दसैँमा सम्पूर्ण परिवार सँगै हुन नपाउनु यौटा दुर्भाग्य नै हो भन्नुपर्ला । "/>

भगवानले सबै कुरा हेरिरहेका छन् यदि भने पक्कै पनि मेरा छुटेका दसैँहरूको हिसाब माग्नेछु

भगवानले सबै कुरा हेरिरहेका छन् यदि भने पक्कै पनि मेरा छुटेका दसैँहरूको हिसाब माग्नेछु


  • दीपिका भुसाल

दसैँमा सम्पूर्ण परिवार सँगै हुन नपाउनु यौटा दुर्भाग्य नै हो भन्नुपर्ला । लामो समय भयो यो वैदेशिक रोजगारीको कारण न मान्यजनबाट टिका र आशीर्वाद ग्रहण गर्न पाइयो न आफ्ना सन्तानलाई टिका लगाएर आशीर्वाद दिन पाइयो । यौटा नमिठो र खल्लो सम्झना बनेर बित्छन् सबै दसैँहरू । जति जति दसैँ नजिकिँदै जान्छ उति उति मन अमिलो हुँदै जान्छ । छोरीले ममी कहिले आउने भनेर सोध्दा दिने जवाफ पनि हुँदैन । आफन्तले कहिले फर्कने ? दसैँमा पनि न आउने ? भनेर गरेको प्रश्नको पनि जवाफ हुँदैन । खालि जवाफ विहीन प्रश्न बोकेर मात्र आउँछ दसैँ परदेशीका लागि ।

 

रहरले त को यसरी परदेशमा बस्थ्यो होला र दसैँमा । सबैका आफ्ना आफ्ना बाध्यताहरू छन् । सबैका आफ्ना आफ्ना सपनाहरू छन् जसलाई पुरा गर्न के रात के दिन के पर्व के रमाइलो सबै छोडेर मेहनत गर्न परिरहेको छ । म एकान्तमा सोच्ने गर्छु – माथि भगवान् बसेका छन् र सबै कुरा हेरिरहेका छन् यदि भने पक्कै पनि मेरा छुटेका दसैँहरूको हिसाब राखेका होलान् । परिस्थितिले निर्ममता पूर्वक खोसेका उमङ्गहरू एक न एक दिन फिर्ता पाइन्छ पक्कै भन्ने आशामा सबै दसैँलाई सकेसम्म नरोएरै मनाउने कोसिस भने गरिरहेका हुन्छन् सबै परदेशी हरूले ।

प्रवासको बसाइ झन्डै पन्ध्र वर्ष भयो । पर्वहरूमा परदेशमा एक्लै रहनुपर्दाको पिडा शब्दमा उतार्न सकिन्छ जस्तो लाग्दैन मलाइ । त्यसमाथि दसैँको कुरै बेग्लै । हामीहरू सानै देखि दसैँ तिहार लगातार बिदा मनाउने बानी परेका मान्छे यहाँ परदेशमा टिकाको दिनमा समेत ड्युटी गर्नुपर्ने बाध्यता हुन्छ । केही डलर थप कमाउने सानो आशामा दसैँ जस्तो पर्वलाई मनको कुनै कुनामा थन्क्याएर काममा घोटिन पर्नु जस्तो अवस्थालाई कसरी बयान गर्नु र ।

विगतका पन्ध्र सोह्र वटै दसैँमा कुनै पनि दसैँ सोचेजस्तो तरिकाले मनाउन पाइएन । खासमा दसैँ र हाम्रो राष्ट्रिय पर्व हो । असत्य माथि सत्यको विजय भएको पर्व विजया दशमी । वर्ष भरिको काम पश्चात् पाएको फुर्सदको समयको पर्व । मान्यजन आफन्त सँग टिका थापेर आशीर्वाद ग्रहण गर्ने पर्व । वर्ष भरी अलग भएर बसे पनि दशैले सबैको पुनर्मिलन गराउने पर्व । वर्ष भरिका दुख बिर्सिएर सुखका कुराहरू आदान प्रदान गर्ने पर्व, अझ मनमा भएका सबै क्लेश र शत्रुता भुलेर सबैलाई अँगाल्ने सबैलाई माफ गर्ने पर्व- यो हरेक वर्ष आउने र हरेक पल्ट अविस्मरणीय बनेर सबैको मनमा बस्ने दिन पनि हो ।

तर प्रवासको बसाइमा दशैका स्मृतिहरू केही फरक हुन्छन् । जवजव दसैँ आउँछ घर परिवारको सम्झना पनि त्यसै त्यसै उर्लेर आउँछ । मान्यजनहरूको न्यास्रो र छोरीहरूको यादले त्यसै त्यसै घोचिरहन्छ । एक किसिमको खालीपन र अधुरो अधुरो लागेजस्तो हुने पर्व पनि परदेशीलाई रुवाउनको लागि मात्रै आएजस्तो । एक्लोपन सम्झाइदिएर ‘तँ एक्लै छस्’ भन्ने जानकारी दिएर दुखाएर जानको लागि मात्र आएजस्तो लाग्ने परदेशीको दसैँ ।

फेरि पनि हामीले विदेश बसाइकै अवस्थामा पनि सकेसम्म पारिवारिक वातावरण मै दसैँ मनाउनको लागि आफ्नो तर्फबाट सक्दो प्रयास भने गरिरहेका हुन्छौँ ।

यहाँ पनि नेपाली समाज छ । यहीँ आएर सुख दुख बिसाउने आफन्त बनिएको र बनाइएको हुन्छ । दिदी बैनी दाजुभाइ बनेर मिलेर बसिएको हुन्छ । मेरो दिदी पनि केही वर्ष अगाडी सम्म यहीँ हुनुहुन्थ्यो र दाइ पनि नजिकै हुनुहुन्थ्यो । दसैँ तिहार लगायत पर्वहरू हामीले पारिवारिक रूपमै मनाउँदै आएका थियौँ ।

अहिले भने अवस्था अलि फरक छ । दिदी र दाइहरूले इजरायल छोडेपछि पहिला जस्तै वातावरण त छैन फेरि पनि मलाइ अत्यधिक माया गर्ने दिदीहरू हुनुहुन्छ जसबाट मैले आमाको जस्तै माया पाउँछु । आफ्नै आमा नभए पनि यो प्रदेशमा दिदी हरूले देखाएको त्यो मायाले माइतीको न्यास्रो मेटाउँछ । मेरा मैले अत्यन्तै माया गर्ने बैनीहरू पनि छन् । दाजुहरू हुनुहुन्छ जसले अत्यन्तै सम्मान पूर्वक चेलीहरू लाई दसैँ तिहार जस्ता पर्वहरूमा एक्लै भएको महसुस नगरुन् भनेर बोलाउनुहुन्छ र आशीर्वाद दिनुहुन्छ । हामी भेला हुन्छौँ एक आपसमा रमाइलो गर्छौँ र टिका, जमरा र दक्षिणा  आशीर्वाद थाप्छौँ र  मनाउँछौँ प्रवास को दसैँ । यसरी नै रमाइलो स्मृति बनेर बस्छन् हरेक वर्षका दसैं हरू ।

हामीले पहिला पहिला दसैँ विशेष सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गर्थ्यौँ । नेपालबाट लोकप्रिय कलाकारहरू बोलाएर मनाएका दसैँका  बेग्लै खाले सम्झनाहरू छन् । त्यो पनि हामीले आपसमा मिलेरै गर्ने गरेका थियौँ । जसरी हुन्छ परम्पराको जगेर्ना हुने गरी नै हामीले मान्यजन सँग टिका र आशीर्वाद ग्रहण गर्दै दसैँ  पर्व मनाउँदै आइरहेका छौँ । नेपालमा रहनु भएका मान्यजनको सामिप्यता र आशीर्वाद  मोबाइल बाट साट्दै यहाँ जो जुन अवस्थामा छौँ त्यहाँ बाट फुर्सद निकालेर मनाइएका सबै वर्षका दसैँ हरू सम्झन योग्य छन् ।

अहिले भने अवस्था  फेरिएको छ । कोरोनाको कारण यो वर्ष विदेशमा पनि कोही साथी या मान्यजन सँग भेटेर टिका लगाउने मौका मिल्दैन जस्तो छ । सबैभन्दा पहिला स्वास्थ्यको  ख्याल गर्नुपर्‍यो । त्यसपछि कामको अनि मात्र दशैको पालो आउँछ । समय दुरुस्त रह्यो भने पक्कै पनि अब प्रवासको बसाइ छोटिन्छ कि भन्ने आशा छ ।  नेपाल फर्केपछि आफ्ना सन्तान सँग दसैँ  मनाउने दिन नजिकिँदै छ भन्ने अनुभवले यो वर्षको दसैँ पनि रमाइलै होला भन्ने अपेक्षा गरेकी छु।

 

 

 

Logo