भवनहरु ५० वर्ष लिजमा लिएर संचालन गर्न पाउनुपर्ने एनआरएनएको माग

भवनहरु ५० वर्ष लिजमा लिएर संचालन गर्न पाउनुपर्ने एनआरएनएको माग

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ४० करोड बढीको लगानीमा बनेको भवन लिजमा लिएर कम्तीमा ५० वर्षका लागि उपभोग गर्न पाउनुपर्ने सरकारसँग माग गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा संघको भवन पनि परेको भन्दै विशेष अदालतले गरेको आदेश र बुधबार काठमाडौं महानगरपालिकाले समेत सात दिनभित्र जग्गा खाली गर्न सूचना जारी गरेपछि बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले लिजमा लिएर भवन उपभोग गर्न पाउने कानुनी प्रावधान अनुसार उपभोग गर्न पाउनुपर्ने माग गर्दै परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय र नेपाल सरकारलाई अनुरोध गर्ने जनाएको हो ।

एनआरएनएको केन्द्रीय कार्यालय वालुवाटारमा शर्मा समूहले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष आरके शर्माले विशेष अदालतले दिएको आदेश र काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै डा.बद्री केसी समुहले संस्था र भवन नै कब्जा गर्ने उद्देश्यसहित गर्दै आएको पछिल्ला गतिविधिप्रती समेत आफ्नो आपत्ति रहेको बताए । भवन निर्माणमा विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको रगत र पसिनाबाट बनेको गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष गंगाधर गौतमको भनाइ छ ।

गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष र अहिले आफूलाई अध्यक्ष बताउँदै आएका डाक्टर बद्री केसीले कार्यालयमा तालाबन्दी गरेकोप्रती संघको घोर आपत्ति रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । झण्डै ८० लाख बढी सदस्य रहेको गैर आवासीय नेपाली संघ नेपाल सरकारसँग साझेदारी गर्ने संस्था भएपनि राजनीतिक रङ छर्दै व्यक्तिवादी प्रवृति हावी हुँदै गएको संघका पदाधीकारीको दाबी थियो ।

केसी समूहले दादागिरी शैलीमा कार्यालयमा तालाबन्दी गरेको कुरा स्वीकार्य नभएको र बिदेशमा रहेका नेपाली नागरिकको लगानीमाथि कुल्चिएकोप्रति शर्मा समूहका पदाधिकारीहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् । बिदेशमा श्रम गर्ने नेपाली नागरिकको रगत र पसिनाबाट बनेको भवनलाई केसी समुहले दादागिरी शैलीमा आफ्नो नियन्त्रणमा लिएर तालाबन्दी गरेको उनीहरुको भनाई थियो ।

तलब खाने तर कर्मचारी कार्यालयमा उपस्थित नहुने, कार्यालयमा तालाबन्दी गरी सेवा प्रवाह बन्द गरेर आफ्नै मनोमानी ढङ्गले केसी समूह अगाडि बढेकोमा केसी समूहले प्रतिवाद गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । केसी समूहले कार्यालयमा लगाएको तालामाथि अर्को ताला लगाउने आफूहरुको तयारी रहेको पनि उपाध्यक्ष गौतमले पत्रकार सम्मेलनमा बताए ।

पछिल्लो समयमा भएका घटनाक्रमले गैर आवासीय नेपाली संघ राजनीति खिचातानीका बीच चलिरहेको महसुस भइरहेको विभिन्न देशका जनसम्पर्क समितिका पदाधिकारीले गुनासो गरेका छन् । पत्रकार सम्मेलनमा यसअघिका बैठकले गरेका निर्णयहरु समेत सार्वजनिक गरेको छ । गैर आवासीय नेपाली संघले आयोजना गरेको पत्रकार सम्मेलनमा भवन कसरी जोगाउने भन्ने मात्रै समस्या नभई अन्य धेरै समस्याहरु रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

Logo