‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न

‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न

केन्द्रबिन्दु
6
Shares

भादगाउँ (भक्तपुर)। यहाँको मध्यपुर थिमि–७ नगदेशमा बिहीबार राति ‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न भएको छ ।

प्रत्येक वर्ष मोहनी नखःको चालँ अर्थात् बडादसैँको दशौँ दिन विजयदशमीको राति नगदेशको दरबार लाय्कुबाट ‘खाँ पिहाँ वइगु’ जात्रा निकाल्ने परम्पराअनुसार बिहीबार राति जात्रा निकालिएको हो ।

नगदेशमा रहेको मल्लकालीन दरबारबाट खाँ निकालिएको हो । यो जात्राको अन्त्यमा नगदेशस्थित सिद्धिगणेशको प्राङ्गणमा ‘भुइँफर्सी’ अर्थात् ‘कुभिण्डो’ मार हान्ने भएकाले यसलाई ‘भुइँफर्सी पालेगु’ जात्रा पनि भनिन्छ । दरबारबाट पमा नायो (प्रधान नाइके)को नेतृत्वमा मल्लकालीन सिपाहीको भेषमा जात्रालुहरू टाउकोमा फलामे टोपी, हातमा तरबार, खुँडा र ढाल बोकेर निस्केका थिए ।

ती सिपाहीले युद्ध कौशल पनि प्रदर्शन गरेका थिए ।सिद्धिगणेश मन्दिर परिसरमा मार हानेको कुभिण्डो प्रसादको रुपमा घरघरमा लाने प्रचलन रहेको छ । जात्रा सञ्चालनका लागि यस वर्ष मध्यपुरथिमि नगरपालिकाले ढाल, टोपीलगायतका सामग्री सहयोग गरेको थियो ।

जात्रामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठलगायत जनप्रतिनिधिले पनि सक्रिय सहभागिता जनाएका थिए ।

Logo