एनआरएनए कोष हिनामिना भएको तथ्य सार्वजनिक

एनआरएनए कोष हिनामिना भएको तथ्य सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष बद्री केसीले हालै चन्द्रागिरी हिल्स रिसर्टमा आफ्नो समूहको भेलामा गरिएको लाखौं खर्च सदर गर्न केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई दबाब दिइ रहेको खुलासा भएको छ ।

केन्द्रीय कार्यालय वालुवाटारमा कार्यरत सहायक निर्देशक बन्दना शर्माले अध्यक्ष केसीको निर्देशनमा कार्यकारी निर्देशक (सिइओ) राजेन्द्र कुमार राउतले एनआरएनए भित्र आर्थिक तथा पदीय दुरुपयोग गर्दै आएको भन्दै सबै पदाधिकारीहरुलाई इमेल पठाएकी छन् ।

‘सुरुवाती दिनहरूमा मसंग सल्लाह गर्ने, मलाई सचिवालयका कर्मचारी र अन्य सरोकारवालासंगको बैठकमा सहभागी गराउने जस्ता काम गर्नुभएको थियो तर चुनाव पछिका दिनहरू, प्रमुखतः गत अक्टोबरमा होटेल सोल्टी काठमाडौंको कार्यक्रममा बिशेष गरि मदिरामा भएको खर्च सम्बन्धमा, ट्याक्सीको बिलको बारेमा मैले उठान गरेका विषयहरू र रात्री भोजको मदिराको बिलमा हस्ताक्षर नगर्ने र आउँदा दिनमा कुनैपनि कार्यक्रममा मदिरा सम्बन्धितका बिलमा हस्ताक्षर नगर्ने निर्णय तपाईलाई सुनाए लगत्तै मैले गर्दै आएका कामबाट पनि अलग राख्नुभयो। सो रात्रि भोजको आयोजना गर्दा मदिराको खर्च समेत संस्थाको कोषबाट तिर्ने निर्णय सहि होइन भन्ने अडान राखी बिलमा हस्ताक्षर गर्न अस्विकार गरे पश्चात म प्रशासनिक प्रमुखलाई संलग्न नगरी प्रशासनका अन्य कर्मचारीसंग मात्रै सरसल्लाह गरी प्रशासनिक प्रमुखलाई केवल निर्णय सुनाउने काम गर्नथाल्नुभयो,’ शर्माले आफ्नो इमेलमा लेखेकी छन् ।

राहत वितरण गर्न जम्बो टोली
संस्थाको गाडी किन्ने विषय, गाडीको प्रयोजन र खर्चको विश्लेषणको प्रसंग साथै भूकम्प प्रभावित जाजरकोटमा राहत बाँड्न जाँदाको खर्चको विषयमा पनि आफ्नो असहमति रहेको उल्लेख गरेकी छिन् । राहत वितरण गर्न जाँदा भएको खर्च राहतका लागि उठेको रकमबाट खर्च गर्न नहुने सुझाव दिंदा प्रमुख कार्यकारी निर्देशक राउतले ‘तपाई प्रोबेसन पिरियडमा हुनुहुन्छ । अनि जे कुरामा पनि असहमति राख्दा तपाईलाई अप्ठ्यारो पर्न सक्छ । यसमा त मदिराको बिल छैन नि” भनेर दवाब दिएको उनले उल्लेख गरेकी छन् । ’मैले अध्यक्षज्यू र महासचिवज्यू समक्ष यो कुरा राख्ने कुरा गर्दा ’यु आर भाइलेटिङ द चेन अफ कमान्ड’ भन्नुभयो। यो सुझाव मुख्यतः अहिलेको परिस्थितिमा संस्था र बोर्डको हितमै थियो। तपाईं अध्यक्षज्यू र पदाधिकारीज्यूहरूलाई सहि सुझाव दिने पदमा हुँदा पनि दिई राख्नु भएको छैन, त्यसमा पनि मलाई आपत्ति छ’ उनले लेखेकी छन्।

संघको आरके शर्मा नेतृत्वको समूहले पनि सहयोग रकम संकलन गरी आफ्नै खर्चमा रुकुम पश्चिम तथा जाजरकोटमै पुगेर राहत वितरण गरेका थिए । तर केसीको टोलीले भने राहतका लागि भनेर संसारभरिबाट एनआरएनहरुले पठाएको रकम आतेजाते, होटल र खानामा खर्च गरेको खुलासा भएको हो । ‘बिनाकुनै म्यान्डेट काठमाडौंको चन्द्रागिरीमा तीन दिने आवासीय कार्यशाला गोष्ठी आयोजना गर्न भन्दै जथाभावी रकम खर्च गरेकोप्रति शर्मा समूहले आपत्ति आपत्तिजनक भनेको छ ।

११औं महाधिवेशनमा गरिएका अनियमितताहरुको छानबिन गर्न सरकारले एक छानबिन समिति गठन गरिसकेको छ भने संस्थाको नवीकरण नभएकाले अवैधानिक बन्न पुगेको केसी समूहले नेपाल सरकार विरुद्ध मुद्दा समेत दायर गरेको छ ।

‘एकातिर वैधानिकता पाउँ भन्दै अदालतमा मुद्दा हाल्ने अर्कोतर्फ संस्थाको कोषको चरम दुरुपयोग गर्ने काम अवैधानिक मात्रै नभएर अनैतिक पनि छ । यस्तो काम तत्काल बन्द गर्न हामी बद्री केसी समूहलाई चेतावनी दिन चाहन्छौं। संसारभरि रहेका संघका झन्डै एक लाख सदस्यहरुले सदस्यता वापत पठाएको रकमको दुरुपयोगको हिसाबकिताब गरिने र सम्बन्धित व्यक्तिहरुबाटै असुलउपर गरिने पनि हामी स्पष्ट पार्न चाहन्छौं,’ आरके शर्मा समूहका महासचिव बुद्धि सागर सुवेदीले भने।

सहायक निर्देशकको पत्र पश्चात एनआरएनभित्र मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । शर्मा पक्षबाट निर्वाचित उपाध्यक्ष गंगाधर गौतमले संघलाई प्राविधिक रुपमा कव्जा गरेर व्यक्तिगत स्वार्थ पुरा गर्ने, संघलाई पुरै तहसनहस पारेर बिभाजित बनाई संघको चलअचल सम्पति दुरुपयोग गर्ने काम भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्,‘विगतमा आईएलो प्रोजेक्ट, संघको सचिवालय हुदै भेरो सेटिंगबाट समेत नपुगेर संघमै महत्वपूर्ण योगदान दिनुहुने कर्मचारी माथि यो सम्मको निर्लज्ज व्यवहार गर्न र गराउन कुन नैतिकताले दिन्छ ?’

गत असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको होटल सोल्टीमा आयोजित संघको ११औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममा गम्भीर अनियमितता गरिएको प्रमाण भेटिए पछि विभाजित भएको एनआरएनएमा हाल कर्मचारीपनि विभाजित अवस्थामा पुगेका छन् ।

Skip This
Logo