काठमाडौं । लोकप्रिय नेपाली चर्चित पप तथा आधुनिक गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् ।
शुक्रबार काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति रहेको थियो।
हिजो विहिबार मात्र गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी थिइन् । मेलिनाले काठमाडौंस्थित आफ्नै घरमा परिवारजन र नजिकका आफन्तहरुको सिमित उपस्थितिमा प्रेमी ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी थिइन् । ध्रुव सांगीतिक क्षेत्रबाहिरका व्यक्ति हुन् । ब्रिटिस आर्मीमा कार्यरत गुरुङको स्थायी घर भने इलाम हो । मेलिना र ध्रुवले छोटो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
जादुयी स्वरकी धनी मेलिनाका दर्जनौं गीत नेपाली सांगितीक क्षेत्रमा लोकप्रिय छन् । उनले गाएको फिल्म ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुट सुपारी दाना’ युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतमा पर्छ । यसलाई युट्युबमा २१ करोड बढीले हेरेका छन् । यो गीतलाई मेलिनाको गायन करिअरको टर्निङ पोइन्ट मानिन्छ । अहिले उनको पाश्र्व गायनमा उच्च माग छ ।
उनको स्वरमा रहेका ‘माया जदौ’, ‘रातो टीका निधारमा’ (रिमेक भर्सन), ‘हुकुम बक्सियोस्’, ‘अजम्बरी लाउला पिरती’, ‘कम्मरमाथि पटुकी’, ‘शिरैमा शिरबन्दी’, ‘एमजी रोडैमा’ जस्ता फिल्मका गीतहरु पनि चर्चित छन् । उनीद्वारा स्वरबद्ध नयाँ गीत ‘डल्ले–डल्ले खुर्सानी’ बुधबार मात्र सार्वजनिक भएको छ, जसले युट्युबमा आकर्षक भ्यूज पाएको छ । यो गीत फिल्म ‘अञ्जिला’मा समावेश छ ।































प्रतिक्रिया