अधिकारवादीहरुको निशानामा बालेन, नेताहरुको दौडधुपले पनि पास भएन टीआरसी विधेयक [भिडियाे]

अधिकारवादीहरुको निशानामा बालेन, नेताहरुको दौडधुपले पनि पास भएन टीआरसी विधेयक [भिडियाे]

केन्द्रबिन्दु
98
Shares

टीआरसी विधेयक आइतबार पनि कानून समितिबाट पारित हुन सकेन

सरकारले समय मागेपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी ) विधेयक आइतबार पनि कानून समितिबाट पारित हुन सकेन।

लगातार छलफल सार्दै उक्त विधेयकमाथि अब आगामी बैठकमा पुनः बहस हुने भएको छ। बैठकपछि एमाले सचेतक महेश बर्तौलाले सरकारले एक दिन समय मागेकाले विधेयक पारित नभएको बताए। तर कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि एमालेले समय मागेकाले विधेयक पारित नभएको बताए।

यसरी दलहरुबीच हानाथाप चल्दा टीआरसी विधेयक लामोसमयदेखि थन्किएको छ। आज बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गरेका थिए।

अधिकारवादीहरुले मेयर बालेन शाहलाई तानाशाही, निरंकुश छवि परित्याग गर्न गरे अनुरोध

अधिकारवादीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तानाशाही, निरंकुश छवि परित्याग गर्न अनुरोध गरेका छन्। उनीहरूले सडक व्यापारी नागरिकहरू विरूद्ध महानगरका अधिकारीबाट श्रृंखलाबद्ध ज्यादती हुँदै आएको उल्लेख गरेका छन्।

‘संघीय राजधानी सहर प्रमुख तपाईं सबैभन्दा बढी उदार लोकतान्त्रिक हुनुपर्ने हो। तर सरोकारवालाहरूसँग परामर्शका सबै ढोका बन्द गर्दै आएको र आफ्नो कार्यशैली र व्यवहारबाट अलोकतान्त्रिक छवि स्थापित गर्दै लगेको सन्दर्भमा तपाईंसँग हाम्रो सन्देश पुर्याउन यो खुलापत्रको सहारा ल्याएका छौं,’ उनीहरूले पत्रमा उल्लेख गरेका छन्। गत फागुन १६ गते साँझ काठमाडौंका नगर प्रहरी र व्यापारीहरूबीच सुन्धारा क्षेत्रमा झडप भएको थियो।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसद आइतबार विदा

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसद आइतबार विदा भएका छन् । राष्ट्रपतिबाट निर्वाचित मनोनीत एकसहित राष्ट्रिय सभाका २० सांसदको पदावधि आजबाट सकिएको हो।

२०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको राष्ट्रिय सभाको निर्वाचनबाट ५६ जना सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए ।

उनीहरुको गोला प्रथाबाट २ वर्ष, ४ वर्ष र ६ वर्ष गरी ३ प्रकारको कार्यकाल तय गरिएको थियो। २ र ४ वर्ष कार्यकाल पूरा गरेकाहरू बिदा भइसकेका छन् भने ६ वर्ष कार्यकालको समय पाएका २० सांसद पनि आइतबारबाट बिदा भएका हुन् ।

कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको ओलीकाे आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको गम्भिर आरोप लगाएका छन् । आइतबार संसद् भवनमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले नेपालमा भएका केही उद्योगहरूलाई पनि निजीकरणका नाममा कांग्रेसले जमानामै सकिदिएको जिकिर गरेका हुन्।

कांग्रेसले नेपालमा भएका उद्योगहरूलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको ओलीको आरोप छ । उनले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज कारखाना चलाउनका लागि नकिनिएको पनि बताए ।

बालिका हत्याकाे दोषीलाई कानूनी दायरामा ल्याउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गर्याे सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

यता त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा भने बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको र झुण्डिएर मृत्यु भएको रिपोर्ट प्राप्त भएको चितवन प्रहरीले जनाएको छ ।

संघीय निजामती सेवा विधेयकले अन्तिम रुप पायाे

संघीय निजामती सेवा विधेयकले अन्तिम रुप पाएको छ। मन्त्रिपरिषदबाट पास भएको विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सामान्य प्रशासन मन्त्रालयमा आइपुगेको हो।

मन्त्रालयका एक अधिकारीका अनुसार अहिले विधेयक संसदमा पठाउनुअघि विधेयक ल्याउनुको उद्देश्य, कारण र प्रस्तावना लेख्ने काम भइरहेको छ। २२ भदौमा मनाइने निजामती सेवा दिवसको दिन विधेयक संसदमा पेश गर्ने निर्णय भएको थियो।

दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी बहिरोपनको समस्यामा

दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी बहिरोपनको समस्यामा रहेको पाइएको छ। वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठका अनुसार नेपालमा करिब १५.५ प्रतिशत मानिसमा बहिरोपनको समस्या छ।

३५ डेसिवल भन्दा कम सुन्ने मानिसलाई बहिरोपन भएको भनिन्छ। नेपालमा हुने अपाङ्गतामध्ये सबैभन्दा बढी बहिरोपनका रहेका उनको भनाइ छ । विश्वमा करिब ४६ करोड मानिस बहिरोपनको समस्यामा छन् ।

कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिका भवन राष्ट्रिय सभा गृहअगाडि आइतबार गरे प्रदर्शन

कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिका भवन राष्ट्रिय सभा गृहअगाडि प्रदर्शन गरेका छन्। आइतबार दिउँसो कवाडी व्यवसायीहरूले ‘गरिखान देऊ’ भन्दै प्रदर्शन गरेका हुन्।

महानगरले कवाडी व्यवसायीहरूमाथि दमन गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। महानगरले कवाडी संकलन गर्न बनाइएका संरचनामा डोजर चलाएको थियो। महानगरले कवाडी संकलन केन्द्र हटाउन निर्देशन दिएको थियो।

हप्ताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से घट्याे

हप्ताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से २८ दशमलव ६८ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ विन्दुमा झरेको छ।

आज ७४ लाख ४६ हजार नौ सय कित्ता शेयर दुई अर्ब ५९ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

अमेरिकाले पहिलो पटक हवाईमार्गबाट गाजा क्षेत्रमा राहत सामग्री पुर्यायाे

अमेरिकाले पहिलो पटक हवाईमार्गबाट गाजा क्षेत्रमा राहत सामग्री पुर्याएको छ। अमेरिकाले जोर्डनसँगको समन्वयमा तीन वटा सैन्य विमान मार्फत खानाका ३८ हजार पोका पुर्याएको बीबीसीले जनाएको छ ।

गएको बिहीवार गाजामा राहत सामग्री लगिरहेका ट्रकलाई पीडितहरुले रोक्न खोज्दा भएको आक्रमणमा एक सय १२ जनाको ज्यान गएपछि अमेरिकाले हवाईमार्गबाट राहत सामग्री पुर्याएको हो।

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० सिरिजको उपाधिको लागि अब घरेलु टोली नेपाल र नेदरल्यान्ड्स भिड्ने

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० सिरिजको उपाधिको लागि अब घरेलु टोली नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन्। नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल आज वर्षाका कारण स्थगित हुँदै अंक बाँडिएपछि नेदरल्यान्ड्स फाइनलमा पुगेको हो। नामिबिया भने बाहिरिएको छ।

अंक तालिकामा नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा नेपाल ४ खेलमा ४ अंक जोड्दै फाइनल पुग्यो। नामिबियाले ४ खेलमा ३ अंक मात्रै प्राप्त गर्यो। अब नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुनेछ।

Logo