रास्वपाको मिसन अब ‘एकलौटी सरकार’, माधवलाई प्रधानमन्त्री नसुहाउने ओलीको कटाक्ष[भिडियोसहित]

रास्वपाको मिसन अब ‘एकलौटी सरकार’, माधवलाई प्रधानमन्त्री नसुहाउने ओलीको कटाक्ष[भिडियोसहित]

केन्द्रबिन्दु
56
Shares

२०८४ मा एकलौटी सरकार बनाउने रास्वपा मिसन
इलाम-२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएपछि पार्टीको आगामी बाटोबारे नेताहरु छलफलमा जुटेका छन्। माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका भएपछि रास्वपाले नयाँ रणनीति तय गर्न देशभरबाट सुझाव लिने तयारी गरेको हो। २०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने तयारीका साथ रास्वपा जेठको दोस्रो हप्ताबाट देश दौडाहामा निस्कन लागेको हो। एक बर्षअघि भएको प्रतिनिधि सभा उपनिर्वाचनमा दुई जित हासिल गरेको रास्वपा यस पटक कमजोर सावित भएपछि समीक्षा गर्नुपर्ने पनि अवस्थामा छ।

काठमाडौं महानगरको सीप मेलामा प्रशिक्षण लिनेको संख्यामा उत्साह
काठमाडौं महानगरपालिकाको सीप मेलामा प्रशिक्षण लिनेहरुको संख्यामा उत्साह छाएको छ। तालिमका लागि २ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो। अनलाइनबाट फाराम भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो। लिइएका आवेदनमध्ये अनलाइनबाट करिब पाँच हजार जनाले फाराम फरेको साथै वडाहरुबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको संख्या १० हजार बढी रहेको पाइएको हो। वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइनेछ।

प्रधानमन्त्री खान नपाएर माधवले हर्याकहर्याक गरिरहेको अध्यक्ष ओलीको टिप्पणी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै प्रधानमन्त्री खान नपाएर हर्याकहर्याक गरिरहेको टिप्पणी गरेको छन्। एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री बनाउन लागेको तम कहीँ पनि देख्दिनँ, उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने। अरुले मन पराएका छैनन् भन्ने कस्तो नथापाको। गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो।’

अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो छैन: प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो नभएको टिप्पणी गरेका छन्। उनले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित कांग्रेस सरकार चाँडै निर्माण हुने विश्वास व्यक्त गरे। ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ। यसकै कारणले यसको आयु चाँडै टुङ्गिनेवाला छ। र चाँडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चहान्छु ’ उनले भने।

सुदूरपश्चिम प्रदेश: विश्वासको मतका लागि बोलाएको बैठक बस्न सकेन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाएको आजको प्रदेशसभाको बैठक पनि स्थगित गरिएको छ। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल काठमाडौं आएपछि आज अपराह्न ५:३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो। एमालेले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने र नपाउनेमा अझै स्पष्ट हुन सकेको छैन। यता नेपाली कांग्रेसले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको छ।

आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्रधानमन्त्री प्रचण्डको चिन्ता
सत्तारुढ माओवादी केन्द्रको संसदीय दलको १०औं पूर्ण बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ। बैठकमा दलका नेता एवं प्रधानमन्त्री प्रचण्डले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो राख्दै दलका मन्त्रीहरुलाई निर्देशन दिएका थिए। विशेषगरी उत्पीडित र गरिब वर्गलाई ध्यानमा राख्दै सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा बजेट निर्माणमा उनले जोड दिएका छन्।

बाबुराम भट्टराईको पार्टीले काठमाडौंमा प्रदर्शन गर्ने
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले देशभर बढेको वायु प्रदर्शन नियन्त्रणका लागि पहल गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। केही दिनयता संघीय राजधानी काठमाडौंसँगै देशभर वायु प्रदर्शन बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेसपाले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो। यसमा सरकारको उदासीनता देखिएको उनीहरुको भनाई छ।

नेपालका पाँच वटा नदी प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने
नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ। विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो। स्थानीय तहहरुका लागि प्लास्टिकजन्य फोहर व्यवस्थापन चुनौती बनेकाले यस अभियान सञ्चालन गरिएको बताइएको छ।

काठमाडौँ महानगर विद्युत् प्राधिकरण आमने सामने
तार भूमिगत परियोजनाले सडकमा जथाभाबी खाल्डा खनेर बेवारिसे पारेको भन्दै काठमाडौँ महानगरपालिका र विद्युत् प्राधिकरण आमने सामने भएका छन्। महानगर प्रहरीको टोलीले तार भूमिगत गर्ने ठेक्का पाएको कम्पनीका कामदार धरपकड गरेपछि काम रोकिएको बताएको छ। यस्तै महानगर प्रहरीले भने प्राधिकरण मातहत भइरहेको तार भूमिगत आयोजनाले सडकमा जथाभाबी खाल्डा खनेर अलपत्र पारेको आरोप लगाएको छ। जथाभाबी खाल्डाखुल्डी खन्ने, सडक भत्काएर धुलो उडाउने गरेको जनगुनासो बढेपछि महानगर एक्सनमा उत्रिएको हो।

भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु
उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ। नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–विराटनगर उडान थालेको हो। बन्द भएको छ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन्। भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई विराटनगरका लागि शुभकामना दिएका थिए। काठमाडौँबाट आएको निगमको जहाजले नौ जना यात्रु लिएर विराटनगर उडेको हो। वायुसेवा निगम भोजपुरले भोजपुर–विराटनगर भाडा रु चार हजार २९ कायम भएको जनाएको छ।

हमासको प्रतिनिधिमण्डल इजिप्टको कायरोमा
इजरायलसँग युद्धविरामका लागि छलफल गर्न हमासको प्रतिनिधिमण्डल इजिप्टको कायरो पुगेको छ। तीन चरणमा युद्धविराम गर्ने प्रस्तावसहित इजिप्टले हमास र इजरायल दुवैलाई वार्ताको लागि सहमत गराएको हो। गाजामा युद्ध रोक्न सक्ने इजिप्टको ग्यारेन्टी पाएपछि हमासले वार्ता टोली पठाएको खबरमा उल्लेख छ। इजरायल र इजिप्टले अब पनि हमासले युद्धविरामको सम्झौता नगरेमा गाजाको अवस्था झनै भयावह हुने चेतावनी दिएका छन्।

अन्तिम खेलमा घरेलु टोली नेपाल विजयी
घरेलु टोली नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा ६ विकेटको सानदार जित हात पारेको छ। हुन त योसँगै शृङ्खलामा वेस्ट इन्डिज ३–२ ले जित दर्ता गरेको छ। तर, नेपालले आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदानमा सुखद् अन्त्य गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको १७३ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १८ दशमलव ५ ओभरमा पूरा गरेको हो। १० वर्षपछि आईसीसी टी–२० विश्वकप खेल्न लागेको नेपाली टोली आजै वेस्ट इन्डिज जाँदैछ। विश्वकपअघि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीले वेस्ट इन्डिजमै अभ्यास गर्नेछ।

Logo