मेयर बालेन कान्स फिल्म फेस्टिभलमा, प्रचण्डको पेलानले बाहिरियो जसपा[भिडियोसहित]

मेयर बालेन कान्स फिल्म फेस्टिभलमा, प्रचण्डको पेलानले बाहिरियो जसपा[भिडियोसहित]

केन्द्रबिन्दु
70
Shares

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन मेयर बालेन उडे फ्रान्स
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन्। उनी आज राति व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्सालसहति फ्रान्सतर्फ प्रस्थान गर्दैछन्। कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा त्यता जान लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउनेछन्। कान्सका मेयरले बालेनलाई पठाएको निम्तो पत्रमा फेस्टिभल फिल्मको क्रिएटिभ सहरलाई एकठाउँमा ल्याउने अवसरको रुपमा उल्लेख गरेका छन्। त्यस क्रममा मेयर बालेनले अन्य कार्यक्रममा पनि सहभागिता जनाउनेछन्।

जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो
जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएसँगै सरकारबाट समर्थन पनि फिर्ता लिएको हो। पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल संघ सरकारबाट बाहिरिएको हो। जसपा नेपाल फुटाउन राज्य नै लागेको नेताहरुको आरोप छ। जसपा नेपालले आजै नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन्। यो मुद्दा सर्वोच्च अदालतमा २ जेठमा सुनुवाइ हुनेछ।

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिनुपर्ने
सोमबार सत्ता गठबन्धनमा रहेको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिनुपर्ने भएको छ। जसपाको उक्त निर्णयले गर्दा प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिनुपर्ने भएको हो। प्रधानमन्त्री प्रचण्डले पहिलो पटक २०७९ पुस १० गते , दोश्रो पटक २०७९ पुस २६ गते र तेश्रो पटक २०८० फागुन ३० गते विश्वासको मत लिएका थिए। संविधानको धारा १०० को उपधारा (२)मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत बरालको राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन– २ का सांसद रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिएको बुझिएको छ। गत वर्ष साउनमा लामिछानेले भ्याकेन्सी आह्वान गरेर सीईओको छनोट गरेका थिए। बरालसँग लामिछानेको एक वर्षको कार्यसम्पादन सम्झौता थियो। तर, आफूलाई दिइएको सबै जिम्मेवारी सम्पादन गरेर सम्झौताभन्दा तीन महिना अगाडि नै बराल बिदा हुन लागेका हुन्। उनले लामिछानेसँग आफ्नो व्यक्तिगत सम्बन्धमा कुनै विचलन नआएको पनि उल्लेख गरेका छन्।

वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने: अध्यक्ष नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने बताएका छन्। सोमबारदेखि सुरू पार्टीको पोलिटब्यूरो बैठकमा छलफलका लागि पेस भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले संसदभित्रका विभिन्न राजनीीतक दलहरू सम्मिलित समीकरणमा रहनु मोर्चा नभएको स्पष्ट पार्दै यसलाई तत्कालिक राजनीतिक सहकार्य मात्रै भएको तर्क गरेका छन्। तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता वा वाम एकता सम्भव नभएको निष्कर्ष निकालेका अध्यक्ष नेपालले अहिले एमाले र माओवादीसँगको सत्ता सहकार्य पनि फेरिन सक्ने निष्कर्ष निकालेका छन्।

अशोक राई नेतृत्वको जसपाबाट ३ जना मन्त्री
उपेन्द्र नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै नवगठित अशोक राई नेतृत्वको जसपाबाट ३ जना मन्त्री बन्ने भएका छन्। जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको नामअनुसार स्वास्थ्यमन्त्रीमा उपमहासचिवसमेत रहेका प्रदीप यादव रहेका छन्। यस्तै, स्वास्थ्यकै राज्यमन्त्रीमा हसिना खानको नाम रहेको छ। त्यस्तै, मन्त्रीको लिस्टमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई दिएको छ। तर, मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खालि गरेर मात्र उनको टुंगो लाग्ने बताइएको छ।

कोशीका मुख्यमन्त्री हिक्तमकुमारले प्रदेश सभाबाट पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री हिक्तमकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। कार्कीलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी जसपा नेपालका सांसदगरी ५७ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन्। आजको बैठमा कांग्रेसका सांसद उपस्थित थिएनन्। कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन्।

कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने अडान दोहोर्याइ रहेका बेला मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तालिका प्रकाशन गरेको छ। सरकार र प्रमुख प्रतिपक्षवीच यससम्बन्धमा कुनै सहमति नबने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका प्रभावित हुने आशंका गरिएको छ। आज रातिसम्म सबै दलहरुबीच सहमति जुटाउन सरकार लागिपरेको छ। सभामुख देवराज घिमिरेले आजै कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग संवाद गरेका छन्।

देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ। राष्ट्रिय मनसुन फोरमले आज आयोजिना गरेको सार्वजनिक कार्यक्रममा विभागका मौसमविदर््ँले धेरैजसो ठाउँमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको जानकारी दिए। साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ। यही अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ।

डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६ जनाको मृत्यु
वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ। वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६ जनाको मृत्यु भएको जनाइएको छ। लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बैंकहरूले वैशाख महिनाको तुलनामा जेठ महिनाका लागि ब्याजदर सामान्य घटाए
वाणिज्य बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार वैशाख महिनाको तुलनामा जेठ महिनाका लागि ब्याजदर सामान्य घटाएका छन्। वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा औषतमा ७ दशमलव १४ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले जेठ महिनामा औषतमा ७ दशमलव ०६ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका हुन्। यस्तै संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि औषतमा शून्य दशमलव ०७ प्रतिशत विन्दुले घटेको छ। यी मध्ये हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राख्ने भएका छन्।

नेप्से सोमबार २४ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ सय ९८ दशमलव ८९ विन्दुमा
शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ सय ९८ दशमलव ८९ विन्दुमा पुगेको छ। आज फाइनान्स, होटल, उत्पादन, निर्जीवन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा, बैंकिङ, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ। आज तीन सय २० वटा कम्पनीका ९५ लाख ४१ हजार कित्ता शेयर तीन अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ।

केजरीवाललाई पदबाट हटाउन माग गरेको रिट सर्वोच्च अदालतले खारेज गर्यो
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पदबाट हटाउन माग गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। मदिरा नीतिमा नीतिगत भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेपछि केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गर्दै रिट परेको हो। पक्राउ परेपछि केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिन अस्वीकार गरेका थिए। अब केजरीवाललाई जेलमै रहेर पनि मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने बाटो खुलेको छ।

युएईसँगको खेल दशरथ रंगशालामा नहुने
फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेल दशरथ रंगशालामा नहुने भएको छ। समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदानमा युएईसँग खेल्ने तालिका छ। तर एसियाली फुटबल महासंघले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाउँदै घरेलु मैदानमा खेल नहुने जानकारी दिएको हो। अब एएफसीले तोकिएको समयसीमाभित्र न्युट्रल भेन्यू नभए नेपालले यूएईसँगको होम म्याच गुमाउने छ भने नयाँ भेन्यू फिफाले नै खोज्नेछ। यसअघि मैदानकै अवस्थाका कारण ८ चैतमा बहराइन विरुद्ध दशरथ रंगशालमा हुनुपर्ने होम म्याच पनि नेपालले गुमाएको थियो।


Logo