‘अनमोल र मलाई फर्की फर्कीले पर्खिरहेको रहेछ’

‘अनमोल र मलाई फर्की फर्कीले पर्खिरहेको रहेछ’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सन २०१८ मा निर्माण भएको फिल्म ‘लिली बिली’बाट नायिकाका रुपमा नेपाली फिल्ममा पाइला चालेकी अभिनेत्री जसिता गुरुङले यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’ सम्म आइपुग्दा ‘लभ स्टेसन’ र ‘ज्याकीः आइ एम २१’ गरी चार फिल्ममा मात्र अभिनय गरेकी छन्।

उनी आफूलाई अभिनयमा ‘चुजी’ त मान्दिनन्, तर उनले अभिनय गरेको फिल्मको संख्यालाई हेर्ने हो भने ‘चुजी’ भन्दा फरक पर्दैन। ‘स्क्रिप्ट आउँदा सकेसम्म आफ्नो पात्र हेर्छु। उसको चरित्र हेर्छु। मलाई जति फिल्मका अफर आए, कुनैमा स्क्रिप्ट चित्त नबुझ्ने त कुनैमा समय नमिल्ने थियो। त्यसैले धेरै फिल्महरु छोडें’ उनले भनिन्।

जसिता अभिनेता अनमोल केसीका साथ फिल्म ‘फर्की फर्की’लाई लिएर दर्शकमाझ आउँदैछिन। अभिनयमा नआउँदासम्म उनी अनमोलको फ्यान थिइन, अनमोललाई सम्मान गर्थिन्। अहिले उनी अनमोलको अनस्क्रिन प्रेमिका भएर दर्शकमाझ देखिँदैछिन।
‘फिल्मको कन्सेप्ट आउँदा उत्साहित थिएँ। अनमोलसँग स्क्रिन शेयर गर्न पाउँदा झन खुशी थिएँ। यसअघि एक फिल्मका लागि अनमोलसँग काम गर्न अनुबन्धित भएकी थिएँ। तर फिल्म बनेन्। हामीलाई जोडी बन्न ‘फर्की फर्की’ ले पर्खिएको रहेछ,’ जसिता भन्छिन्।

उनले थपिन्,‘अनमोलप्रति मेरो रेस्पेक्ट पहिला र अहिले उस्तै छ। अनस्क्रिन जोडीका रुपमा स्क्रिन शेयर गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु।’

फिल्ममा जसिता साइरा गुरुङको भूमिकामा छिन। जो मिक्सोलोजिस्ट अर्थात् इभेन्टमा ‘ड्रिङ्क्स अर्गनाइज’ गरेर बनाउने काम गर्छिन। ‘म यूकेबाट नेपाल आएकी रिजर्भ, सफल र सिम्पल केटीको भूमिकामा छु। वास्तविक जीवनमा म लाउड देखिए पनि फिल्ममा त्यस्तो छैन’, जसिता भन्छिन्।

जसिता ‘फर्की फर्की’लाई खाना र बुकीसँग तुलना गर्छिन। ‘जसरी खानामा भेराइटी हुन्छ। फूलको बुकीमा पनि धेरै फूल हुन्छन, फिल्म ‘फर्की फर्की’ पनि त्यही हो। यसमा कमेडी, रोमान्स, फेमिली ड्रामा, जीवनमा आवश्यक पर्ने माया, सम्बन्ध, साथीत्वको कुरा सबै छ। टाइम ट्राभलको कथा भएकाले पनि दर्शकले नयाँ स्वाद पाउनेछन’ जसिताको दाबी छ।

फिल्मले जीवनमा राम्रो काम गर्दै गइयो भने जीवनको अन्त्य ढिलो चाँडै राम्रो हुने सन्देश दिने जसिता ठोकुवा गर्छिन्।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोलले अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्दैछन। फिल्ममा निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ।

Logo