नैनीतालका नेपाली मजदुरको आवाज : नयाँ सरकारबाट स्वदेशमै रोजगारी चाहिन्छ

नैनीतालका नेपाली मजदुरको आवाज : नयाँ सरकारबाट स्वदेशमै रोजगारी चाहिन्छ

केन्द्रबिन्दु
21
Shares

नैनीताल। दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–का ५२ वर्षीय भवानीप्रसाद रेग्मी बुधबार उत्तराखण्डको पर्यटकीय सहर नैनीतालमा भारी बोक्दै भेटिए। तीन दशकदेखि त्यहीँ ज्याला मजदुरी गर्दै आएका उनले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारबाट मजदुरको अवस्था सुधार हुने अपेक्षा व्यक्त गरे।

“नैनीताल पर्यटकका लागि घुम्ने ठाउँ हो, तर हामीजस्ता गरिबका लागि बाँच्ने आधार पनि यही हो,” उनले भने, “देशमा आएको परिवर्तनपछि स्वदेशमै रोजगारी पाइएला भन्ने आशा छ।” दिनभरि भारी बोकेर उनले करिब सात सय भारतीय रुपैयाँ कमाइ गर्ने बताए।

रेग्मी जस्तै धेरै नेपाली वर्षौँदेखि नैनीतालमा मजदुरी गर्दै आएका छन्। उनीहरूको साझा अपेक्षा—अबको सरकारले देशमै कामको अवसर सिर्जना गरोस्। दैलेखकै ६५ वर्षीय बमबहादुर ठकुरी भन्छन्, “युवाले देश चलाउने खबरले आशा बढेको छ, अब देशभित्रै काम गर्ने वातावरण बनोस्।” उनी विगत २० वर्षदेखि नैनीतालमा काम गर्दै आएका छन्। उनका अनुसार त्यहाँ मात्रै हजारभन्दा बढी नेपाली मजदुरी गर्छन्।

कालीकोटका ७५ वर्षीय पदमबहादुर विष्ट पनि दैनिक फलफूल र तरकारीको भारी बोक्छन्। २०५२ सालदेखि नैनीताल आउजाउ गर्दै आएका उनी अहिले कान्छो छोरासँगै त्यहीँ मजदुरी गर्छन्। “नेपालमा भत्ता पाउँछु, तर त्यसले मात्रै पुग्दैन,” उनले भने, “यहाँ दैनिक करिब एक हजार कमाइ हुन्छ।” वृद्धावस्थामा पनि परदेशिनु बाध्यता भएको उनको भनाइ छ।

नैनीतालको तल्ली र मल्लीताल क्षेत्रमा सवारी साधन नपुग्ने भएकाले ढुवानीको अधिकांश काम नेपाली मजदुरले नै गर्छन्। कालीकोट पलाँताका ३० वर्षीय जयबहादुर बुढा पनि कामको खोजीमा दैनिक नाङ्लो र डोरी बोकेर हिँड्छन्। “कहिलेकाहीँ काम नै पाइँदैन, महिनामा २०/२२ हजार जति कमाइ हुन्छ,” उनले भने।

परदेशमा पसिना बगाइरहेका यी मजदुरहरूको एउटै निष्कर्ष छ—युवाशक्ति बाहिरिएर देश बन्दैन। उनीहरू भन्छन्, “राज्यले देशभित्रै रोजगारी दिन सके मात्र अवस्था बदलिन्छ।”

Logo