कोरोना प्रभाव : दसैँमा पनि सिनेमा हल नखुल्ने

कोरोना प्रभाव : दसैँमा पनि सिनेमा हल नखुल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हरेक वर्ष दसैँको अवसर पारेर नयाँ चलचित्र प्रदर्शन गर्न निर्माताहरूबीच हानथाप हुन्थ्यो । दसैँमा हुने लामो सार्वजनिक बिदाका कारण चलचित्रको व्यापारमा फाइदा हुने भएकाले छायांकनमा जानुपूर्व नै चाडपर्वको छेको पारेर प्रदर्शन मिति तोकिन्थ्यो । गत वर्षको माघ–फागुनमै कलाकार तथा निर्माता दीपकराज गिरीको ‘छक्का पन्जा ४’, झरना थापाको ‘ए मेरो हजुर ४’, नारायण रायमाझीको ‘परदेशी २’ र चलचित्र ‘प्रेमपूजा’ले यो दसैँमा प्रदर्शन गर्ने घोषणा गरिसकेका थिए ।

तर, कोरोना भाइरसका कारण रिलिज मिति तोकिएका चलचित्रहरू छायांकनमै जान सकेनन् । कोरोना संक्रमण अझै फैलिरहेकाले कहिले छायांकनमा जाने, कहिले प्रदर्शन हुने भन्ने अनिश्चित भएको छ । निर्माता तथा कलाकार गिरीले ‘छक्का पन्जा ४’ को स्क्रिप्ट लेखनलाई केही समयका लागि रोकेका छन् । अब कहिले खुल्छ र अवस्था राम्रो बन्छ अनि दर्शकको मनोविज्ञान कस्तो हुन्छ, त्यस अनुसार काम गर्ने योजनामा छन् उनी । गिरीका अनुसार एक डेढ वर्षसम्मका लागि काम रोकिने सम्भावना पनि त्यत्तिकै छ ।

चलचित्र विकास बोर्ड, चलचित्र संघ र निर्माता संघले हल सञ्चालन, छायांकनको वातावरण मिलाइदिन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी) लाई ज्ञापनपत्र बुझाइसकेका छन् । बोर्डका अध्यक्ष दयाराम दाहाल अब सरकारले छिट्टै सहज परिस्थिति बनाएर काम गर्ने बाटो खुलाइदिने आशा व्यक्त गर्छन् । ‘हामीले प्रस्ताव बुझाइसकेका छौँ । हेरौँ, सरकारले कस्तो निर्णय लिन्छ,’ दाहाल भन्छन्, ‘यही दिनदेखि सिनेमा हलहरू खुल्छ भनेर भन्न सकिँदैन । आशावादी हुनुबाहेक अरू विकल्प पनि छैन ।’ तर, दसैँअघिबाटै सिनेमा हल खुल्नेबारे आशंका व्यक्त गर्छन् दाहाल । सबै क्षेत्र खुल्न थालेकाले चलचित्र क्षेत्र पनि छिट्टै खुल्ने अवस्था सरकारले बनाइदिनु पर्ने उनी बताउँछन् । नत्र आफूहरूले मात्र केही गर्न सकिने अवस्था रहेको बताउँदै दाहाल भन्छन्, ‘अब छिट्टै हलहरू सुचारु हुने अवस्था आउला कि भन्ने लागेको छ ।’

कोरोना महामारीकै बीचमा विदेशमा सिनेमा हलहरू सञ्चालनमा आइसकेका छन् । फुटबलका दर्शकहरू रंगशाला पुगेर हेर्न थालेका छन् । सिटहरूमा दूरी बनाएर, स्यानिटाइजर प्रयोग गरेर, स्वास्थ्यको चेकअप गरेर हलहरू सञ्चालनमा आइसकेका छन् । हलिउडमा क्रिस्टोफर नोलनको फिल्म ‘टेनेट’ आंशिक रूपमा अवस्था हेरेर केही देशमा प्रदर्शन भइसकेको छ ।

अष्टनारायण हलका सञ्चालक सोहित मानन्धर पनि दूरी कायम गरेर हल सञ्चालन गर्दा हुने धारणा राख्छन् । उनी भन्छन्, चलचित्र दसैँमा हो बढी चल्ने । चलचित्रको बजार चाडपर्वकै हो चलायमान हुने । त्यसैले दसैँ अघि चलचित्र प्रदर्शन गर्दा राम्रो हुने उनको तर्क छ । तर, कसरी प्रदर्शन गर्ने त ? निर्माता अझै ढुक्क छैनन् ।नयाँ पत्रिकाबाट

Logo