‘फर्की फर्की’ प्रिमियरमा कसले के भने ?

‘फर्की फर्की’ प्रिमियरमा कसले के भने ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर आज बिहीबारबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले राजधानीमा बुधबार साँझ भव्य प्रिमियर गरिएको छ। राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा भएको प्रिमियरमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न फिल्मकर्मी, पत्रकार, सञ्चारकर्मी तथा लब्धप्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति थियो। प्रिमियर पछि अधिकांशले फिल्मको कथावस्तु, कलाकारको अभिनय, निर्देशकको कामको तारिफ गरेका थिए।

अभिनेता हरिवंश आचार्यले नेपालमा कोरियन प्याटर्नको नेपाली फिल्म बनेको महशुस भएको बताए। ‘फिल्म प्राविधिक रुपमा अत्यन्तै राम्रो छ। निर्देशक सुयोग गुरुङ, नायक अनमोल केसी, नायिका जसिता गुरुङको काम धेरै राम्रो छ। फिल्मले युवा भाईबहिनीलाई झन राम्रो लाग्नेछ। उहाँहरुलाई मनपर्यो भने आफ्नो बुवाआमालाई पनि बोलाएर ल्याई हाल्नुहुन्छ’, उनले भने।

अभिनेता तथा निर्माता हरिहर अधिकारीले फिल्मले आफ्नो मन छोएको बताए। ‘फिल्म पूर्ण व्यावसायिक र साइन्स फिक्सन भएकाले पनि केही नयाँ छ,’ उनले भने।

निर्मात्री तथा अभिनेत्री निता ढुंगानाले फिल्म नयाँ अवधारणामा बनेकाले दर्शकले हेर्न आवश्यक रहेको बताइन्। ‘निर्माताले पनि धेरै ठूलो रिस्क लिएर यो फिल्म बनाउनुभएको छ। सामान्यतया व्यावसायिक फिल्महरु चलिरहेका हुन्छन्, हिट भइरहेका हुन्छन्। तर यो किसिमको फिल्मलाई बनाउन धेरै गाह्रो हुन्छ। त्यसकारण नेपाली निर्मातालाई दर्शकले साथ दिनुपर्छ’, उनले भनिन्।

अभिनेता वीरेन श्रेष्ठले प्रेमकथाका फिल्म दर्शकले हेर्न नपाईरहेको समयमा ‘फर्की फर्की’ले त्यो तिर्सना मेटाउने बताए। ‘फिल्ममा नयाँ प्रयोग पाएँ। अनमोलको अभिनय गज्जब लाग्यो। प्रेमकथा मनपराउने दर्शकका लागि त्यो एउटा स्वादिलो फिल्म बन्नेछ’, उनले भने, ‘फिल्ममा देखाइएको समयको कुराले जोकोहीलाई छुन्छ। दर्शकका लागि फिल्मले एउटा मिठो सन्देश पनि दिएको छ।’

अभिनेत्री सुरक्षा पन्तले फिल्म आफूलाई मनपरेको बताइन्। ‘बुलिङबाट स्टोरी बिल्ड अप भएको रहेछ। क्लाइमेक्सको टाइमिङ मनपर्यो। कलाकारको अभिनयमा कुनै खोट लगाउन छैन’, उनले भनिन्।

निर्देशक वसन्त निरौलाले युवापुस्ताका लागि समय सापेक्षको फिल्म बनेको बताए। ‘फिल्मको मेकिङ, कलाकारको अभिनय, पाश्र्व संगीत, कथा, लोकेसन हरेक हिसाबले फिल्म उत्कृष्ट बनेको छ’, उनले भने।

निर्माता सुनिलकुमार थापाले ठूलो क्यानभासमा फिल्म एकदमै राम्रो बनेको बताए। ‘निर्माताले दिल खोलेर फिल्म बनाउनुभएको छ। निर्देशकले पनि राम्रो काम गर्नुभएको छ। छायांकन राम्रो छ। अनमोलको अभिनय ‘वाह’ नै छ। अन्य कलाकारको काम पनि अब्बल छ’, उनले भने।

निर्देशक झरना थापाले अनमोलको अभिनय निखारिएकोमा खुशी व्यक्त गरिन्। ‘अनमोलको अभिनयमा धेरै सुधार भएको महशुस गरें। सबै पक्षले फिल्म अब्बल छ’, उनले भनिन्।

फिल्ममा विशेष भूमिकामा देखिएका अभिनेता सलोन बस्नेतले फिल्मले दर्शकलाई फ्रेसनेस दिने बताए। ‘नेपाली फिल्मको इतिहासमा सायदै पहिलोपटक टाइम लुपको कथामा फिल्म बनिरहेको छ। दर्शकले इन्जोय गर्नुहुनेछ’, उनले भने।

अभिनेता सलिनमान बनियाँले फिल्म आफ्ना लागि ‘अमेजिङ’ रहेको बताए। ‘फिल्ममा टाइम लुपको कन्सेप्ट छ। सुरुदेखि अन्त्यसम्म राम्रो लाग्यो। मैले अनमोलको होस्टेलदेखि फर्की फर्कीसम्म आउँदै सबै फिल्म हलमा नै हेरेको छु। फर्की फर्कीसम्म आइपुग्दा उसको अभिनय उत्कृष्ट छ’, उनले भने।

फिल्मका अभिनेता अनमोल केसीले हल भरिएका कारण आफूले फिल्म हेर्न नपाए पनि फिल्म हेर्नेको प्रतिक्रिया उत्कृष्ट पाएको बताए। ‘सबैजनाले राम्रो भन्नुभयो। मेयर बालेन दाई(बालेन शाह)ले पुरै फिल्म हेरेर जानु भयो। त्यो हाम्रो ठूलो उपलब्धी हो’, उनले भने।
अभिनेत्री जसिता गुरुङले आफूले ‘भयंकर’ प्रतिक्रिया पाएको बताइन्। ‘फिल्ममा भएको टाइम लुपको कन्सेप्टमा जुन रेस्पोन्स आएको छ, त्यो एकदमै राम्रो छ’, उनले भनिन्।

फिल्म हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपकराज गिरीलगायत पनि हल पुगेका थिए।

Logo