चलचित्र क्षेत्र खोल्ने अनुमति दिन सरकारसँग चलचित्रकर्मीको माग

चलचित्र क्षेत्र खोल्ने अनुमति दिन सरकारसँग चलचित्रकर्मीको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन् ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुले पनि चलचित्र क्षेत्र खुल्न सकेको छैन । त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।

अध्यक्ष अधिकारीले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसके पनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटिएको तर अहिले सम्म कुनै पनि फाइदा लिन नसकेको बताए।

चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, श्रष्टा, सर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थ मन्त्रालयमा समेत गराइसकेको उनले बताए। सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको पनि अधिकारीले बताए।

अध्यक्ष अधिकारीले चलचित्र क्षेत्रले मनोरञ्जन मात्रै नभएर कला, संस्कृति, भेषभूषा र पर्यटनलाई समेत समेटेको क्षेत्र भएको भन्दै तत्काल खोल्न माग गरेका हुन् । त्यसको साथसाथै आफू उद्योग वाणिज्य महासंघमा रहेर चलचित्र क्षेत्रको समस्या समाधानमा लाग्न खोजिरहेको पनि बताए। यसअघि पनि महासंघमा रहेर सरकार, निजी क्षेत्र र चलचित्र क्षेत्रभित्र रहेको दुरीलाई मेटाउँदै चलचित्र क्षेत्रलाई सेवामुलक उद्योगको रुपमा स्थापित गर्न सफल भएको बताए ।

चलचित्रलाई पर्यटन र कृषि क्षेत्रसँग जोडने काम गर्नका लागि आफूले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको अधिकारीले बताए। चलचित्र क्षेत्रलाई यसअघि राष्ट्रिय मान्यता प्राप्त उद्योगमा लैजान सफल भएको बताउँदै अध्यक्ष अधिकारीले अब भने राज्यका प्राथमिकता प्राप्त क्षेत्रले पाउँदै आएको सुविधा पाउने अवस्थामा पुर्याउन आफूले महासंघमा बसेर काम गर्न चाहेको बताएका छन् ।

अध्यक्ष अधिकारीले उद्योग वाणिज्य महासंघको ५४ औं आशन्न साधारणसभामा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । सो पदमा रहेर चलचित्र क्षेत्रको नीति नियम, ऐन कानून निर्माणमा सरकारलाई सहयोग गर्ने अधिकारीले बताए। यस्तै आफ्नो ध्यान स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नुपर्छ र आयातलाई घटाएर निर्यात बढाउनु पर्छ भन्ने तर्फ रहेको पनि अधिकारीले स्पष्ट पारेका छन्।

Logo