पटाया । नेपालको आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम थाईल्याण्डमा सम्पन भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विश्वकै एक आकर्षक पर्यटकीय गन्तव्य रहेको मुलुक थाईलाण्डमा हुकुम मल्टिमिडिया प्रा.लि ले अवार्ड कार्यक्रमकोे आयोजना गरेको हाे ।
द सिसन होटल पटायामा सम्पन्न अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले नेपालको मौलिकपन आदिवासी जनजाति चलचित्रमा रहेको हुँदा देशविदेशमा आदिवासी जनजाति चलचित्रलाई प्रवद्र्धन गर्ने यस्ता प्रकृतिको कार्यक्रम आयोजना हुन आवश्यक रहेको बताए । साथै उनले आदिवासी जनजाति चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा विशेष योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

हुकुम मल्टिमिडिया प्रा.लि.का अध्यक्ष डी.बी. बम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, युरो एसिया ग्योबलका प्रवन्ध निर्देशक सुमन अधिकारी, आदिवासी जनजाति चलचित्र महासंघका महासचिव पुर्खाजीत राई लगायत विभिन्न क्षेत्रका व्यक्तित्व एवं चलचित्रकर्मीहरूको उपस्थिति थियो ।
ज्योतिराज राई, पुस्कर लामा र छुल्ठिम गुरुङ रहेको निर्णायक समितिले विभिन्न विधामा उत्कृष्टहरू छनोट गरेका थिए । छनौट गरिएको उत्कृष्ट चलचित्र खै ओ मिथेवा, उत्कृष्ट निर्देशक चलचित्र भेडी गोठालेबाट गणेश गुुरुङ (सुवास), उत्कृष्ट अभिनेता चलचित्र देन्बा मायाबाट अमिर दोङ, उत्कृष्ट अभिनेत्री चलचित्र छार ग्यालामबाट सुनिता लुम्बाले अवार्ड पाए । यसैगरी उत्कृष्ट खलपात्र चलचित्र ल्हुइ ह्रोबाट ध्रुव सिंह तामाङ, उत्कृट नव अभिनेता चलचित्र मोङा डोङा २ बाट यमन माझी, उत्कृष्ट नव अभिनेत्री चलचित्र यारीबाट ज्योति राई, सह अभिनेता चलचित्र घ्रानबाट राम घिसिङ, उत्कृष्ट सह अभिनेत्री चलचित्र ल्हुई ह्रोबाट सन्च कुमारी तामाङ, उत्कृष्ट नव निर्देशक चलचित्र मार क्युबाट दिनेश गुरुङ, उत्कृष्ट सम्पादन चलचित्र निप्हुगालबाट सर्वमान शाक्य, उत्कृष्ट लेखन चलचित्र कर्मक्याबाट शंकर गुरुङ (बतासे), उत्कृष्ट छायाङ्कन चलचित्र स्वयनगुः बाट लुःजः सिं, उत्कृष्ट द्वन्द्व निर्देशक चलचित्र बज्रबाट सुरज श्रेष्ठ, उत्कृष्ट पाश्र्व संगीत चलचित्र म्ये क्युबाट शिव सुनुवार मुखिया र उत्कृष्ट बाल कलाकार चलचित्र क्युईबाट कुङगा छ्योइङ स्याङतान तामाङलाई अवार्ड प्रदान गरिएको थियो ।
साथै बेस्ट पपुलर अभिनेता सबिन श्रेष्ठ र नव प्रतिभा पुरुस्कार रिया गुरुङलाई प्रदान गरियो । चलचित्र विकास बोर्ड र आदिवासी जनजाति चलचित्र महासंघको सहकार्य रहेको कार्यक्रमलाई मरिण गाउँपालिका सिन्धुली, राईडर सेवा प्रा.लि.को सहयोग थियो ।































प्रतिक्रिया