दुर्गा पंगेनी
पिडित नम्बर – १
दोहाकै एउटा नेपाली रेष्टुरेन्टको भिषामा कतार आइपुगेकी एकजना नेपाली चेली छिमेकी बहिनीको डेरामा शरण लिएर बसेको दुइमहिना भैसकेको रहेछ । नेपाल बाट १५ सय रियल तलव दैनिक आठ घण्टा ड्युटी, हप्तामा छ दिन मात्र काम गर्नुपर्ने, खान बस्न फ्री पाइन्छ भनेर दोहा आइपुगेकी उनलाइ यहाँ काम खोज्न हम्मे हम्मे भयो । काम पाउने तर सात आठ सय भन्दा माथि कसैले नदिने । त्यो तलवमा काम गरेर खाने के ? बचाउने कति ? चेली निराश भएर मेरो एकजना साथीलाई जागिर खोज्दिनु भनेर फोनमा दुख देखाएर हैरान । साथीले मलाई सुनायो मैले हाकिमलाई सोधें । एकजना आवश्यक रहेको बेला परेछ ती चेलीले बाह्र सय तलवको काम बढो दुख संग फेला पारिन् । त्यो पनि संयोग मिलेको भएर मात्र ।
पिडित नम्बर – २
बुटवलका एकजना गौतम थरका भाइ । चिनेजानेकै आफन्तको शरणमा गएछन काठमान्डू । उनका बाबुका साथिको कुनै नातेदार मान्छे एजेन्ट रहिछिन आजाद भिषामा कतार पठाउने । दुईलाखमा कतार पठाइदिने र मासिक दुइ हजार रियल तलव र एकहजार बराबरको ओभरटाईम लाग्ने अनि झन्डै एकलाख रुपिया नेपाली कमाई हुने भए भएपछी गौतम भाइ खुशी भएर दोहा हान्निएछन् ।
पैसा कमाउन हतार भएका उनि आज बित्यो काम छैन भोलि बित्यो काम छैन, अन्न्तार्वार्ता भन्छन लैजान्छन । अन्तर्वार्ता फेल भयौ भन्छन गर्दा गर्दा आजीत भएछन । नेपालबाट पठाउने एजेन्टले नआत्तिन सुझाव दिन्छन दोहामा जागीर खोजेर लगाइदिने जिम्मा लिएको दलालले अन्तर्वार्ता फेल भयौ अब एक हजार तलवको काम गर भन्छन । उनि भने हिम्मतिला निस्किए । यता दलाल थर्काएर नेपाल फर्केका भाईले आफ्नो खर्च भएको जहाज भाडा कटाएर अरु फिर्ता गराए अनि आफु पनि आजाद भिषामा कतार पठाउने एजेन्ट बनेर उदाए । अचेल गौतम सरले राम्रो हुन्छ आजाद भिषामा जाउ भनेर सिफारिश गरेका आजादे हरु बग्रेल्ती भेटिन्छन दोहामा ।
पिडित नम्बर– ३
अर्का कुँवर थरका भाइ । घर स्याङ्गजा । पोखरा महेन्द्रपुल नजिकै एउटा मोबाइल पसलको बाहिर उनको घडी बनाउने चिटिक्कको पेटी पसल थियो । राति मोबाइल पसल भित्र पेटी थन्क्याउथे, बिहानै आफ्नो पसल बाहिर निकाल्थे साहुको मोबाइल पसल सफा गर्थे । दैनिक पांच सय देखि पन्द्र सयको औसतमा उनि पैसा कमाउथे ।
सुक्रबार घर जान्थे परिवार संग रमाउथे । आइतबार बिहानै पसल खोल्न महेन्द्रपुल पुग्थे । रमाइलो थियो जिन्दगि परिवार संग रमाई रमाई खर्च चलेकै थियो । हातमा सिप थियो । घडीका चेन र सिसा अनि पिन हरु बिकेकै थिए रमाएर बाँचेका थिए ।
अचानक उनकी दिदी सासु (श्रीमती कि दिदी) आइपुगिन् । ज्वाईं लाइ विदेश पठाउन पर्यो भनेर उनीभित्र विदेश जाने रहरको बिउ रोपेर दिदि सासु काठमान्डू लागिन । यता भर्खर बिहे गरेकी श्रीमती रुने नजाउ प्यारा भनेर । बुढा भएका बा-आमा रुने नजा बाबु भनेर । तर दिदि सासुले देखाएको पैसा कमाउने मोहनी मन्त्रले लठ्ठिएर दुइ लाख पचास हजार दिदि सासूलाई बुझाएर दोहा आइपुगेका उनिसंग अब खाने खर्च समेत छैन । यहा काम लगाइदिने जिम्मा लिएको दलालले एग्रिमेन्ट पेपर माग्छ । उनीसंग कागज पत्रको नाममा केहि छैन । फर्केर जाम पैसा फिर्ता माग्ने दिदिसासु आफै कंगाल छिन । साहुको ऋणको ब्याज बढेको बढेई छ । अब गर्ने उपाय केहि छैन । एक हजार तलवको काम गरेर त्यो ऋण तिर्न दुइ वर्ष समय लाग्छ ।
पिडित नम्बर–४
नयाँ र सोझा अनुभव हिन नेपाली हरु विदेशको कमाइ र चकाचौंध वाला सपनामा रुमलिएर ठगिन पुग्नु स्वाभाविक नै हो । यहा त अनुभवी हरुलाई समेत छाडेनन दलाल हरुले । पाल्पा तिरका हरि थापा र सुनसरीका रमेश पौडेल यौटै कम्पनीमा काम गर्थे दोहामा । दुवै जना ड्राइभर । तलव थोरै भनेर सधैं गुनासो गरिरहने ति अनुभवी ड्राइभर हरुले समेत आजाद भिषामा आए राम्रो काम पाईन्छ धेरै तलव भएको काम पाईन्छ भन्ने सुनेछन ।
कतारमा रहेको दलालको नेपालमा सम्पर्क गर्ने लख दलालको सम्पर्क नम्बर पत्ता लागेपछि छदाखादाको जागीर बाट राजिनामा दिएर उनीहरु नेपाल पुगेछन । नेपाल पुगेपछि सुरु भयो आजाद भिषावाला दलालको नखरा । यता हुदाखादाको जागीर छाडेर गईसके । साथमा भएको रकम पनि सकिन लाग्यो । दलालले भिषा निकाल्ने छाँटकाँट ल्याउदैन । तिन महिना पर्खेपछी भिषा निस्क्यो । दलालले आफ्नो नाममा दर्ता कागज भएको कम्पनीको नाममा भिषा निकालेर यहा ल्याइपुर्याइदिने जिम्मा लिएको रहेछ । उनीहरु संग दुइ दुइ लाख रुपिया असुल गरेर बल्ल बल्ल दोहा उतारे ड्राइभर हरुलाई ।
यहाँ आएपछि उनीहरुको आपतको दोश्रो अध्याय सुरुभयो । दिनरात काम खोज्दै भौंतारिदा पनि उनीहरुले काम पाउन सकेनन । अन्त्यमा फर्केर जाने मनस्थिति बनाउने बेलामा एउटा ट्याक्सी कम्पनीले तलव नदिने तर ट्याक्सी दिने र चलाएर निश्चित रकम दैनिक तिर्नुपर्ने गरि काममा राखेछ । त्यो काम तुलनात्मक रुपमा राम्रै मानिन्छ तर सोचेजस्तो कमाई नभएर ऋणमा चुर्लुम्मै डुबेर फर्केर गएका नेपाली पनि भेटिन्छन तर पाल्पाली ले हिम्मत गरेर ट्याक्सी समातेका छन् उनको ट्याक्सीले उनलाई कहाँ पुर्याउने हो थाहा छैन ।
पाल्पाली भाइको सानो गाडीको लाइसेन्स भएको कारण त्यसरी काम पाए । सुनसरीका भाइको परेछ ठुलो गाडी बस मात्र चलाउन पाउने लाइसेन्स । कतार बाट फर्कदा नै पच्चीस सय रियाल कमाउने उनि नेपाल गएर दुइलाख तिरेर आइसकेपछि कमसेकम चार हजार तलवको काम खोजिरहेका थिए । एक त नेपाली राष्ट्रियता अर्को चाँडो काम चाहिएको अवस्था । खल्तीमा भरे खाने खर्च छैन । घर बाट कहिले पैसा पठाउछस भनेर सोध्न थालिसके । यता दोहा प्रवेश गरेको तिन महिला काट्यो भने कि भिषा आफ्नै खर्चले लगाउनु पर्यो नत्र नेपाल फर्कनु पर्यो । अब पच्चीस सय होइन दुइ हजारको काम भएपनि गर्छु लौ खोज्दिनु पर्यो भनेर भौंतारिदै छन् ति भाई ।
आजाद भिषाको जालो यस्तो नराम्रो संग फैलिएको छ कतारको राजधानी दोहामा भन्ने कुरा वर्णन गरि साध्य छैन । यहा नेपाली ब्यबसायी हरुले कतारी नागरिक संग स्पोन्सरसिप अधिकार लिएका हुन्छन । उनीहरुको नाममा कागजी कम्पनि दर्ता भएर बसेको हुन्छ । कम्पनि भएपछी र केहि कन्ट्रयाक हरु देखाए पछी उनीहरुले कामदार ल्याउन पाउछन । त्यसरी कामदार ल्याउन पाउने सुबिधाको चरम दुरुपयोग गर्दै सोझासाझा नेपाली दाजुभाई दिदीबैनी हरुलाई लुट्ने फसाउने गिरोह हरु गजब संग मौलाएका छन् दोहामा । यस बिषयमा दुतावास अनभिज्ञ त पक्कै छैन होला तर कानुनि रुपमा ति दलाल हरु बलिया हुन्छन त्यसैले पनि उनीहरु लाइ रोक्ने या त्यस्तो काममा बन्देज लगाउने कुनै उपाय देखिदैन ।
दलाल हरुले क्लिनर, लेवर, अफिस ब्वाय, टिब्वाय, कारवाश जस्ता चौथो दर्जाका भिषा मात्र निकाल्न सक्छन । नेपाली दलालले पाउने भिषा भनेकै त्यस्तै मात्र हो । ‘अनस्किल्ड मेनपावर’ को सप्लाई गर्ने लाइसेन्स पाएका त्यस्ता एजेन्ट हरुले म्यानपावर ल्याएर आफुले राखेर तोकिएको काममा सप्लाई गर्न पाउछन । थर्ड पार्टीको रुपमा कन्ट्रक्सन साइट लगायत अन्य आवस्यक ठाउमा तर टाउका गनेर म्यानपावर सप्लाई गरेर तिनीहरुको सम्पूर्ण जिम्मेवारी उठाएर जुन अनुपातमा नाफा हुन्छ त्यो भन्दा बढी नाफा त्यस्ता लेवर हरुला यहा ल्याई पुर्याएपछी रिलिज गरेर हुन्छ ।
सुरुमै दुइ देखि तिन लाख सम्म रकम असुलेपछी उक्त मजदुरले मजदुरी गरेर कमाएको रकम बाट बर्ष भरिमा आउने भन्दा ठुलो रकम एकै पटक दलालको हात पर्छ । मजदुरलाई यहा ल्याई पुर्याउन चालिस पचास हजार भन्दा खर्च भएको हुँदैन । बाकि रकम एकै पटकमा झ्वाम पार्न पनि पाइने । कामदारको भिषा नै अर्को कम्पनिमा सारिदिएपछी जिम्मेवारी बहन गर्न पनि नपर्ने सजिलो तर चोर बाटो अपनाएका छन् दलाल हरुले ।
सरकारले बिभिन्न किसिमका नियम हरु ल्याएको छ । खाडीमा कामदार अलपत्र परेको बिषयमा सरकार निकै गम्भीर पनि छ तर सरकार भन्दा दलाल हरु सधैं एक कदम अगाडी छन् । गाउँ गाउमा बैदेशिक रोजगारी सम्बन्धि चेतना अझै सम्म फैलिएको छैन । विदेश पुगेपछि सम्पूर्ण समस्या एकै झट्कामा समाधान हुन्छ भन्ने भ्रममा रहेका सोझा दाजुभाई हरु ठगहरुको जालोमा फसेर बेचीईरहेछन ।
प्रधानमन्त्री केपी ओली ले चुनावी भाषण हरुमा अब बैदेशिक रोजगारमा युवा हरुलाई पठाईने छैन भन्नुभएको थियो । मेनपावर ब्यबसायी हरुले आफ्ना कार्यालय हरु बन्द गरेर नया ब्यबसाय सुरु गर्नुपर्ने अभिव्यक्ति प्रधानमन्त्री बाट आउनु बेदिसिएका नेपाली हरुको लागि खुशीको बिषय हो तर सरकार बनेको यति लामो समय भईसक्दा समेत बैदेशिक रोजगारी सम्बन्धि अर्को अभिव्यक्ति प्रधानमन्त्री बाट आउन नसक्नु दुखको कुरा समेत हो ।
चुनावी घोषणा अनुसार युवालाई देशमै रोजगारी प्रदान गर्नको लागि कुनै मार्गचित्र समेत बाहिर आएको छैन र म्यानपावर ब्यबसायी हरुका अनुमतिपत्र नबिकरण हुन रोकिएका पनि छैनन् यो अवस्था हेर्दा तत्कालै बैदेशिक रोजगारी लाइ सरकारले घटाउला भन्ने तर्फ सोच्न नसकिएपनि चोर बाटो बाट विदेश पुर्याएर अलपत्र पार्ने प्रवृत्ती लाइ निरुत्साहन गर्न ठोस कदम चालिहाल्नु पर्ने देखिन्छ ।





























प्रतिक्रिया