टोकियो ।
पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै यहाँका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ ।
जापानमा एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण फैलन थालेको छ । युरोप, अमेरिका लगायतका देशको तुलनामा जापानमा संक्रमितको संख्या अहिलेसम्म कम भएपनि पछिल्लो ७२ घण्टामा भएको वृद्धिले आम मानिसमा त्रास फैलिएको छ । हालसम्म जापानमा संक्रमणका कारण ६५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या झण्डै २ हजार ५ सय ३९ पुगेको छ ।
जापानको राष्ट्रिय फुल साकुरा फुल्ने यो मौसममा यहाँको हावापानी उत्तम मानिन्छ र यो समय जापानीले समूह बनाएर साकुरा हेर्न भन्दै विभिन्न पार्कमा पुगी रमाइलो गर्ने समय हो । यसलाई यहाँ हानामी भनिन्छ । यही कारणले पनि अहिले भीडभाड बढेसँगै जापानको राजधानी टोकियोमा भाइरस वृद्धि हुने खतरा बढेको हो ।
टोकियोका गभर्नर युरिको कौइकोले अवस्था अत्यन्त संवेदनशील र जटिलतातर्फ मोडिएको भन्दै भाइरस नियन्त्रण नहुुँदासम्म संयमता अपनाउन अपिल गरेका छन् । जापानमा विभिन्न कारणले स्थायी र अस्थायी रुपमा यहाँ बस्दै आएका नेपालीको संख्या झण्डै एक लाखको हाराहारीमा छ । संयोगवश अहिलेसम्म भाइरसको संक्रमणका कारण कुनै पनि नेपालीलाई भएको जानकारीमा नआएको गैहआवासीय नेपाली संघ (एनआरएनए), जापानकी सदस्य एलिजा केसी भण्डारीले बताइन् । उनले एनआरएनए जापानले कुनै अप्ठेरो परे सहयोग गर्ने भन्दै सम्पर्कमा रहन आग्रह गर्दै जापानमा आफ्नै व्यवसाय सन्चालन गर्ने नैपालीहरु पनि धेरै रहेकाले उनीहरुलाई असर पर्न सक्ने उल्लेख गरिन् ।
बाग्लुङ, गल्कोटका दिलु खत्री देशभित्र रोजगारी नपाएपछि २५ वर्ष पहिले जापानको एक होटलमा काम गर्न यहाँ जापान आएकामा हाल उनको निजी लगानीमा व्यवसाय खुलेको छ । यस अन्तरालमा खत्रीले सात वटा नेपाली रेष्टुरेन्ट खोलेकी छिन् । जापानका इवाराकी, चिवा र टोकियो केनमा सन्चालित उनका रेष्टुरेन्ट कोभिड १९ भाइरस संक्रमणको डरले ग्राहकहरु आउन छोडेपछि प्रायः सुनसान हुन थालेका छन् । ग्राहक आउन कमी भएपछि कामको चाप पनि कम हुन थाल्यो प्रतिफल उनले कर्मचारी कटौती गरेकी छिन् । उनका होटलहरुमा झण्डै ५० कर्मचारी रहेकामा अहिले पार्टटाइम काम गर्ने सबै कर्मचारी हटाइएको छ ।
दस वर्ष पहिले जापान आएका दोलखाका केशरमान कार्कीले चिवा केनको फुनावासी र टोकियो सिनागोभुमा गरी दुुईवटा रेष्टुरेन्ट सन्चालनमा ल्याएका छन् । रातोभाले नामबाट सन्चालन गरेका यी दुई रेष्टुरेन्टमा प्रायः नेपाली समुदायको राम्रो जमघट हुने गर्दथ्यो तर अहिले सुनसान बन्न थालेको छ । जम्मा ६० देखि ७० जना ग्राहक क्षमता रहेको रेष्टुरेन्टमा अहिले दिनभरमा १० देखि १५ जना ग्राहक हुन मुस्किल देखिएको उनले बताए । उनले एउटा रेष्टुरेन्टमा महिनाको झण्डै तीन लाख भाडा तिर्नुपर्छ । त्यसैगरी ३ कर्मचारीलाई व्यवस्थापन गर्न अहिले कार्कीलाई समस्या परेको छ ।
विद्यार्थीका रुपमा जापान आएका चितवनका उपेन पौडेल आफ्नो अध्ययन पुरा भएपछि व्यवसायमा लागेका छन् । पौडेलले साइतामा केनको कितामोटो रेल स्टेनमा झण्डै ७० लाखको लगानीमा एउटा नेपाली रेष्टुरेन्ट खोलेका छन् । उनले पनि आम्दानी घटेको बताए ।रासस































प्रतिक्रिया