संस्मरण : पहिलो ताप्लेजुङ यात्रा !

संस्मरण : पहिलो ताप्लेजुङ यात्रा !


  • दुष्यन्त भट्टराई

कुरा २०३९ साल आश्विनको हो । गते सम्झन सकिन तर पात्रो भेट्टाएँ भने चाहिँ भन्न सक्छु । “यो वर्षको दसैँ ताप्लेजुङमा मनाउन जाने” एकदिन बुबाले स्कुलबाट घर आइपुगेपछि आमालाई भन्नुभयो । दिदी र म पनि स्कुलबाट आएर खाजा खाँदै थियौँ । हामीले एक अर्कालाई हेर्यौँ । दिदी मुसुक्क हाँसी, मैले पनि दिदीकै हाँसोमा हाँसो मिसाइदिएँ ।

त्यो भन्दा करिब एक महिना अगाडि एकदिन बुबा र आमा बेलुकाको खानपिन सकेर सुत्ने बेलामा सल्लाह गर्दै गरेको सुनेको थिएँ । आमाले भन्नुभयो “ छोरो पनि अब १० वर्षको भैसक्यो, छोराछोरी नभएर पाथिभरा माताको भाकल गरेको पनि यत्तिका वर्ष भैसके ।अब त छोराछोरी पनि ठूला भैसके । एकपल्ट माताको दर्शन गर्न जानु पर्छ, यसो समय मिलाउनु पर्छ कि ?” बुबाले सुनिरहनु भयो । अँ अँ भन्दा बढी केही बोल्नु भएन । त्यसपछि सबै सुत्यौँ ।

बुबा अर्थात् पं नारायण प्रसाद भट्टराई । बुबाका परिचय धेरै थिए । दुहागढीको वाल सुवोधिनी निम्न माध्यमिक विद्यालयमा पढाउनु हुन्थ्यो, सबैले “ गुरुसर “ भन्थे । गुरु भनिसकेपछि सर किन भनेका हुन् मैले आजसम्म बुझेको छैन । सायद पढाउने सबै सर हुन् र संस्कृत र नेपाली पढाउने भएकोले सरमा गुरु पनि लगाएका होलान् । त्यस्तै चारआलीको सैनिक व्यारेकमा नियमित चौमासा पुराण भन्नु हुन्थ्यो , सबैले “पण्डित गुरु “ भन्थे । आमैको “नानी” ; हजुरबुबा, हजुरआमाको “ पण्डित” ; काकाहरूको “पण्डित दाजु” ; छर छिमेकीहरूको “भट्टराई पण्डित” यस्तै यस्तै थिए बुबाका परिचयहरू ।

बिहानै खाना खाएर लगभग सवा घन्टा हिँडेर स्कुल जानुहुन्थ्यो । १० देखि ४ सम्म स्कुल । तर घर टाढा भएकोले हेडसर भोला सुवेदीसँग अनुरोध गरेर अन्तिम पिरियडमा आफ्नो कक्षा नराख्ने गर्नुभएको थियो । स्कुलबाट हतार हतार ४५ मिनेटमा चारआली सैनिक व्यारेक पुगेर ६ बजे सम्म पुराण भन्नु हुन्थ्यो र झमक्क साँझ पर्दा मात्र घर आउनुहुन्थ्यो । पछि २०३७ सालमा साइकल सिकेपछि अलिक सजिलो र छिटो हुनथाल्यो । मैले र बुबाले सँगै साइकल सिक्यौँ ८ र ४८ वर्षको उमेरमा । एक जना डोनस ग्रान्डन नाम गरेका कर्णेल थिए । नाम सुन्दा अंग्रेज जस्तो लागे पनि उनी नेपाली नै थिए । क्रिस्चियन नाम जस्तो लागे पनि हिन्दु नै थिए । तामांग जातिका उनी बौद्ध र हिन्दु धर्म बराबर मान्दथे । सैनिक व्यारेकमा कुनै पूजापाठ गर्नु पर्ने भएमा बुबालाई बोलाउँथे र कन्डेकेटा केटीलाई पनि टिका लगाईदिने, पैसा दिने र मिठो मिठो खुवाउने गर्थे । बुबासँगै विशेष पूजाको दिन म पनि व्यारेक जान्थेँ । पछि अम्बिका न्यौपाने कर्णेल आउँदा पनि यो क्रम जारी रहेको थियो । यो चलन मैले थाहा पाउन थाले देखिकै हो ।

ए साँच्ची त ! कता ताप्लेजुङ जाने कुरा छाडेर बुबाको काममा अल्झेँछु म पनि । अब नअल्मलिइकन ताप्लेजुङ जाने है त ।

हामी घरमा ८ जना थियौँ । आमै ( बुबाको मावलको हजुरआमा), बुबा, आमा, दिदी, म, चौधरी बाबै(हली), भरत राजवंशी ( गोठालो) र काउली ( चौधरी बाबैकी छोरी ) । चौधरी बाबैकी श्रीमती मरेपछि एक्ली छोरी लिएर बाबै दु:खले भौँतारिरहेको बेला बुबाले काम गर्छौ भने तिमीहरू बाबुछोरीलाई नै म बस्न खान र केही पैसा पनि दिन्छु भनेपछि खुसी हुँदै हाम्रोमा हली बसेका थिए ।

बुबाले बसको दुईटा टिकट किनेर ल्याउनु भयो । घरमा घटस्थापना गरेर जमरा राख्ने काम गरियो । आमै र घरको राम्रो हेर बिचार गर्नु भनेर बुबाले सबैलाई अह्राईपराई गर्नु भयो । आमाले बाटाको लागि चिउरा, सख्खर, मकैको सातु, गुन्द्रुक, भटमास, अदुवाका चानाहरू, टर्चलाइट, जाडो मौसमलाई चाहिने कपडाहरू आदि सबै तयार गर्नुभयो । घटस्थापनाको भोलिपल्ट बिहान ४ बजे नै आमाले खाना तयार गर्नुभयो । हामी हिँड्ने चारजनाले खाना खायौँ । बुबाले बिहानै नित्य पान्चायन पूजा सकिसक्नु भएको थियो । आमैले सबैलाई साइतको टिका लगाइदिनु भयो । बिर्तामोडबाट ५:३०मा बस हिँड्ने भनेको रहेछ । हाम्रो घरबाट बस चढ्ने सड़क पुग्न १५ मिनेट हिँड्नु पर्थ्यो । सानागुरु ( माधव प्रसाद भण्डारी) जो होचो कदको हुनुहुन्थ्यो र आफ्नै घरमा गुरुकुल चलाएर बस्नु भएको थियो सबैले वहाँलाई सानागुरु भन्थे । अहिले गुरु बितेर गए पनि वहाँले दिएको जग्गामा बनेको माधव संस्कृत माध्यमिक विद्यालय चलिरहेको छ समाजकै दान र दाताहरूबाट । वहाँकै घर अगाडिको चौतारोमा बस रोकेर चढ्ने योजना रहेछ बुबाको । हामी ५:३० नबज्दै सानागुरुको घर अगाडि पुग्यौँ ।

आश्विन महिना, न जाडो न गर्मी । ५:३० मा भर्खर उज्यालो हुँदै थियो । घाम झुल्किसकेका थिएनन् । ७ किमी परको बिर्तामोडबाट ५:३० मा हिँड्ने भनेको बस ६ बजे पनि आएन । अहिलेको जस्तो मोवाइल वा इन्टरनेटको सुविधा थिएन सोधखोज गर्न । पर्खनु सिवाय अर्को कुनै उपाय थिएन । हामी पर्खँदै थियौँ । सानागुरु पनि फलैँचामै आएर बुबासँग कुरा गर्दै हुनुहुन्थ्यो । ६:१५ भयो तर बस आएन । पहिलो पल्ट पहाड जाँदैथिएँ म । मनमा अनन्त उत्साह थियो । तर बस नआएर दिक्क हुँदै थियौँ । सबैका आँखा चारआली तिरको बाटोमा ओछ्याइएका थिए । बल्ल बल्ल ६:३० बजे मेची यातायातको बस छतभरि मान्छे बोकेर आइपुग्यो । बुबाले हात उठाउनु भयो । बस रोकियो । बस यति भीड़ छ कि चढ्ने ठाउँ छैन । बल्ल तल्ल ठेलम्ठेल गर्दै बस चढियो ।

चढ्न त चढियो बस तर बुबाले काटेको टिकटको सिटमा त अरू नै मान्छे बसेका छन् । हामी केटाकेटी नै भएकोले बुबाले दुईटा मात्र टिकट काट्नु भएको थियो सायद छोरा छोरीलाई काखमा राखेर जान सकिन्छ भन्ने सोचले होला । तर यहाँ स्थिति उल्टो भयो, काटेको सीट पनि छैन । बसको स्टाफलाई भनेपछि र टिकट देखाएपछि बल्ल बल्ल ती बसेका मानिसले हाम्रो सीट छोडिदिए । बुबा र आमा सीटमा बस्नुभयो , दिदी बुबाआमाको बिचमा घुस्रिई । म झोलामाथि बसेँ । त्यति व्यवस्था हुँदा बस बर्नेको चियाबगान बिचबाट उकालो लाग्दैथियो ।

करिब दुई घन्टामा बस फ़िक्कल पुग्यो । पूर्व पश्चिम (महेन्द्र) राजमार्ग मात्र कालोपत्रे थियो त्यो समयमा । चारआलीबाट उत्तर लागेको मेची राजमार्ग कच्ची ( ग्राबेल) थियो । बिहानै भएकोले फिक्कल पुगुन्जेल खासै धुलो उडेको थिएन । केहीबेर फिक्कलमा चिया नास्ताको लागि रोकेपछि बस पुन: आइतबारेको उकालो उक्लिन शुरु गर्यो । बाटाका दाँयाबाँया चियाका बुटाहरू बसकै गतिमा धुलोको कम्बल ओड्दै पछाडितिर दौडिन्थे । आइतबारेको डाँडाबाट ओरालो लागेपछि चियाबारी पनि सकियो । तीनघरे, गोदक हुँदै कच्चीबाटोमा बिस्तारै ओरालोमा बामे सर्दै बस माई खोला पुगेर रोकियो । बसका सबै यात्रुहरू उत्रेर माईखोलालाई नमस्कार गर्ने, तल खोलामै गएर सूर्यमा पानी चढाउने आदि गर्न थाले । केही यात्रीहरू लघुशंका गर्न पनि कुनामा छेलिँदै हराए र केहीबेरमै झुल्किए पनि । पुन: सबै यात्रुहरूलाई बोकेर माई तरेर उकालो लागेको बस ठस् ठस् कन्दै करिब २ बजे इलाम पुगेर रोकियो ।

गाडीको बाटो इलाम सम्म मात्र थियो , त्यहाँबाट ताप्लेजुङको यात्रा पैदल हुने रहेछ । म मात्र दस वर्षको भए पनि करिब ५ किलोको झोला मेरो भागमा पनि परेको थियो । मधेसबाट पहाड जानेले प्राय: चिनी कोशेली लाने चलन रहेछ । हो त्यही ५ किलो चिनी मैले बोकेँ । दिदी, बुबा र आमाले पनि आफआफ्ना झोला बोक्नुभयो र बजारको बिचहुँदै चुरेघाँटी निस्कियौँ । करिब तीन बजेको थियो त्यतिबेला , बुबाले साँखेजुङ गएर बस्ने भन्नुभयो । बाटामा पैदल यात्रुहरू पनि हिँडिरहेका थिए । यस्तोमा साँझ साँझ पर्दैगर्दा करिब ५ बजे साँखेजुङ पुगेर एकजना लुईँटेलको घरमा बास मागेर बसियो ।

भोलिपल्ट बिहानै उठेर हातमुख धोएपछि आमाले त्यहीँ तातोपानी पकाउनु भयो र सबैले एक एक गीलास तातोपानी पिएर लुईँटेल परिवारलाई धन्यवाद दिँदै बिदा भयौँ । चुरेघाँटीबाट साँखेजुङसम्म त तेर्सो तेर्सो बाटो थियो हिजो बेलुका आउँदा तर यहाँबाट त टोपी खस्ने उकालो चढ्नु पर्ने रहेछ रक्से डाँडा । शुरु शुरुमा त ५ किलो चिनीको झोला बोकेर सबैभन्दा अगाडि हिँड्दै थिएँ म तर करिब १ घन्टा उकालो हिँडेपछि मेरा खुट्टा हिँड्न नसक्ने भए । मधेसको समथरमा जन्मेर खेलेको म पहाड हिँड्न नजान्ने रहेछु । मेरो झोला बुबाले बोकीदिनु भयो । बुबाले सिकाएको तरिकाले हिँड्न थालेँ , हलुका पनि भयो र अलिक सहज भयो । दुई घन्टा उकालो चढेपछि एकजना भण्डारीको घरमा पुगेर बुबाले दाउरा र तरकारी माग्नु भयो । आमाले खाना पकाउनु भयो र खाना खायौँ ।

आमा धन्दा गर्दैहुनुहुन्थ्यो । “अब हिँड्नु पर्छ, छिटो गर “ बुबाले भन्नुभयो ।
खाना पकाउने र खाने समयमा हाम्रो थकाई मरिसकेको थियो तर आमाको ? आमा केही बोल्नु भएन , दिदीले भाँडा पखाल्न सघाई । हतार हतार काम सकेर हिँड्दा १० बजेको हुनुपर्छ । उकालो सकिने छाँटकाँट छैन , चित्रे भन्ने गाउँबाट जङ्गल शुरु भयो । पहाडमा जङ्गललाई पाताल भन्दा रहेछन् । बुबाले भन्नुभयो “ अब पातालको बाटो छ , भालु लाग्न सक्छ त्यसैले हामी सरेसम्म अरू बटुवाहरू सँगै हिँड्नुपर्छ” । पाँचथर र ताप्लेजुङ जाने प्रमुख मार्ग भएकोले पनि होला मान्छेहरूको आवागमन बाक्लै थियो । तर जति गरेपनि हामीले कुनै एउटा समूहलाई पछ्याउन सकेनौँ । बेला बेला अरूसँगै र बेलाबेला हामीमात्र हुँदै अलिक सम्म र खुल्ला ठाउँमा पुग्यौँ । बाटाकै छेउमा एउटा पोखरी पनि रहेछ । पोखरीमा केही पानी थियो । यसलाई सुके पोखरी भन्दा रहेछन् । डाँडाको टुप्पामा पुगेका वटुवाहरूलाई प्यास मेट्ने पानी यही रहेछ । “पाताल छिचोल्न अझै धेरै छ हिड्नु पर्छ” भनेर त्यहाँ पनि नबसी हामी हिँड्यौ । भोक लाग्न थालेको थियो तर सुके पोखरीबाट उकालो सकिएर अलिक तेर्सो बाटो आएकोले हिँड्न सहज भयो । आमाले भुटेका ठेट्ना मकै बोक्नु भएको रहेछ । मेरा गोजीमा हालिदिनुभयो । म मकै चपाउँदै हिँड्न थालेँ । केही घन्टा हिँडेपछि एउटा खोल्सी आयो । त्यसको नाम नाम्दु खोला रहेछ । त्यसकै किनारै किनार हिँड्दै गयौँ । बाटो कहिले नाम्दु वारि कहिले नाम्दु पारि हुन्थ्यो । काठका मुडा तेर्स्याएर पुल त नभनौँ फड्के बनाइएका थिए । लेकको ठाउँ, खोलाको किनार, ओसिलो परेको जमिन जुका लाग्ने रहेछन् । सकेसम्म जुकाबाट जोगिँदै हिँड्दैथियौँ । हिँड्दाहिँड्दै साँझ पर्यो, वरपर गाउँ घर केही छैनन् । भर्खर औँसी सकिएकोले रात पनि अँधेरी छन्, आकाशमा अरवौँ तारा भएपनि एउटा जूनको जत्ति पनि काम गर्दैन रहेछन् । टर्चलाइटको सहायताले करिब ८ बजे राति एउटा घरमा पुग्यौ । घर लिम्बूको रहेछ । बुबाले बास माग्नुभयो । लिम्बूनी आमा साह्रै मज़ाकी रहिछन् , बास मात्र हैन , खानाको सबै सामाग्री तयार गरिदिइन्, आमाले खाना पकाउनु भयो । आगाको छेउमा बसेर आगो ताप्दै खुट्टामा हेरेको त सेतो कपडाको जुत्ता रातो भएको रहेछ । मलाई असाध्य डर लाग्यो र रुन थालेँ । बुबाले मेरा जुत्ता र मोजा खोलिदिनु भयो । औँलाका काप कापमा जुका अड्किएका थिए ।रगत चुसेर ढाडिएका जुकाहरू सजिलै निकालिदिनु भयो बुबाले , सबैको हालत उही रहेछ । अरूको देखेपछि म रुन छोडेँ । आमाले खाना पकाएपछि सबैले खाना खायौँ र सुत्दा निकै राति भैसकेको थियो । त्यो लालीखर्क रहेछ । थाकेको ज्यान भुसुक्कै निदायो आमाका काखमा ।

बुबाले बिहानै उठाउनु भयो । हातमुख धोयौँ । लिम्बुनी आमाले तातोपानी र चिया दुवै दिइन् । आँगनमा निस्कँदा उघ्रेको आकास र लहरै सेताम्य हिमालहरू देखिए । म सँग क्यामरा हुँदो हो त कति फोटा खिच्थेँ होला । तल फाँटजस्तो ठाउँमा ठूलो बजार देखियो । बुबाले भन्नुभयो “ फिदिम बजार त्यही हो ।” कञ्चन्जङ्घा र कुम्भकर्ण हिमालमा बिहानको सूर्यको किरण पर्दाको सुनौलो दृश्य साँच्चिकै मन लोभ्याउने थिए । तर हेरेर बस्ने समय थिएन, सात बजेतिर हामीले लिम्बू दम्पतिलाई धन्यवाद दिँदै फिदिम तिरको बाटो ततायौँ ।

समय त ९ मात्र बजेको थियो फिदिम पुग्दा । तर त्यहीँ बुबाले चिनेका एकजना भट्टराईकै घरमा खाना खाएर जाने कुरा भयो । घरबाट हिँडेपछि बल्ल एक छाक भएपनि पकाउनु नपरेर आमालाई आराम भयो । भट्टराई आमाले मिठो खाना खुवाउनु भयो । दही, मोही दुध, अचार , धेरै परिकार । घरमा खाएर हिँडेपछि घरमै खाएँ जस्तो भयो । तर पुग्नु धेरै टाढा भएकोले अलमल नगरी हामी बाटा लाग्यौँ ।

फिदिमबाट केही बेरमै तेर्सो तेर्सो बाटो हुँदै जोरसाल पुग्यौँ । जोरसालबाट तल तोमर नदी सुसाएको सुनियो र देखियो पनि । ठाडो ओरालो झरेर पहिले हेवा खोला तरेर तमोर किनार पुगियो ।

फिदिमबाट केही बेरमै तेर्सो तेर्सो बाटो हुँदै जोरसाल पुग्यौँ । जोरसालबाट तल तोमर नदी सुसाएको सुनियो र देखियो पनि । ठाडो ओरालो झरेर पहिले हेवा खोला तरेर तमोर किनार पुगियो । देख्न त बराहक्षेत्रमा सप्तकोशी पनि देखेको थिएँ तर शान्त , यहाँ त पानी पनि बौलाए जस्तै गरेर बग्दै थियो । यति उर्लेको, यति गर्जेको नदी मैले देखेकै थिएन । बुबाले भन्नुभयो “ यो तमोर त हामी सानामा पौडेर तर्थ्यौँ “। तमोर किनारमा बसेर हामीले चिउरा र सख्खर मिसाएर खाजा खायौँ , प्यास मेट्न तमोरको कलकल पानी छँदैथियो । हामी किनारै किनार केही हिँडेपछि एउटा झोलुङ्गे पुल देखियो । कुनै सिटौला दाताले बनाइदिएको हुनाले त्यसलाई सिटौला पुल भन्दा रहेछन् । सिटौला पुल तरेपछि बाटो ठाडो उकालो लाग्यो । मेरो काँधमा लालीखर्क देखिनै हिजोको ५ किलो झोला बुई चढेको थियो । बाटो धेरै उकालो भए पनि ढुंगा खिपेर सिँडी जस्तै बनाइएको हुनाले हिँड्न केही सहज भयो । फेरि मलाई पहाड हिँड्ने अनुभव पनि पूरै एक दिन र एक बिहानको भएकोले म पनि सिपालु भैसकेको थिएँ । घाम पश्चिम डाँडाको पिठ्यूँमा लुकिसकेका थिएँ । हाम्रो हिँडाई छिटो थिएन । बल्लबल्ल साँझमा छातेढुंगा पुगेर भवानी प्रसाद कन्दंगवाको घरमा बास बसियो । हिजो र अस्तिका बास बसेका घरहरू नचिनेका र मार्गमा खोजिएका बास थिएँ तर आज चाहिँ हामी यहीँ बस्ने भनेरै आएका थियौँ । किनकि कन्दंगवा झापामा दस वर्ष देखि हाम्रा छिमेकी हुनुहुन्थ्यो । अन्यस्थानमा बास बसे जस्तो हुन्थ्यो तर आज घरमा बसे जस्तो भैरहेको थियो । कन्दंगवा बा आमाहरूले खानपिनको सबै तयारी गरिदिनु भयो, आमाले पकाउनु भयो र सबैले खाएर सुत्यौँ । बिहान उठेर आमाले तातो पानी तताएर मलाई नुहाइदिनु भयो । तीन दिन पछाडि नुहायो ज्यानले । बिहान छिटो गरेर त्यहीँ खाना खाएर हामी हिँड्यौँ ।हिँड्ने बेलामा कन्दंगवा आमाले बारीमा फलेका अम्बक एक झोला हालिदिनु भयो । हामी खाँदै बाटा लाग्यौँ ।

बेलुका करिब ५ बजे हामी ह्वाकु पुग्यौँ । ह्वाकुमा आमाको मावली घर थियो । मावलकी हजुरआमा र मामा श्रीप्रसाद अनि मामाका दुई (श्रीमती) परिवार त्यहीँ बस्नु हुन्थ्यो । हामी पुग्दा हजुरआमा पिँडीमा बसेर वाती कात्तै हुनुहुन्थ्यो । मामा बस्तुभाउको थान्कोमुन्को गर्दै हुनुहुन्थ्यो । कान्छी माइज्यू भान्साको तयारी , ठूली माइज्यू मतानमा के के गर्दै, अन्य मामाका छोराहरू यता उता घर धन्दामै व्यस्त हुनुहुन्थ्यो । आकस्मिक रूपमा हामी पुग्दा सबै आश्चर्य चकित हुनुभयो । भलाकुसारी गरेर खानपिन गर्दै बिहान सबेरै हिँड्ने र दसैँको टिका लगाउन पूर्णिमा सम्ममा आइपुग्ने कुरा गरेर सुत्यौँ ।

“आज ताप्लेजुङ नै पुग्नु पर्छ, बाटो लामो छ , छिटो गर “ बुबा बिहानै उठेर भन्दै हुनुहुन्थ्यो । आमाकी माइज्युले बिहानको रातिनै उठेर खाना तयार गर्नुभएको रहेछ । सबैले खाना खाएर हिँड्दा लगभग ६ बजेको थियो । केही ओरालो, केही तेर्सो बाटो हुँदै हामी पैरे पुग्यौँ । तल तमोर नदीमा एउटा जीर्ण झोलुंगे पुल देखियो तर मानिसहरू जोखिम मोलेर पुलमा हिँड्दै थिएँ । गाउँकै कुनै लिम्बूनी आमैले आफ्नै खर्चमा बनाइदिएको पुल भएर त्यसलाई लिम्बूनी पुल भन्दा रहेछन् । त्यतिबेलाका मान्छेमा समाज सेवाको चेतना कति उच्च रहेछ जस्तो लाग्छ अहिले सम्झँदा । पैरेमा भोला सुवेदी बुबाको घरमा पुगेर केही बेर बसियो । पुन: हिँड्दै तमोरको किनारै किनार खर्कुणे पुगियो । खर्कुणे ताप्लेजुङमा र वरपर मर्ने मानिस जलाउने घाट रहेछ । एउटा झोलुंगे पुल पनि रहेछ । हामी पुग्दा पनि एउटा चिता जलिरहेको थियो ।

खर्कुणेको झोलुंगे पुल तरेर ठाडो उकालो लागियो । अहिले सम्झँदा ताना शर्माको घनघस्याको उकालो पनि यस्तै थियो होला टोपी खस्ने । त्यति धेरै मानिस हिँड्ने भए पनि साँघुरो बाटो र अव्यवस्थित बाटो रहेछ । केही कुतौजी परेर खुट्टा चिप्लियो भने सिधै तमोर नदीमा ।बडो कठिनले यो उकालो काटेर करिब साँझको छ बजे बोझे घर पुगियो । बोझे घरमा बुबाको कान्छा काका, काकी, वहाँका दुई छोरा र दुवै छोराका परिवार बस्नुहुन्थ्यो । हजुरबुबाहरू दुई भाइमा जेठोको परिवार (हामी) मधेस र कान्छो हजुरबाको परिवार बोझेपुर्ख्यौली घरमा बस्दै आएको थियो । ढोगभेट,भलाकुसारी गर्ने काम भए । द्वितीया तिथिमा घरबाट हिँडेका हामी आज षष्टीका दिन पहाडको घरमै पुगेर बास बसियो । पाँच दिनको लगातार हिँडाईले सबैजना धेरै थाकेका थियौँ । भोलि सप्तमीको दिन आराम गर्ने र अष्टमीको दिन पाथिभरा जाने सल्लाह गरेर सुतियो ।

सप्तमीको दिन बिहानै उठेर सेती धारामा नुहाउन लिएर जानुभयो बुबाले । पहाडको जरूवा पानीको धारा, बिहानै भएकोले बाहिरी मौसम चिसो तर धाराको पानी तातो लाग्यो र नुहाएँ । तर नुहाई सकेपछि भने जाडोले काम छुट्यो । म त दाँत किटेर काम्न थालेँछु । बुबाले हतार हतार घरमा ल्याएर अँगेनाको छेउमा बसाएर आफैँ हात खुट्टा सेकाई दिनु भयो । फूलपाति भित्र्याउने, पूजा गर्ने काम सकेर खाना खाएपछि बुबाले फुङ्लिँग बजार घुमाउन लानु भयो । आमा र दिदी घरमै बस्नुभएकोले बुबा, म र पहाडको कान्छो काका (लेखनाथ भट्टराई) मात्र गयौँ । केहीबेर बजार घुम्न गएका हामी बजार पुगेपछि त बुबा भेटे जति सबैसँग गफ गर्न थाल्नु भयो । दस वर्ष पछाडिको भेट, बुबाका पुराना इष्टमित्रहरू सबै चिया खाउँ, बसौँ न केहीबेर भन्ने मात्र भेटिन्थे । हामी घर फर्किँदा करिब ४ बजेको थियो । भोलि बिहान अँध्यारै पाथिभरा जाने सल्लाह हिजै गरेको थियो र हाम्रो साथी काका लेखनाथ जाने कुरा भएको थियो । तर हामी बजारबाट फर्केर आउँदा स्थिति अर्कै भैसकेछ घरमा त । ब्लेडले नङ काट्न थालेकी दिदीले खुट्टाको बुढीऔँला गहीरो काटिछे । मधेसबाट पाथिभरा जान आएका हामी अब दिदी जान नसक्ने भई । आमाको भाकल, छोराछोरी भएपछि दर्शन गराउन ल्याउँछु भनेको तर आज काखैको छेउमा पुगेर पनि छोरी जान नसक्ने भएपछि आमा निकै खिन्न बन्नुभयो । सबैले आमालाई सम्झाए । “मधेसबाट पाथिभरा नै जाने भनेर आइयो, अब राधाले नसके पनि छोरो लिएर जाऊँ” बुबाले पनि भन्नुभयो । आमालाई बिहान जान राज़ी गराएर मात्र सबै सुत्यौँ तर दिदी निकै राति सम्म घुँक्क घुँक्क रुँदैथिई । मलाई नराम्रो लाग्दालाग्दै कतिबेला निदाएँ , बिहान “ए उठ्, जाने बेला भयो “ भन्दा मात्र थाहा पाएँ ।

करिब चार बजेको हुँदो हो, चिया र दूध चिउरा खाएर हामी चारजना पाथिभरा जान बाटा लाग्यौँ । “मधेसबाट पनि चार जना नै आएका थियौँ अहिले दिदीको ठाउँमा लेखनाथ काका भएर पुन: चार जनानै भइयो । आखिर ४ जना भएरै दर्शन गर्न जुरेको रहेछ , माताको इच्छा त्यस्तै रहेछ अनि हाम्रो के लाग्थ्यो र ?” फुङ्लिँग बजार काटेर सुकेटारको उकालो चढ्दै गर्दा बुबाले आमालाई भन्नुभयो । आमा अझै खिन्न हुनुहुन्थ्यो दिदी आउन नसकेकोमा । सुकेटार पुग्न करिब २ घन्टा लाग्यो । केहीबेर बसेर त्यहाँ रहेको एयरपोर्ट हेर्यौँ । विमान प्राय: बिहानै आउने रहेछ , “दिउँसो असाध्यै हावा चल्छ रे र बस्न सक्दैन रे “, लेखनाथ काका भन्दैहुनुहुन्थ्यो । जति उकालो जान्थ्यौँ उति चिसो बढ्दै थियो ।तल्लो फेदीमा पुगेर केहीबेर आराम गर्यौँ । बाटो त राम्रै थियो कतै माटाकै, कतै ढुंगा ओछ्याएको, हिँड्न त्यति कठिन भएको थिएन फेरि मधेसबाट आउँदाको चिनीको झोला पनि त थिएन । म हलुका रित्तो थिएँ र ?

सबैभन्दा अगाडि हिँड्दै थिएँ तर आमाको हिँडाई अलिक सुस्त थियो । मन खुसी नभएर पनि होला सायद ।

सबैभन्दा अगाडि हिँड्दै थिएँ तर आमाको हिँडाई अलिक सुस्त थियो । मन खुसी नभएर पनि होला सायद । “ म त बिहान बोझेबाट हिँडेर बेलुका बोझेमा नै सुत्न आइपुग्छु “ भन्दै हुनुहुन्थ्यो लेखनाथ काका । हामीसँग हिँड्दा सायद वहाँलाई पनि पट्यार लागेको थियो होला । साइकलको गतिमा मोटरसाइकलले हिँड्नु परे कति दिक्क मान्दो हो ? काकालाई त्यस्तै भएको हुँदो हो । तर हामीलाई हतार थिएन, बेलुका सम्ममा मन्दिर पुग्नुमात्र आजको लक्ष्य । माथिल्लो फेदीसम्म जसोतसो पुगियो तर ४ बज्यो त्यहाँ पुग्दै । अब अगाडि डबल घनघस्याको उकालो देखिन्छ ।सबैले एकएकवटा लौरा टेकेका छौँ । बाटोमा ढिलो हुनुमा जिम्मेदार हामी हिड्न नसक्नु चाहिँ होइन है , मुख्य कारण बुबा हो । बाटामा दर्शन गरेर फर्कनेहरू बुबाले नचिनेका र बुबालाई नचिन्ने विरलै भेटिन्थे । सबैसँग नमस्कार गरेर १/२ मिनेट बोल्दा पनि समय धेरै गैसकेको थियो । दसैको अष्टमीको दिन भएकोले पनि होला दर्शन गरेर फर्कनेहरू धेरैले टाउका बिनाका कुखुरा, परेवा, बोका बोकेर ओरालो झर्दै गरेका देखिन्थे ।

माथिल्लो फेदीबाट एक घन्टा उकालो चढेपछि मलाई अचानक टाउको दुखेर रिंगटा लाग्न शुरुभयो । “ ए लु लु केटालाई लेक लाग्यो, खोइ सातु निकाल्नु त भाउजु, सातु खुवाउनु पर्छ “ लेखनाथ काकाले यति भनेको थाहा छ , त्यसपछि व्यूँझदा म पाथिभरा शिरको एउटा पाटीमा बुबाआमाका बिचमा सिरक भित्र गुँडुलिएको थिएँ । मलाई लेखनाथ काकाले बोकेर पुर्याउनु भएछ माथिसम्म । म पनि ठिक भैसकेको थिएँ अब त तर चिसो धेरै भएकोले म सिरक ओडेर बसिरहेँ, बुबा र काकाले दाउरा खोजेर ल्याउनुभयो, आमाले खाना पकाउनु भयो, सबैले खायौँ । अँध्यारो भैसकेकोले गर्दा देवीको दर्शन बिहान मात्र गर्ने सल्लाह गरेर सुत्यौँ । सिमसिम पानी पनि पर्न थालेकोले जाडोको मात्रा पनि बढेको थियो ।

बिहानै सबैजना उठ्यौ । अरू मान्छेहरू पनि निकै त्यहीँ बास बसेका रहेछन् । पानीको चाहिँ धेरै समस्या रहेछ । मन्दिर भन्दा अलिक पर स-साना खाल्डा जस्ता बनाइएका रहेछन् जहाँ परेको पानी वा हिउँ पग्लेर जमेको पानी राख्ने गरिएको रहेछ यात्रीको सुविधाको लागि । नुहाउन भन्दा पनि छोइछिटो गर्ने ( तौलिया भिजाएर जिउ पुस्ने ) काम भयो । पिउनको लागि पानी तलै फेदीबाट बोकेर लगिँदो रहेछ । बिहानको नित्य कर्म सकेपछि बुबाआमा पूजा गर्न लाग्नुभयो । म काकासँग थिएँ । आश्विनको दिन शरद् ऋतु भए पनि चिसो पुसमाघ जस्तै थियो । जति लुगा लगाएपनि जीउ नतात्ने । तर पनि फेरि लेक चाहिँ लागेन । लगभग उज्यालो हुँदा बुबाले पूजा सक्नुभयो । सबैले माता भगवतीको दर्शन गर्यौँ । राति परेको सिमसिमे पानीले सबै आकाश पखालेर सफ़ा बनाएको रहेछ । पूर्वतिरबाट दिवाकर चियाउँदै रहेछन् , तर सविता देखिनु पूर्व नै कञ्चन्जङ्घा र कुम्भकर्णले सूर्योदयको आभास गराए सुनौलो टल्किएर । प्रेम विवाहकी दुलही जस्ती देखिए हिमालहरू , घुम्टो ओडेकी तर नलजाईकन हाँसिरहेकी । हामी पाथिभराको शिरमा थियौँ त्यहाँबाट कञ्चन्जङ्घा र कुम्भकर्णको बिचमा सम्म मैदान जस्तो सेतो देखियो कुहिरोले छोपेर मानौ बिचमा कुनै पहाड नै छैनन् र पर हाम्रै उचाईका जस्ता लाग्ने हिमालले हामीलाई अँगालो मारिरहेछन् । साँच्चै मनोरम दृष्य थियो त्यो । अहिलेको प्रविधि भए कति सेल्फी हानिन्थ्यो होला । मलाई देवीको दर्शन गर्दा पनि केही छुटेको आभाष भएको थिएन तर अहिलेको यो आह्लादकारी दृष्यपान गर्नबाट दिदी छुटेकोमा निकै नमज्जा लाग्यो । यसरी रमाइलो लाग्दा लाग्दै पनि हामी ओरालो लाग्यौँ र बेलुका साँझसाँझ पर्दा बोझे घरमा आइपुग्यौँ नवमीको दिन बेलुका । भोलि त टिकाको दिन !!

टिकाको बिहान साइतकै समयमा काकाहजुरबुबा र काकीहजुरआमाको हातबाट टिका लगायौँ । बुबा आमाले पनि पहाडको काका काकीहरूलाई लगाइदिनु भयो । त्यसपछि सबै केटाकेटीहरूले वहाँहरूबाट टीका लगायौँ । दशमीको दिन दसपल्ट दस थोक खानु पर्छ भन्दै दही चिउरा केरा, सेल रोटी,अचार, तरकारी आदि विभिन्न परिकार आमा काकीहरूले दिनुभयो । खाएर केहीबेर बस्दैथियौँ, तीनधारेबाट चम्पादिदीहरू टिका लगाउन आउनु भयो । त्यसपछि बुबा आमा सहित हामी तारिबुंगमा जेठाबा ( जगन्नाथ भट्टराई) को घरमा टिका लगाउन गयौँ । उता टिका लगाएर बेलुका बोझे फर्कियौँ । एकादशीको दिन चारगाउँ दिदी ( हजुरबुबाकी दिदी) लाई भेट्न गयौँ । द्वादशीको दिन बोझेबाट बिदा भएर खोदुम्बू बुबाको मावली गाउँ गयौँ ।

बुबा ३ वर्षको उमेरदेखि नै मावल बस्नु भएको रहेछ , त्यसैले बुबाको लागि बोझे भन्दा खोदुम्बू प्यारो लागेको कुरा वहाँको व्यवहारबाट लाग्दथ्यो । बुबाको मावलको हजुरआमा (आमै) अहिले पनि हामीसँगै हुनुहुन्थ्यो जसलाई घरमा छोडेर हामी पहाड आएका थियौँ । खोदुम्बू पुगेपछि एउटा ठूलो ढुंगामा पुगेपछि बुबा आमा दुबै रोकिनु भयो, अनुहारमा आश्चर्य, पीडा र वेदना एकैपल्ट आँखाबाट बर्सिए । दिदी र म बुबाआमालाई हेरिरह्यौँ । के भयो अचानक ? किन रुनुभयो दुवै ? केही बुझ्न सकेनौँ । आमाले दिदी र मलाई समातेर छातीमा टाँस्नु भयो र माता पाथिभरालाई धन्यवाद दिनुभयो । बुबाले भन्नुभयो “ यही ढुंगो भएको ठाउँमा हाम्रो तीनतले वरिपरि बरन्डा भएको घर थियो, हामी मधेस जाने भएपछि बनाउँदा लागेको भन्दा सस्तो दाममा बेचेर गएका थियौँ २०२८ सालमा । तर २०३४ सालमा पहिरो आएर हाम्रो घर किन्नेका परिवारका ६ जनालाई घर सहित पुर्यो । पाथिभरा माताको कृपाले हामी मधेस गएर बाँच्यौ नत्र त्यो पहिरोमा हामी मर्ने थियौँ “। त्यो सुनेपछि मेरा त खुट्टा थरर कामेछन् । आमाको अँगालोमा थिएँ तर डरले सुसु झरेछ । फेरि पहिरो आए जस्तो लागेर रुन थालेँछु म त । बेलुका थरी साइँला बाको घरमा बास बस्यौँ । दिउँसोको घटना सम्झेर सबै हाँस्नु भयो । दिदी मलाई गिज्याउँदै थिई ।

आमाले दिदी र मलाई समातेर छातीमा टाँस्नु भयो र माता पाथिभरालाई धन्यवाद दिनुभयो ।

त्रयोदशीको दिन बन्चरे भीरको बाटो खोक्से तरेर नाङ्खोल्याङ गयौँ यानिकी बुबाको मावल गाउँबाट हाम्रो मावल गाउँ । नाङ्खोल्याङमा अझै आमाका काका काकीहरू हुनुहुन्थ्यो । यता उता टिका लगाएर बेलुका आमाका साहिँला काकाका घरमा बसियो । चतुर्दशीको दिन बिहानै साइतको टिका लगाएर आमाको मावली गाउँ ह्वाकु तिर लाग्यौँ । समय छँदै ह्वाकु पुगियो र टिका आशीर्वाद लिने काम गरियो । पूर्णिमाको दिन ह्वाकुमै बस्यौँ र दिउँसो जल्दिबिर ( जुनार जस्तै) पेलेर अमिलो निकालियो । प्रतिपदाको दिन ह्वाकुबाट हिँडेर चारदिनमा सकुशल चारआली स्थित घरमा आइपुगियो । मेरो जीवनमा पहिलो दसैँ टिका आमै बिनाको भयो ।

किन किन न्यास्रो लागेर बेलुका म आमैसँगै सुतेँ ।

२०७७/७/२४, स्कटल्याण्ड ।

Logo