महामारीले शिथिल चलचित्र क्षेत्रमा मल्हम लगाउँदै चलचित्र विकास बोर्ड

महामारीले शिथिल चलचित्र क्षेत्रमा मल्हम लगाउँदै चलचित्र विकास बोर्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महामारीको चपेटामा फसेको नेपाली फिल्म क्षेत्रले कहिले सम्ममा लय लिने हो कुनै टुंगो छैन । नेपाली चलचित्र बजारको ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने पनि उति सुखद नभइरहँदा यस वर्षको कोरोना भाइरस प्रभावले यो उद्योग कति पर धकेलिने हो, कुनै अनुमान गर्ने अवस्था छैन । दिन प्रतिदिन बढ्दो भाइरस संक्रमण दरले यसको अनिश्चितताको भोलुम झनै बढाउँदै गएको छ । यस्तो अनिश्चित वातावरणले फिल्म उद्योगमा आश्रित जनशक्तिमा पनि भविष्य प्रतिको अन्यौलता कायमै छ ।

फिल्म क्षेत्रका गतिविधी खुलाउन फिल्मकर्मीहरू हरेक दिनजसो चलचित्र विकास बोर्ड धाउन थालेको छन् । तर, कोरोनाको असरका कारण कतिपय चलचित्रकर्मी स्वयं पनि नेपाली चलचित्रको भविष्यप्रति ढुक्क छैनन् । कतिपयले छायांकनका लागि सरकारको स्विकृती पर्खिरहेका छन् भने, कतिपयले फिल्म छायांकन तथा निमार्णका लागि अझै उपयुक्त वातावरण तयार भइनसकेको बताउँदै आएका छन् ।

गत फागुन दोस्रो साताबाटै सुस्ताएको नेपाली चलचित्र क्षेत्र चैत्र ५ गतेदेखि नै ठप्प भयो । त्यसयता निर्माता, निर्देशक, हलवालादेखि कलाकर्मी सबै कामविहिन बन्नु पर्यो । तथापि नेपाल चलचित्र विकास बोर्डले भने यही विषम परिस्थितीलाई टेकेर विभिन्न नीतिगत काम अघि बढाएको छ । चलचित्र उद्योगको अग्रणी संस्था भएर पनि चलचित्र उद्योग र चलचित्रकर्मीका लागि उल्लेख्य काम गर्न नसकेको आरोप व्यहोर्दै आएको बोर्ड यतिबेला भने केही चलायमान देखिएको अनुभव गर्न सकिन्छ ।

चलचित्र प्रदर्शनका लागि प्रचारमा बोर्डको सहयोग

कोरोना भाइरसले थलिएको चलचित्र बजार आफैंमा ताते सर्न पनि कठिन छ । अर्कातर्फ नीजि लगानीको क्षेत्र भएकाले पनि अधिकांश निर्माताहरू आर्थिक संकटमा परेका छन् । भाइरसको नेपाल प्रवेशसँगै थुप्रै नेपाली फिल्म प्रदर्शनबाट बञ्चित भएका छन् भने, कतिपय छायांकनकै क्रममा रोकिएका छन् । लामो समयसम्म यसरी अनिर्णयको बन्दि बन्नु पर्दा चलचित्र निर्माणमा लगानी गर्नेहरूको लगानी धरासायी बन्न पुगेको छ । लगानीकर्ताहरू बाध्यताले यसक्षेत्रबाट पलायन हुनु पर्ने अवस्था टाढा देखिन्न ।

लामो समयसम्म यसरी अनिर्णयको बन्दि बन्नु पर्दा चलचित्र निर्माणमा लगानी गर्नेहरूको लगानी धरासायी बन्न पुगेको छ ।

यही विषयलाई मध्यनजर गर्दै नेपाल चलचित्र विकास बोर्डले प्रदर्शनको तयारीमा रहेका फिल्महरूका लागि विशेष प्याकेज घोषणा गरेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । उनका अनुसार हल खोलेको मितिले ६ महिनाभित्र रिलिज हुने फिल्महरूलाई प्रचार प्रसारमा सहयोग गर्ने घोषणा बोर्डले यस अघि नै गरिसकेको छ । यसमा विशेष गरेर छापामाध्यमलाई प्राथमिकता दिइएको छ भने, प्रशारणतर्फ सौलियतको व्यवस्था गरिनेछ ।

हलमा फिल्म ईन्कोडदेखि प्रति शो सर्भर चार्ज, पम्प्लेट, ब्यानरसमेत बोर्डले प्रायोजन गरिदिनेछ । यसबाहेक सरकारी तथा गैरसरकारी सञ्चारमाध्यममा विज्ञापनमा सहुलियतका लागि समेत बोर्डले सिफारिस गरिदिने भएको छ । यसैगरि काठमाडौं महानगरभित्र होर्डिङ बोर्ड राख्न चाहनेका लागिसमेत सहुलियतदरमा सिफारिस गर्ने बोर्डले व्यवस्था गरेको छ ।

कोरोनाका कारण आर्थिक संकट व्यहोरी रहेका निर्माताहरूका लागि बोर्डको यस्तो योजनाले प्रचारप्रसार लागत घटाइदिनेछ भने, प्रचारप्रसार पनि प्रभावकारी हुने देखिन्छ । यद्यपि समग्र चलचित्रहरूलाई एउटै टोकरीमा हालेर मुल्याङ्कन गरिनुले पूर्णतः परिस्थितिको सम्बोधन नहुने तर्क राख्छन्, सञ्चारकर्मी, लेखक तथा निर्देशक फूलमान बल । ‘बोर्डको यो निर्णय हामी चलचित्रकर्मीहरूका लागि स्वागत योग्य छ । यसले कोमामा पुगेको नेपाली चलचित्र क्षेत्रको माहोल सृजना गर्न केही हदसम्म सहयोग गर्नेमा दुईमत छैन,’ निर्देशक फूलमान बल भन्छन्, ‘तर, सबै फिल्मलाई एउटै हिसाबले सम्बोधन गर्दा केही केही अन्यायमा पनि पर्ने रहेछन् । त्यसलाई पनि बोर्डले फरककोणबाट सम्बोधन गरिदिए अझ राम्रो हुने देखिन्छ ।’

निर्देशक बलको गुनासो छ कि, फिल्म ‘नीरफुल’ होस् या सुर्दशन थापाको ‘म यस्तो गीत गाउँछु–२’ यी फिल्मले प्रदर्शनका लागि ठूलो रकम प्रचारमा खर्चिसकेका तर, परिस्थितिले फिल्म पर्दशनमा आउन नपाएकाले अब पुनः उतिनै खर्च गरेर प्रचार गर्नुपर्दा दोहोरो मार पर्ने छ । यस्तो अवस्था अन्य फिल्मले ब्यहोर्नु नपर्ने तर्क बलको छ । त्यसैले दोहोरो मारमा परेका फिल्मलाई बोर्डले अझ गहनरूपमा हेरिदिए वैैज्ञानिक हुने तथा, फिल्मकर्मीहरूमा पनि अझ उत्साह जाग्ने निर्देशक बलको भनाइ छ ।

चलचित्र निमार्णमा प्रोजेक्ट विमा प्याकेज

भाइरस महामारीका कारण अधिकांश मानिस आर्थिक संकटमा छन् । यस्तो अवस्थामा मानिसलाई मनोरञ्जन भन्दा अन्य अत्यावश्यक विषय प्रमुख बनिरहेका छन् ।

भाइरस महामारीका कारण अधिकांश मानिस आर्थिक संकटमा छन् । यस्तो अवस्थामा मानिसलाई मनोरञ्जन भन्दा अन्य अत्यावश्यक विषय प्रमुख बनिरहेका छन् । यस्तो अवस्थामा चलचित्र क्षेत्रमा लगानी आफैंमा जोखिमयुक्त छ । जसले, चलचित्र बजारमा सुरक्षाको प्रत्याभूति दिलाउन चलचित्र विकास बोर्डले निर्माता संघसँगको सहकार्यमा प्रोजेक्ट विमाको प्रक्रिया पनि अघि सारेको छ । कुनै पनि प्रोजेक्ट फ्लोरमा गईसकेपछि त्यसमा प्राविधिक कारण वा प्राकृतिक कारणले हुने हानी नेक्सानी असुलका लागि प्राजेक्ट बीमालाई अघि सारिएको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिए । यस बीमाका लागि भने प्रोजेक्टकर्ता स्वयंका तर्फबाट १ देखि १.५० प्रतिशतसम्म रकम बीमा कम्पनिलाई तिर्नुपर्नेछ । यसमा सुटिङमा जान लागेको फिल्मलाई बोर्डले बीमा रकममा सहयोग गर्ने घोषणा गरेको हो । अबको, ६ महिनाभित्र सुटिङमा जान लागेका फिल्महरुको बीमा बापत लाग्ने रकम बोर्डले तिरिदिन लागेको सदस्य महर्जनले बताएका हुन् । यस्तै अब, सुटिङमा जाने फिल्मले सबै फिल्मकर्मीको बीमा गर्नु पर्नेछ र, त्यसमा पनि बोर्डले सहकार्य गर्ने भएको छ ।

यस्तै सुटिङमा जान लागेका फिल्मको सम्पूर्ण युनिटको कोरोना परीक्षण समेत बोर्डले निःशुल्क गरिदिने व्यवस्था मिलाएको छ । फिल्म सुटिङमा जान कोरोना टेष्ट गरेर जानुपर्ने र सकेर फर्कंदा पनि कोरोना परीक्षण गर्नुपर्ने बोर्डको निर्देशिकामा समावेश गरिने जनाइएको छ ।

चलचित्रकर्मी विपद् व्यवस्थापन कोषको अन्तिम तयारीमा बोर्ड

नेपाली चलचित्र क्षेत्रले आजको अवस्थासम्म आइपुग्दा थुप्रै बाधा, अड्चन खेप्दै आएको छ । विभिन्न राजनीतिक परिवर्तन अनि प्राकृतिक विपत्तिजस्ता विषयले चलचित्र क्षेत्र छायाँमा पर्दै आएको छ । यस्ता विषयले सिंगो चलचित्र उद्योगसँगै चलचित्रकर्मी पनि मारमा परेका छन् । अझ, हालको कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा त यो समस्या झनै विकराल बनेको छ ।

यस्ता विशेष परिस्थितीलाई मध्यनजर गर्दै चलचित्रकर्मीलाई चलचित्र क्षेत्रमै आफ्नो भविष्यको सुनिश्चितताका लागि विकास बोर्डले चलचित्रकर्मी विपद् व्यवस्थापन कोषको व्यवस्था गर्ने भएको छ । चलचित्र क्षेत्रसँग आवद्ध अन्य ८ सरोकारवाला संघसंस्थाहरूको प्रतिनिधीहरूका मातहतमा रहेर उक्त व्यवस्थाको तयारी गरिएको बोर्डका सदस्य महर्जनले बताए । यसका लागि कार्यविधि तयार भइसकेको र हाल चलचित्र विकास बोर्डबाट पारितको अन्तिम चरणमा रहेको र त्यहाँबाट नेपाल सरकार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमार्फत पास भई कार्यान्वयनमा ल्याइने छ । यो कोष चलचित्रकर्मीहरूका लागि दैविक प्रकोपका समयमा आइपर्ने विपद्जन्य परिस्थितिका लागि प्रयोग गरिने महर्जनले जानकारी दिए । यो व्यवस्थाले विशेष गरेर प्राकृतिक विपत्तिजन्य अवस्थामा फिल्मकर्मीहरूमा एकप्रकारको आर्थिक सुरक्षाको प्रत्याभूती गराउने पक्का छ ।

स्टोरी बैंक

चलचित्र विकास बोर्डले यसवर्षदेखि स्टोरी बैंकको अवधारणा अनुसार, फिल्मका कथाको संग्रह गर्ने भएको छ । जसका लागि नेपाल सरकारले बजेट समेत विनियोजन गरिसकेको अवस्था छ । यो व्यवस्था अन्तर्गत फिल्म लेखनमा रुचि भएका वा फिल्मका लेखकहरुले लेखेको कथालाई चलचित्र विकास बोर्डले स्टोरी बैंकमा जम्मा गरि यसलाई अनुकूल समयमा प्रयोग गर्न सक्नेछ ।

बोर्डबाट गठित एक समितिले ‘स्टोरी बैंक कार्यविधि–२०७७’ तयार गरेको छ । बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठित ११ सदस्य मस्यौदा समितिले ‘स्टोरी बैंक कार्यविधि–२०७७’ तयार गरि स्टोरी बैंक संचालन र त्यसको मापदण्डहरु निर्माण गरेको हो ।यसैगरि नेपाल चलचित्र विकास बोर्डले नयाँ बोर्ड अध्यक्षमा निर्देशक तथा चलचित्रकर्मी दयाराम दाहाल प्राप्त गरेसँगै अन्य थुप्रै नीतिगत कार्यविधि तयार गर्ने तथा त्यसको कार्यान्वयनमा जोड दिदै आएको बोर्ड सदस्य महजर्न बताउँछन् ।

कोरोना प्रभावले शिथिल चलचित्र क्षेत्रका लागि विकास बोर्डले यस्तै नयाँ नयाँ स्किम अघि सारिरहेको छ । जसले, सबैमा न्याय गर्न सक्ला नसक्ला तर महामारीका कारण खस्किएकाे फिल्मक्षेत्रका लागि आधार तयार भने पक्कै हुनेछ ।

Skip This
Skip This
Logo