आज भाद्र शुक्ल तृतीया अर्थात् तीज । सनातन धर्मावलम्बी महिलाहरु महादेवको व्रत तथा पूजा–आराधना गरी तीज पर्व मनाउँदैछन् ।
आजको दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र महादेवको आराधना गर्ने परम्परा छ । हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ । त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ ।
विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ । काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्ने गर्छ ।
तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी ‘दर’ खाने गर्छन् । नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्ट पोखेर नाचगान गर्छन् ।
तीजका बेला सौभाग्यका सूचक राता वस्त्र तथा आभूषण लगाउने चलन छ । तर पछिल्लो समय भने विभिन्न संघ संस्था र कार्यालयहरुले महिलाहरुलाई एक महिना अघिेखिनै दर खुवाउने कार्यक्रम राख्ने गर्छन ।





























प्रतिक्रिया