फागुन ३ गतेबाट देशभरका हलहरुमा चलचित्र ‘बुलबुल’ एकसाथ प्रदर्शनमा छ । विनोद पौडेलको निर्देशन रहेको उक्त फिल्ममा मुख्य कलाकारहरुको रुपमा स्वस्तिमा खड्का, मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलाई देखाईएको छ ।
फिल्ममा धेरै कुरा यस्ता छन्, जो नभनेरै दर्शकले महशुस गर्न सकिन्छ । वा बुझ्छन् । कथा सामान्य छ । समाजमा सबैले देखिरहेको भोगिरहेको । निर्देशकले दृश्यभाषाको माध्यामबाट मानवीय उथलपुथललाई कलात्मक ढंगले मात्र देखाउन खोजेका छन् ।
फिल्ममा अति स–सानो कुरामा ध्यान दिइएको छ । जस्तो कि ससुरा पक्षघातले थलिएका छन् । उनको दायाँ पाटोमा पक्षघात हुन्छ । यही अवस्थामा नै मान्छेको बोली हराउँछ । फिल्मकारले यी साना कुरामा पनि विचार पु¥याएका छन् । वा दर्शकलाई झुक्याउने प्रयास गरेका छैनन् ।
रणकलाको धेरै संवाद छैन । तर, फिल्मको केन्द्रिय चरित्र उनी नै हुन् । रणकलाले बोल्दिनन् । तर, नबोलेरै उनको धेरै कुरा अभिव्यक्त हुन्छ । सानै उमेरमा बिबाह गरेकी रणकलाको श्रीमान बिदेशमा हुन्छन् । रणकलालाई माया गर्ने श्रीमानको खाँचो छ । उनलाई पनि कसैको साथ चाहिएको छ ।
बैशालु जवानीमा उनलाई साथ दिने उसको साथी छैन् । तर उनी व्यक्त गर्दिनन् । उनको हाउभाउले बुझ्न सकिन्छ । यस्तैमा उनले चोपेन्द्रलाई भेट्छिन् । चोपेन्द्रबाट उनले श्रीमानको जस्तो व्यवहारको अपेक्षा गर्छिन् तर समाजले त्यसलाई पचाउँदैन् । उनलाई चरित्रहिनको संज्ञा दिइन्छ ।
पक्षघातले थलिएका ससुरा बोल्न सक्दैन् तर उनको हाउभाउबाट प्रष्ट हुन्छ । उनले बुहारीलाई कन्ट्रोल गरिरहेका छन् । हाम्रो पितृसत्तात्मक समाजलाई निर्देशकले कुशलतापुर्वक प्रस्टाएका छन् । यस्तो अभिव्यक्तिका लागि दृश्य र ध्वनीको समायोजन गरेका छन् ।
फिल्मका कुनैपनि पात्र यस्ता लाग्दैनन्, जो अस्वभाविक र अनावश्यक होस् । हरेक पात्र प्रसंगवस जोडिएर प्रवेश गर्छन् । उनीहरुको उपस्थितिले कथाको बनोटलाई थप कसिलो बनाउँदै लान्छ ।
चोपेन्द्र भुसाल फिल्मका यस्ता पात्र हुन्, जो सिधा देखिन्छन् । सेक्युरिटीको रात्रिकालिन ड्युटी गर्ने उनी अनायसै रणकलाको नजिक पुग्छन् । तर, उनी जसरी प्रवेश गरेका थिए, त्यसरी नै अलाप हुन्छन् । उनको उपस्थिति वास्तवमै रोचक छ ।
हरेक पात्रको फरक विशेषता छ । हुलिया, प्रवृत्ति र मनोदसा पनि फरक छ । यस किसिमको विविधताले पनि फिल्मलाई रोचक बनाएको छ । फिल्ममा दृश्य बोल्छ । ध्वनी बोल्छ । पात्रहरुले उपदेश दिदैन, संवाद भट्याउँदैन । पात्रको मनोदशालाई दृश्यभाषाको माध्यमबाट भनिएको छ ।
केन्द्रबिन्दु अनलाइन मिडियामा अन्तर्वाता दिने क्रममा निर्देशक विनोद पौडलले भनेका थिए, ‘हामी नेपाली चलचित्रहरुलाई बलिउड हलिउडसँग दाँज्छौ । मैले राम्रो चलचित्र बनाएको होइन, बनाउने कोशिस पक्कै गरेको छु । नेपाली चलचित्र क्षेत्रमा एउटा इट्टामात्र थपेको हुँ ।’ वास्तवमै नेपाली चलचित्र उद्योगले धेरै फड्को मार्न बाँकी छ । उनी त्यसको एक हिस्सा मात्र हुन् । उनले नेपाली चलचित्र उद्योगमा एक इट्टा थपेका छन् । अर्कोले एउटा थप्छन्, अर्कोले अर्को । त्यपछि न एउटा सुन्दर घर बन्छ ।































प्रतिक्रिया