जनकपुरमा भित्र्याइयाे फूलपाती

जनकपुरमा भित्र्याइयाे फूलपाती


नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सत्य सनातनी परम्परा छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ, त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरूपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने पुराणोक्त कथन छ ।

जनकपुरका प्रसिद्ध शक्तिपीठहरुमा शुभसाईतमा फूलपाती भित्र्याइएको छ । राजदेवी मन्दिरमा तान्त्रिक विधिअनुसार पूजापाठ सम्पन्न भएपछि हर्षबढाई गर्दै फूलपाती भित्र्याइएको हो । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले सलामी अपर्णा गरेका थिए ।

सो अवसरमा प्रतिनिधि सभाका सदस्य राजेन्द्र महतो, जनकपुरका सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरूको सहभागिता थियो । जनकको कुलदेवीको रूपमा रहेको जनकपुरको राजदेवी लगायत शक्रिपीठहरु भव्य रूपमा सजाइएको छ । युवा क्लबहरूको सहभागितामा दसैँलाई भव्यता दिने गरिएको छ ।

Logo