तीज सुरुः दर खाने दिन आज

तीज सुरुः दर खाने दिन आज


तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ। तीजको अघिल्लो दिन आज दर खाने दिन हो। यसै दिनबाट तीज पर्वको सुरु हुन्छ। 

दरमा खीर, ढकने वा सेलरोटी आदि अथवा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ। तर यस वर्ष विगत जस्तो तीजको रौनक भने छैन। कोरोनाका कारण छोरीचेलीहरु माइत जान सक्ने अवस्था छैन। तैपनि आफ्नो परम्परा जोगाउनका लागि जो जहाँ छन् त्यहिं तीज मान्ने तयारीमा छन्।

तीजका दिन पानीसम्म नपिई ब्रत बस्नु पर्ने भएकाले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि मिठा मिठा परिकार खाने प्रचलन बसेको हो। तर केही वर्ष अघिदेखि तीजको दर खाने नाममा एक महिना पहिलेदेखि भोजभतेर गरेर संस्कृतिका नाममा विकृति सुरु भएको छ। यसवर्ष कोरोनाका कारण त्यस्तो विकृतिमा पनि कमी आएको छ।

परम्परा मान्ने हो भने दर खाने मुख्य दिन आज हो। तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज नेपाली हिन्दु नारीहरु दर खाँदैछन्। भोलिको व्रतमा दिनभर निराहार रहनका लागि भाद्र शुक्ल द्वितीयामा दर खाने चलन छ। आज राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरि सूर्यलाई अर्घ्य दिएर मात्र खाना खाने परम्परा छ।

धार्मिक मान्यता अनुसार सत्ययुगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ। तीजको व्रत पतिको आयुका लागि मात्र बस्ने गरिएको भनी गलत प्रचार गरि शास्त्रीय मान्यता नबुझी धर्मलाई गाली गरिएकामा सत्य कुरो बुझ्नतर्फ लाग्न संस्कृतिकर्मीले अनुरोध गरेका छन्।

Logo