काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका विभिन्न ठाउँमा पछिल्लो १२ घण्टामा भारी वर्षा भएको मापन गरिएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
हाल बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।





























प्रतिक्रिया