‘नेपाल–इजरायल कोरोना योजना’ गठन

‘नेपाल–इजरायल कोरोना योजना’ गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोभिड–१९ को उपचार सम्बन्धी ज्ञान र अनुभव एकआपसमा आदान–प्रदान गर्दै समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले नेपाल–इजरायल कोरोना योजना (एनआइसीआई) गठन भएको छ ।

कोरोनाको महामारीबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि एनआइसीआई गठन गरेको इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिइन् । गत जेठ १३ गते इजरायलस्थित नेपाली राजदूतावासको संयोजनमा नेपाल र इजरायलका चिकित्सकहरुबीच नेपालमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र न्युनिकरणका लागि इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदान–प्रदानका लागि भर्चुअल सम्वाद भएको थियो । ‘नेपालमा पछिल्लो समय फैलिदो क्रममा रहेको कोरोना संक्रमण र त्यसबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि सहयोग आदान–प्रदान गर्ने उद्देश्यले यो योजना गठन गरेको हो,’ राजदूत शाक्यले भनिन, ‘इजरायल कोरोना नियन्त्रणमा सफल देखिएको सन्दर्भमा इजरायलको अत्याधुनिक प्रविधि, ज्ञान र अनुभवबाट नेपाल लाभान्वित हुन सक्ने अपेक्षा हामीले लिएका छौँ ।’

यो समितिमा दुबै देशका विशेषज्ञ डाक्टरहरु तथा विज्ञहरुको आ–आफ्नै समिति बनाएको दूतावासले जानकारी दिएको छ । ‘ती समितिबीच एक आपसमा सम्पर्क गरी नेपालको कोरोना उपचार एवं आइसोलेसन व्यवस्थापनमा सहयोग गर्ने उद्देश्य लिइएको छ,’ शाक्यले भनिन् , ‘दुबै पक्षले एक अर्काको ज्ञान र अनुभवबाट सिक्ने वातावरण बन्ने पनि अपेक्षा गरेका छौँ । अहिले निरन्तर रुपमा इमेलमार्फत आपसी छलफल तथा अनुभव आदान–प्रदान गरिरहेका छौँ ।

शाक्यका अनुसार सो समितिमा नेपालका तर्फबाट स्वास्थ्य सेवा विभाग महानिर्देशक दिपेन्द्र रमण सिंह, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला, स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोखरेल, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभागकी निर्देशक रोशनी लक्ष्मी तुइतुइ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बाँस्तोला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक, भीमप्रसाद सापकोटा, नेपाल सशस्त्र प्रहरी अस्पतालका डा. शैलेन्द्र श्रेष्ठ, नेपाल आर्मी अस्पतालका डा.अरुण न्यौपाने, नेपाल आर्मी अस्पतालका डा.सुशील रावल, नेपाल प्रहरी अस्पतालका डा. आशिष दत्त, पाटन अस्पतालमा डा. आशिष श्रेष्ठ, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा.सन्तकुमार दास रहेका छन् । नेपाल पक्षको संयोजकमा काठमाडौं विश्वविद्यालयका डा. विराज कर्माचार्य रहेका छन् ।

त्यस्तै इजरायलको तर्फबाट भौगोलिक र उष्ण प्रदेशीय केन्द्रका प्राध्यापक एली स्वार्य, आन्तरिक संक्रामक रोग र औषधीका विशेषज्ञ मिक एल्केन, इपिडियोमोलोजी तथा पब्लिक हेल्थका प्राध्यापक नदेव ड्याभिडोवीच, बालचिकित्सक असर मोइजर रहेका छन् । इजरायली पक्षको संयोजनकर्तामा डाक्टर एडा गन्सच रहेका छन् । यो कार्यका लागि नेपाल स्थित इजरायली राजदूतावासका राजदूत पनि सहभागी रहेका थिए ।

विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार इजरायलमा अहिलेसम्म १८ हजार २ सय ६८ संक्रमित भएका छन् भने १ सय ७९ नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म इजरायलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ९९ छ । राजदूत शाक्यका अनुसार योसँगै नेपाल र इजरायलबीचको दौत्य सम्बन्ध अझ प्रगाढ बनाइराख्न इजरायलको प्रविधि, कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा विभिन्न सम्झौताहरु सम्पन्न भइसकेको छ । ती सम्झौताहरु कोरोनाको महामारी न्यून भएपछि कार्यान्वय हुनेगरी अघि बढाउने तयारी छ ।

Logo