काठमाडौं,
२५ मंसिरबाट पाँच दिनसम्म काठमाडौंमा पर्वतीय विषयवस्तुमा आधारित ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव–२०१९’ (किम्फ) आयोजना हुने भएको छ । काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने किम्फका १७ औं संस्करणमा २९ देशका ६६ वटा चलचित्रहरू प्रदर्शन गरिनेछन् ।
यस महोत्सवमा नेपाली पानारोमा अन्तर्गत १४ वटा लामाछोटा चलचित्रहरू चयन भएको आयोजकले जनाएको छ । नेपाली पानारोमामा सरला थापाको ‘ब्रिटेन्स लोन्ली गोर्खाज, गणेश पाण्डेको ‘सहश्रीमान्’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रूखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, प्रदर्शन हुनेछन् । यस्तै ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’जस्ता लघुचलचित्र पनि किम्फमा प्रदर्शन हुनेछन् । माफिल कोट्स (बेलायत), जेक्यू ली (कोरिया) र ग्याब्रियला कुह्न (पोल्यान्ड) सहितको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरू छनोट गर्नेछन् ।
महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ जित्ने किम्फका अध्यक्ष वसन्त थापाले जानकारी गराएका छन् । त्यस्तै, ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैरकथानक (ननफिक्सन) फिल्मलाई क्रमशः १ लाख र ७५ हजार रुपैयाँसहितको पुस्तकार जित्नेछन् ।
‘पछाडि पारिएकाहरूको आवाज’ नारासहित आयोजना हुन लागेको महोत्सवको उद्घाटनमा ‘द एसेन्ट अफ एभरेस्ट’ फिल्म प्रदर्शनी गरिनेछ । महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौडेलद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रर्दशन गरिनेछ ।
यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन गरिनेछन् । त्यसबाहेक महोत्सवमा तीनवटा स्विस फिल्महरूको विशेष प्रदर्शनी गरिनेछ । स्विस कथानक फिल्म ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ ।





























प्रतिक्रिया