अन्तर धार्मिक शान्ति महासंघद्वारा धर्म गुरुहरूसँग राष्ट्रस्तरीय अन्तर सांस्कृतिक संवाद सम्पन्न

अन्तर धार्मिक शान्ति महासंघद्वारा धर्म गुरुहरूसँग राष्ट्रस्तरीय अन्तर सांस्कृतिक संवाद सम्पन्न


सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि धर्म गुरुहरुबीच राष्ट्रस्तरीय अन्तर सांस्कृतिक संवाद कार्यक्रम भएको छ ।

आइतबार ललितपुरमा आयोजित कार्यक्रममा अन्तर धार्मिक गुरुहरूले देशमा भइरहेको अन्तर धार्मिक समस्याहरूको बारेमा संवाद गरेका हुन् । अन्तर धार्मिक शान्ति महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा अन्तर धार्मिक शान्ति महासंघ नेपालका महासचिव महेन्द्र भट्टराईले बाहिरी प्रभावका कारण देशमा विभिन्न धर्मप्रति भइरहेका हस्तक्षेप र प्रभावको बारेमा छलफल भएको बताए । उनले देशमा धार्मिक सामञ्जस्यको खाँचो रहेकोले त्रुटिलाई सच्याउन र समाजमा धार्मिक सामञ्जस्यता कायम गर्नका लागि संवाद कार्यक्रम आयोजना गरेको बताएका छन् ।

महासचिव भट्टराईले भने, ‘अहिले नेपालमा धार्मिक सचेतता, धार्मिक जागरण बढ्दै गएको छ, यो सबै धार्मिक समुदायमा छ, हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन, कविरमा छ, यो सबैमा समाञ्जस्य ल्याउनलाई पहल गरिएको छ, बाहिरी प्रभावले जुन सामञ्जस्य एक अर्कालाई सद्भाव र आदर सम्मानमा अलिकति हस्तक्षेप र दखल भएको छ,पूर्वाग्रह छ, क्रिश्चियनहरु डलर खाने, मुसलमान बाहिरबाट चल्ने, हिन्दुहरूले धेरै जनसंख्या भएकोले हेप्यो भन्ने छ, त्यो सबै सत्य होइन, तिनीहरूलाई सपारौँ, सकारात्मक राख्न सकौँ, भन्ने हो, अहिले यसमा सरकारले, मानव अधिकार कर्मी, मानव अधिकार आयोगले चासो देखाउनु पर्ने जति देखाएको छैन ।’

कार्यक्रमका सहजकर्ता डा. शोभाकर बुढाथोकीले समाजलाई सही दिशातर्फ लैजानका लागि कार्यक्रम आयोजना गरेको बताए । उनले अन्तर धार्मिक समुदायका बीचमा अवाञ्छित तत्वहरु सक्रिय भएको भन्दै त्यसतर्फ सचेत गराउने कार्यक्रमको लक्ष्य भएको बताएका छन् ।

सहजकर्ता बुढाथोकीले भने, ‘सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि धर्मगुरुहरुबीच भएको यो अन्तर धार्मिक गुरुहरुबीचको संवादले समाजलाई सही दिशातर्फ लैजान्छ, सही सूचना दिन सहयोग गर्दछ, धर्मको नाममा अहिले अवाञ्छित तत्वहरु सक्रिय भइरहेका छन्, त्यसैले हामीले अन्तर धार्मिक समुदायका बीचमा सहकार्यका लागि पहल गरिरहेका छौँ ।’

कार्यक्रम सहजकर्ता बुढाथोकीले गलत गतिविधिलाई धर्मको आवरण दिएर कुकृत्य हुने गरेको आरोप समेत लगाएका छन् । 

Logo