पार्टी सामुन्ने देखिएका चुनौतीलाई चिर्नु आवश्यक : राप्रपा (संयुक्त)

पार्टी सामुन्ने देखिएका चुनौतीलाई चिर्नु आवश्यक : राप्रपा (संयुक्त)


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नेताहरुले पार्टी सामुन्ने देखिएको चुनौतीलाई चिर्न स्पष्ट नीति र कार्यक्रम लिएर भुई तहसम्म जानुपर्ने बताएका छन् । मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले सच्चिएर जाने हो भने अहिले पनि नेपाली जनताले राष्ट्रवादी शक्तिलाई स्वागत गर्ने विश्वास व्यक्त गरे ।

‘हाम्रो बटमलाइन भनेको संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र हो । यसैलाई स्पष्ट रुपमा जनतामाझ लिएर जानु पर्दछ । बेथितिलाई चिर्न सके लुटतन्त्रबाट आक्रान्त जनताले राष्ट्रवादी शक्तिलाई साथ दिनेछन्,’ राप्रपा (संयुक्त) का उच्च कार्यसम्पादन समिति सदस्य दुर्गा श्रेष्ठले भने ।

उच्च कार्यसम्पादन समिति सदस्य दिलनाथ गिरीले भने, धर्महरुको धर्म हिन्दु धर्मको मान्यता बोकेर हिड्ने पार्टी जनताको भरोसाबाट चुकेको छ । त्यसकारण विश्वसनीयता कायम गर्नु नै अहिलेको मूल चुनौति हो ।

राप्रपा (संयुक्त) सम्वद्ध पाँचथर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष तथा पाँचथर जिल्ला समिति सदस्य स्वर्गीय जीतबहादुर अगुवाको सम्मानमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्दै पार्टीका नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘हामी कहाँ चुक्यौं, विश्लेषण गरेर सच्चिन जरुरी छ । सच्चिन सकिएन भने हाम्रो अगाडिको बाटो कठिन छ,’ उच्च कार्यसम्पादन समिति सदस्य श्याम तिमिल्सिनाले भने । ‘हामी सच्चिन सके मात्र जीतबहादुर अगुवा जस्ता होनहार कार्यकर्ताको चाहना बमोजिम राष्ट्रिय राजनीतिमा पार्टी स्थापित हुनेछ ।’

पार्टीभित्र पूर्नताजगी र नयाँ उर्जा सिर्जना गर्दै नयाँ पुस्तालाई साथ लिएर जानु पर्नेमा प्रवक्ता सगुन सुन्दर लावतीले जोड दिए । ‘नयाँ नेपालमा शान्ति, समृद्धि, सामाजिक न्याय, समावेशिता नभएर संस्थागत भ्रष्टाचार, लुट र करको भारले जनतालाई थिचेको छ । देश उलटपुलट छ, कतिखेर विष्फोट हुन्छ भन्न सकिन्न । त्यसैले जनताले चाहेको विकल्प दिन हामी स्पष्ट भएर अघि बढ्नुको विकल्प छैन,’ उनले भने ।

Logo