डा. राजु अधिकारीलाई पहिलो एनआरएन विज्ञान तथा प्रविधि पुरस्कार

डा. राजु अधिकारीलाई पहिलो एनआरएन विज्ञान तथा प्रविधि पुरस्कार

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा. राजु अधिकारीलाई ‘पहिलो गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार’ प्रदान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा स्थापित उक्त पुरस्कार पाउने उनी पहिलो गैरआवासीय नेपाली वैज्ञानिक हुन्। 

नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुरस्कार प्रदान गरे ।  एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले डा. अधिकारीका तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए ।

डा. अधिकारीले स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, ओएलइडी, खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नवीन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नवीन प्रविधि विकास गरेका छन् ।

यसैगरी विदेशमा रही नेपाल साइन्स फाउन्डेशन, ट्रष्टलगायत संस्थामार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्वविद्यालय तथा प्रज्ञा प्रतिष्ठान र अनुसन्धान केन्द्रहरुसँग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा योगदान पुर्याएकाले डा. अधिकारीलाई उक्त पुरस्कार प्रदान गरिएको नास्टले जनाएको छ ।

उनी गैरआवासीय नेपाली संघको सीप, ज्ञान तथा नवप्रवर्तन विभागका पूर्वअध्यक्ष
पनि हुन् । दाङ्गको देउखुरी मुसुरिया घर भएका डा. अधिकारी हाल अष्ट्रेलियाको  सीएसआइआरओ  र आरएमआइटी विश्वविद्यालयमा प्रमुख अनुसन्धान वैज्ञानिकका  रुपमा कार्यरत छन् ।

उनले २६ वटा पेटेन्ट दर्ता गरेका छन् । उनका झन्डै १०० वटा अनुसन्धानमूलक लेखहरु विभिन्न जर्नलमा प्रकाशित भएका छन् । उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ ।

उनले सन् १९८७ देखि १९९१ सम्म तत्कालीन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (रोनाष्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुखको रुपमा पनि काम गरेका थिए । डा. अधिकारीले गैरआवासीय नेपाली संघद्वारा हालै काठमाडौँमा आयोजित तेस्रो विश्व ज्ञान सम्मेलनको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

‘नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले स्थापना गरेको पहिलो विज्ञान तथा प्रविधि पुरष्कार प्राप्त गर्दा मलाई साह्रै खुसी लागेको छ । हामी प्रवासमा रहेका वैज्ञानिकहरुले पनि नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान गर्नु पर्छ भनेर संस्थागत पहल गर्दै आएका थियौं । यो पुरस्कारले प्रवासमा रहेका अरु कैयौं युवा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई प्रोत्साहित गर्ने विश्वास लिएको छु,’ डा. अधिकारीले भने ।

गैरआवासीय नेपाली संघले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्न जोड दिँदै आएको जनाएको छ ।

Skip This
Skip This
Logo