सुर्खेत। कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
नेपाली चलचित्रको प्रवर्द्धनसँगै चलचित्र पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव ‘घूमौं कर्णाली, हेरौं कर्णाली’ नारासहित सुरु गरिएको हो ।
उद्घाटन तथा चलचित्र पर्यटन संवाद कार्यक्रम वीरेन्द्रनगरस्थित होटल शुभमा सम्पन्न हुनेछ भने भोलि सल्यानको कुपिण्डेदहमा चलचित्र पर्यटन समारोह आयोजना गरिनेछ । महोत्सवअन्तर्गत शहरदेखि गाउँसम्म चलचित्र र पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कर्णालीका कथा, भाषा, संस्कृति र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णालीमा चलचित्र पर्यटनको ठूलो सम्भावना रहेकाले यसलाई चिनाउन महोत्सव सेतु बन्नेछ ।
सल्लाहकार डा. महेन्द्रकुमार मल्लले चलचित्र र पर्यटनको संयोजनले आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् । उनका अनुसार महोत्सवले जलवायु परिवर्तनसम्बन्धी सन्देश फैलाउने कार्यक्रम पनि समेटेको छ ।
महोत्सवअन्तर्गत चलचित्र कथा प्रतियोगिता पनि घोषणा गरिएको छ, जसका विजेतालाई रु एक लाख पुरस्कार प्रदान गरिनेछ ।































प्रतिक्रिया