यतिबेला विश्व समुदाय विषम् परिस्थितीबाट गुज्रिरहेको छ । कोरोना भाइरसको कारण विश्वकै पर्यटन, व्यापार, अर्थतन्त्र तहसनहस भएको छ । जसबाट नेपाल पनि अछुतो छैन । केही समय अघिसम्म पनि एकाध मानिसमा मात्र देखिएको यस भाइरसको सङ्क्रमण अहिले दिन दुई गुना रात चार गुना बढीरहेको छ । तर यसरी तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीबीच नेपालमा अर्को विपत्ती आइपरेको छ । त्यो हो नेपाल र भारतबीचको सीमा विवाद ।
केही समय अघि भारतले लिपुलेकहुँदै मानसरोबर जाने सडक निर्माण विस्तार गरेपछी यो बिषयले नेपालमा ठूलो रुप लिएको थियो । किनकी भारतले उक्त भूमी आफ्नो भएको र आफ्नो भूमिमा नै सडक बनाएको जिकिर गरेको थियो । जुन बयानलाई आधार मान्ने हो भने नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा पर्दछ । र यही कुरामा घोर असन्तुष्टी जनाउँदै नेपाल सरकारले बुधवार नेपालको नयाँ नक्सा सार्वजनिक गर्यो भने नक्सामा मात्र नभइ भूमी नै फिर्ता ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्यो । नेपाल सरकारको यस प्रतिबद्धता र नयाँ नक्साको नेपालीहरुले खुलेर स्वागत गरे ।
यसै निर्णयको समर्थन गर्दै लामो समयसम्म वलिउडमा अभिनय गरेकी चर्चित नेपाली अभिनेत्री मनिषा कोइरालाले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको ट्विट रिट्विट गरेकी थिईन् । जुन कुरा भारतीय मिडियालाई आँखाको छारो झैं भयो । र भारतकी अभिनेत्री भएर पनि नेपाललाई समर्थन गरेको भन्दै मसालेदार समाचारहरु बनाउन सुरु गरियो । तर उनीहरुले यति सोच्न सकेनन कि उनी आज जुन ठाउँमा छिन् त्यो उनको आफ्नो प्रतिभा र मेहेनतको कारणले मात्र छिन् । उनी कुनै नातावाद, कृपावादले त्यहाँ पूगेकी होइनन् भनेर ।
भारतीय मिडियाले मनिषामाथि गालीगलौजको वर्षा सुरु गरेपछी नेपाली कलाकारहरु उनको समर्थनमा उत्रिएका छन् ।
गायक प्रमोद खरेलले उनको पक्षमा ट्विट गर्दै लेखेका छन् ‘धेरै भारतीयहरु विश्वभरी काम गरिरहेका छन् । तर के उनीहरुले कहिल्यै भारतलाई समर्थन गर्न छोडेका छन् ? छैन । त्यसैगरी मनिषा कोइराला भारतमा काम गर्छिन् यसको मतलब यो होइन कि उनले आफ्नो राष्ट्रियता विर्सिनु पर्छ । नबिर्स कि उनी नेपालको प्रसिद्ध राजनीतिक परिवारकी सदस्य हुन् भनेर । एबिपि न्युज आगोमा घिउ थप्ने काम नगर ।’
त्यसैगरी अभिनेत्री पूजा शर्माले मनिषाको पक्षमा बोल्दै लेखेकी छिन् ‘भारतीय मिडियाले भारतीय जनताको मन जित्न सफल नायिका मनिषा कोईरालाले समेत नेपालको जमीन हो भन्दै नेपालको पक्ष लिइन के साच्चै लिम्पियाधुरा, लिपुलेक , कालापानी नेपालको हो त ? खास तथ्य सत्य के हो भनेर इतिहास केलायर समाचार बनाउने र खोजी गर्ने त्यति ठूलो देश भारत भरिनै कुनै मिडिया नै रहेनछ यो दुःखद कुरा हो । मनिषा दिदीले भारतको नुन भिख मागेर खानुभएको हैन आफ्नो कलाकारितामा उभियर खानुभएको हो मनिषा दिदीको योगदानलाई लत्याउदै उल्टै अपशब्द बोल्ने मिडिया प्रति टीठ लागेर आयो । नेपालीहरु काम र कर्मको सिलसिलामा सन्सारभर होलान तर जब देश र आफ्नो जमीनको कुरा हुन्छ तेतीबेला देशकै पक्षमा बोलीन्छ जन्मदिने आमालाई पराई ठानेर मेरै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न सकिदैन चेतना भया । अर्को दुःख यसमा लागेको छ की भारतीय मिडियाले नेपाल र मनिषा दिदीको बारेमा ठूलो ठूलो स्वरमा नानाभती भनीरहँदा नेपालका मिडियाहरुले खासै आवाज उठाउन सकेनन् ।’
इन्स्टाग्राममा एक स्टाटस लेख्दै गायिका इन्दिरा जोशीले मनिषा आफ्नो अद्भूत अभिनय क्षमताका कारण बलिउडमा थुप्रै योगदान दिएको र आफ्नो देशको पक्षमा बोलेर सही समयमा उचित कदम चाल्ने एक साहसी नारीका रुपमा चित्रण गरेको बताएकी छिन् ।
निर्माता दिपक राज गिरिले पनि एक भिडियोमार्फत आफूले २० वर्ष देखि काम गर्दै आए पनि आफूले मालिकलाई बाउ नभई बोस भन्ने गरेको भन्दै व्यङ्यात्मक अभिव्यक्ती दिदै साङ्केतिक रुपमा मनिषाको समर्थन गरेका छन् ।
त्यसैगरी चर्चित हाँस्य कलाकार अर्जुन घिमिरे(पाँडे)ले नेपाल सरकारले सबै भारतीय च्यानल बन्द गर्नु पर्ने बताएका छन् । आफ्नो भूमिको बारेमा ट्विटरमा सामान्य रुपमा कुरा राखेकै कारण नेपाली कलाकार मनिषा कोइरालामाथि ज्यादती गरेका कारण अब नेपालमा प्रसारण हुने सबै भारतीय च्यानल बन्द गर्नु पर्ने घिमिरेले बताएका हुन् ।
यस प्रसङ्गमा थुप्रै कलाकारहरुले स्टाटस लेखेर, भिडियो बनाएर र फोटो मात्रै भएपनि सेयर गरेर अभिनेत्री कोइरालाको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समर्थन गरेका छन् ।
उनकै समर्थनमा सामाजिक सन्जालहरुमा ह्यसट्याग आइ एम विथ मनिषा कोइरालाको ट्रेन्ड पनि सुरु गरिएको छ भने उनको फोटो सेयर गरी मैले श्रम बेचेकी हुँ, स्वाभिमान होइन भन्ने नारा लेख्ने ट्रेन्ड पनि भाईरल भएको छ ।





























प्रतिक्रिया