जापानमा हुन लागेको १४ औँ ‘नेपाल फेस्टिवल’ को तयारी अन्तिम चरणमा

जापानमा हुन लागेको १४ औँ ‘नेपाल फेस्टिवल’ को तयारी अन्तिम चरणमा

केन्द्रबिन्दु
84
Shares

टोकियो । जापान हुन लागेको १४ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ मंसिर १५ र १६ गते (तदनुसार नोभेम्बर ३० र डिसेम्बर १) टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल हुन लागेको हो ।

विशेषगरी जापानमा ‘नेपाली हाउस’ निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिवलको आयोजना गरिएको जनाइएको छ ।

जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माण समेत यस फेस्टिवलको उद्देश्य रहेको आयोजक गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ ।

फेस्टिवलमा आर्थिक संकलन अभियान, स्टल बुकिङ, स्वयंसेवक टिम र विभिन्न वेशभूषा, मौलिक कला संस्कृति, नेपाली संस्कृतिका प्रतिभा देखाइने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए ।

उनका अनुसार एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा फेस्टिवल गर्न लागिएको हो । १४ औँ नेपाल फेस्टिवल सञ्चालन हुने स्थलका लागि स्टल, स्टेज लगायत रहने स्थानको डिजाइनिङ अन्तिम रुपमा पुगेको जानकारी दिँदै फेस्टिवल मूल आयोजक समितिका उपसंयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सुभास लामिछानेले विगतका वर्षभन्दा यसवर्ष स्टलको संख्या वृद्धि गरिएको र कार्यक्रम हुने स्थान समेत फराकिलो हुने भएको बताए ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शनको आवश्यक संयोजन गर्ने कार्य पनि भइरहेको प्रवक्ता खगराज गौतम बताए । ‘यस पटकको नेपाल फेस्टिवलमा नेपाललाई चिनाउने गरी स्टलको व्यवस्था गरी नियमित रूपमा डकुमेन्ट्री प्रदर्शन र फोटो प्रदर्शन गरिने छ’, गौतमले भने, ‘नेपालको मौलिक कला संस्कृति, सामाजिक रीतिरिवाज, पर्यटकीय स्थल लगायत समेटिएको डकुमेन्ट्री र सोही अनुसारका फोटो प्रदर्शन गरिने छ ।’

धार्मिक र सामाजिक सत्भावसहितको नेपाल हाउस निर्माण गराउने मुख्य योजनासहित यस पटकको नेपाल फेस्टिवल गरिन लागेकोले जापानस्थित संघ संस्था, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खुला हृदयका साथ आर्थिक सहयोग गर्नका लागि आर्थिक व्यवस्थापन उप समितिका संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले अनुरोध गरे ।

नेपाल फेस्टिवलका लागि स्टल बुकिङ भइसकेको छ । जसअनुसार फेस्टिवलमा ४० वटा व्यापारिक स्टल रहने छन् । जसमा १२ वटा नेपाली खानाको र अन्य व्यापारिक तथा आयोजकको प्रयोजिनका लागि रहने छन् । फेस्टिवलमा नेपाली खाना, नेपाली कपडा र अन्य नेपाली उत्पादनको कारोबार हुने छ ।

फेस्टिवलको अनुमानित खर्च एक करोड ४० लाख येन रहेको एनआरएनए जापानका प्रवक्ता गौतमले जानकारी दिए । फेस्टिवलमा दिपओए फाउन्डेसन जापान, पूर्ण ट्रेडिङ, एनआरएनए आईसीसीका उपाध्यक्ष रोबिन शेरचन, व्यवसायी राजन भट्टराई, पे एनपीएल नाकम क्रेडिट कार्डले मुख्य आर्थिक सहयोग गरेको एनआरएनए जापानले बताएको छ ।

गैरआवसीय नेपाली संघ एनआरएन जापानले सन् २०१२ देखि जापानमा नेपाल फेस्टिवलको गर्दै आएको छ । १४ औँ नेपाल फेस्टिवल २०२४ का सदस्य सचिव तथा एनआरएनए जापानका महासचिव टिकाराम खरेलले भने, ‘नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन यो फेस्टिवल एक माध्यमको रुपमा हुने विश्वास हामीले लिएका छौँ ।’

Logo