ओमानमा नेपाल भ्रमण बर्ष २०२० को औपचारिक शुभारम्भ

ओमानमा नेपाल भ्रमण बर्ष २०२० को औपचारिक शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

ओमान ।

नेपाली राजदूतावास मस्कटले ‌ओमानको ईम्ति भिलेजमा एक कार्यक्रम गरि नेपाल भ्रमण बर्ष २०२० को औपचारिक शुभारम्भ गरेको छ । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै ओमानस्थिन नेपाली दूतावासले विविध कार्यक्रम गरी यसलाई सफल बनाउने तयारी गरेको हो ।

नेपाली संस्कृति बमोजिम शुरू गरिएको उक्त कार्यक्रममा ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै नेपाली पर्यटनका विविध आयामहरूबारे आफ्ना मन्तव्य दिइन् । मन्तव्यमा राजदूतले नेपाली कला, संस्कृति तथा प्राकृतिक सौन्दर्यको अलावा यसै वर्ष अथवा आगामी वर्षमा नेपाल किन घुम्ने भन्‍ने कुरामा विशेष जोड दिएकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि महामहिम शेख खलिफा अलि अल हार्थीले नेपाल आफूलाई धेरै मन पर्ने बताउँदै नेपाली दूतावासको निमन्त्रणा स्वीकार गरि महामहिम राजदूत र नेपाल सरकारले शुरू गरेको यस महत्वपूर्ण कार्यलाई साथ दिन तथा ओमानी पर्यटकहरूलाई नेपाल भ्रमणमा जान प्रेरित गर्न यस कार्यक्रममा आएको बताए । साथै प्रमुख अतिथिले यहाँस्थित विभिन्‍न मुलुकका दूतावासहरूमध्ये पहिलो पटक मस्कट शहरभन्दा बाहिर पहिलो कार्यक्रम आयोजना गरेकोमा नेपाली दूतावासलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेकी पहिलो ओमानी महिला नदिरा अल हार्थीले आफूले नेपाल भ्रमण तथा सगरमाथा आरोहण गर्दाको रोमाञ्चकारी अनुभव सुनाइन् । कार्यक्रममा नेपाली गीत गाउने पहिलो अरबिक गायक हाइथम मोहम्मद रफिले नेपाली कला संस्कृतिबारे आफ्नो भनाइ राख्दै एक नेपाली तथा एक अरबिक गीत गाएका थिए।

कार्यक्रममा ओमानका लागि नेपाल भ्रमण वर्ष २०२० को सद्‌भावना दूतका रूपमा नियुक्त संगीत तथा संस्कृतितर्फ अरबिक गायक हाइतथम मोहम्मद रफि, साहसिक पर्यटनतर्फ नादिरा अल हार्थी र सामाजिक अभियन्ता तथा प्राज्ञिक व्यक्तित्व डा चिथ्रा नारायणलाई राजदूतले नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गरेकि थिइन् ।

ओमानस्थित नेपाली समुदायको सक्रिय सहभागिता रहेको सो कार्यक्रममा विशिष्ट नेपाली खानाका परिकारहरू (सेलरोटी, मःम, ढिक्री, भक्‍का, दालको फुरौला, गुन्द्रुकको अचार, चुकाउनी लगायतका परिकारहरू) प्रत्यक्ष रूपमा कार्यक्रम स्थलमा नै तयार गरि अतिथिहरूलाई नौलो स्वादहहरू पस्किइएको थियो। ओमानमा बस्ने नेपाली दाजुभाईहरूले कार्यक्रममा आएका प्रमुख अतिथि लगायतका विशिष्ट पाहुनाहरूलाई विश्रामस्थलबाट कार्यक्रमस्थलसम्म विभिन्‍न परम्परागत नेपाली लोकबाजासहितको सांगीतिक प्रस्तुतिको साथमा स्वागत गरेका थिए ।

Logo