विवाद मिलाउन भन्दै एनआरएनए नेताहरु मन्त्री निवासमा

विवाद मिलाउन भन्दै एनआरएनए नेताहरु मन्त्री निवासमा

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । राजनीतिमा नयाँ समीकरण बनेसँगै विवादमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए)का नेताहरुले नवनियुक्त मन्त्रीहरुसँगको भेटघाटलाई बाक्लो बनाएका छन् ।

एक समूहका अध्यक्ष डा.बद्री केसीले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेर आवश्यक सहजीकरणका लागि आग्रह गरेका छन् । शुक्रबार मन्त्रीनिवासमा भएको भेटमा अध्यक्ष डा.केसीले गैरआवासीय नेपाली संघको अभियान तथा संस्थागत विकासमा भएका प्रगति र समस्याका बारेमा जानकारी गराएका थिए। सरकारसँग विगतका दिनहरूमा जस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको डा.केसीले जानकारी दिए ।

मन्त्री श्रेष्ठले गैरआवासीय नेपालीहरूले नेपालको लागि गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा मिलेर काम गर्न मन्त्रालय सहयोगी हुने बताए। त्यस्तै गैरआवासीय नेपालीहरूका लागि नेपालको समृद्धिमा योगदानका लागि प्रशस्त सम्भावना रहेको र संघको अभियानको बारेमा आफू पूर्ण जानकार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो। श्रेष्ठले एनआरएनएसँग मिलेर काम गर्न आफू सकारात्मक रहेको बताए। यसअघि गृह मन्त्रालय समालेका श्रेष्ठले पुनर्गठित मन्त्रिपरिषदमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी समालेका हुन्।

उनले विहीबार रुसी समकक्षी लाभारोभसंग रुसी सेनामा अलपत्र परेका नेपालीहरुको समस्याका बारेमा फोनवार्ता गरेका थिए । यसअघि गैरआवासीय नेपाली संघले रुसी सेनामा अलपत्र परेका नेपालीहरुको उद्धार तथा सहयोगको लागि आग्रह गर्दै आएको थियो ।

एनआरएनए हाल तीन समूहमा प्रष्ट विभाजित छ । डा.केसी, आरके शर्मा, विनोद कुँवरले समानन्तर गतिविधि गरिरहेका छन् । माओवादी केन्द्र निकट मानिने शर्माले पनि केहीभित्र परराष्ट्रमन्त्रीलाई भेटेर डा.केसी समूहले मतदानका क्रममा गरेको धाँधलीको विषयमा जानकारी दिने तयारी गरिरहेको बताएका छन् । उनले संस्था शुद्धिकरणको लागि आफ्नो लडाई जारी रहने बताएका छन् । नेपालमा भएको सत्ता समीकरण परिवर्तनले संघभित्र शुद्धिकरणको लागि जारी लडाईलाई कुनै असर नपर्ने प्रतिक्रिया दिएका छन् ।

कांग्रेस, माओवादीको गठबन्धन भत्किएर एमाले, माओवादीको नयाँ गठबन्धन बनेपछि एनआरएनएमा जारी विवादमा के कस्तो असर पर्ला भन्ने आकलन भइरहेको बेला शर्माले आफू राजनीति भन्दा पनि सामाजिक कामका लागि एनआरएनएमा लागेकोले यसको पवित्र उद्देश्यमा कहिल्यै घात नगर्ने बताए ।

शर्माले आफ्नो लडाईं विधि र पद्धतिको लागि भएको भन्दै आफूले अहिलेको टिमलाई कहिल्यै पनि धोका नदिने बताए । ‘११ औं अधिवेशनका बेला सिस्टमको पालना भएको भए वा संस्था कब्जा नगरेर स्वच्छ र निष्पक्ष चुनाव भएको भए अहिलेको अवस्था आउने नै थिएन’ उनले भने । यता, विनोद कुँवर समूहले अलग्गै महाधिवेशनको तयारी गरिरहेको छ ।

Logo