो । पशुपतिको प्रसाद नखाने वा खान्न भन्ने कुरै भएन नि । क्वाप्प मुखमा हालेँ पुस्टकारी जस्तो लागेर तर नत गुलियो, न मिठाईको स्वाद ? नुनिलो, मसला भएको, अलिकति चुइगम जस्तै चाम्रो हो कि जस्तो, अनौठो लाग्यो, तर मीठो लाग्यो । प्रसाद भनेपछि थपिथपि खाने कुरा पनि भएन । कस्तो नयाँ स्वादको पशुपतिको प्रसाद रहेछ कहिल्यै नखाएको । साँझमा माल्दाई आउनु भयो । माल्दाई आएपछि मैले भने “ दाजु हामीले त गुदपाक र पुष्टकारी मात्र किन्यौँ, इन्द्र सरले आज ल्याएको प्रसाद त झन् मिठो रहेछ, त्यो पनि अलिकति किनौँ है बिहान ।” “ कुन प्रसाद इन्द्र जी ?” माल्दाईले इन्द्र सरलाई सोध्नु भयो । इन्द्र सरले पल्लो कोठाबाट एउटा कचौरामा ल्याएर “ यी यो प्रसाद” भनेर देखाए पछि दुर्गा दाइ र इन्द्र सर पेट मिचिमिचि हाँस्न थाल्नुभयो । माल्दाईको अनुहार अलिक बिग्रियो, म केही भेउ नपाएर हेरिरहेँ । के हो कुरा केही बुझ्न सकिन । दुर्गा दाइले “ आज दुष्यन्तले पशुपतिको प्रसाद भनेर मासु खाए “ भनेपछि मात्र रहस्य खुल्यो । जिन्दगीमा कहिल्यै मासु नखाएको मलाई के थाहा त मासको स्वाद कस्तो हुन्छ भनेर, प्रसाद भनेर दिएपछि प्रसाद नै सम्झेर खाएँ । माल्दाईले इन्द्र सरलाई गाली गर्नुभयो । मलाई पनि डर लाग्यो बुबा आमाले थाहा पाउनु भयो भने तर मेरो गल्ती त के थियो र ? राति पनि एकातिर डर लागिरह्यो भने अर्कोतिर नयाँ प्रसादको स्वाद मष्तिस्कबाट निस्कनै मानेन ।

आज घर जाने दिन , बिहानै दाजुभाइ पशुपति गयौँ । पशुपतिको दर्शन गरेर फूलपाति र सेतो दाने मिठाई कोसेली लिएर आयौँ । खाना खाएर सबै आआफ्ना काममा जानुभयो । करिब २ बजे तिर माल्दाई कोठा आउनुभयो । समोसा लिएर आउनु भएछ । दाजुभाइले समोसा खाजा खाएर करिब ४ बजे अहिलेको पुरानो बसपार्क पुग्यौँ माल्दाई र म । न्यू अजिमा ट्राभल्स लागिरहेको थियो स्टेसनमा । म चढेँ, झोलालाई सिट मुनि छिराएँ र B साइडको ४ नम्बर सीटमा बसेँ । माल्दाई झ्याल बाहिर हुनुहुन्थ्यो । एकजना २५/३० वर्षकी महिला मेरो छेउमा आएर बसिन् । माल्दाईले चिनेकै महिला रहिछिन्, नमस्कार गर्नुभयो झ्याल बाहिरैबाट ।

माल्दाई : हजुर कहाँसम्म जाने दिदी ?
दिदी : धरान हिँडेकी, इटहरीमा झर्छु यो बसबाट ।
माल्दाई: एए , दिदी, यो मेरो भाइ हो, पहिलो पल्ट एक्लै जाँदैछ , बाटोमा यसो रेखदेख गरिदिनु होला है !
दिदी : भैहाल्छ नि ।

माल्दाई दिदीको जिम्मा लगाएर जानुभयो । बस हिँड्यो । बस थानकोटबाट अगाडि बढ्दै गर्दा दिदीले “ भाइ, म झ्यालमा बस्छु नि है “ भनिन् । मलाई त बाहिर हेर्दै जानु थियो त्यसैले “ दिदी मलाई त बमिट हुन्छ, म त झ्यालमै बस्छु “ भनेँ । म आफ्नै सुरमा बाहिर हेरिरहेको थिएँ । मैले बमिट हुन्छ भनेपछि दिदीले A साइडको मान्छेसँग सिट साटिछन् । मेरो छेउमा एकजना वृद्ध आएर बसेँ । जो बसे पनि मलाई त के र , म झ्यालमै थिएँ । बिहान सकुशल चारआलीमा उत्रिँदा डोल्मा घडीले ८ बजाएको थियो ।
……
दसैँमा माल्दाई पुन: घर आउनुभयो ।

“ सुकमित गुरुङसँग कतिको गफ गर्दै आइस् त ? “ माल्दाईले यसो भन्दा पो म त झसंग भएँ । सुकमित गुरुङ भन्ने चिनेको भए म सिटै छोडिदिन्थेँ नि । मैले चिन्न नसक्नुमा मेरो के दोष , गीतमा आवाजमात्र सुनेको अनुहार कहिल्यै देखेको भए पो चिन्नु । थक्क थक्क लाग्यो । रेडियोमा “ ओ हो ओ मेरो प्रियतम्, मेरो प्यार मेरो जीवन…” बजिरहेको थियो ।

गीतसँगै मुखमा पशुपतिको प्रसादको स्वाद झुन्डिएको रहेछ , माल्दाईलाई देख्नासाथ जिब्रोले सुसु गरिहाल्यो !!!

……अस्तु …..

Logo