काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले दक्षिणपूर्वी एसियाली राष्ट्रमा अवैध रूपमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’हरूमा नेपालीलाई पठाउने दुई सयभन्दा बढी मानव तस्करको नाम कारबाहीका लागि पठाएको छ ।
दूतावासले ठूलो संख्यामा मानव तस्करको नाम तथा ठेगाना थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको हो ।
“हामीले थप अनुसन्धान र कारबाहीका लागि २३५ जनाभन्दा बढीको नाम नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएका छौँ,” थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले बाह्रखरीसँग भने, “हामीले पीडितहरूबाट उनीहरूको नाम संकलन गरेका हौँ ।”
चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएयता मात्र थाइल्यान्ड र म्यानमारस्थित नेपाली दूतावासले दक्षिणपूर्वी एसियाली राष्ट्रका अनलाइन स्क्यामिङ सेन्टरमा कार्यरत करिब ७०० नेपालीलाई उद्धार गरी नेपाल फर्काएका छन् । थाइल्यान्ड र म्यानमारमा रहेका नेपाली दूतावासले कम्बोडियाबाट ५६२, म्यानमारबाट १११, लाओसबाट आठ र थाइल्यान्डबाट ६ नेपाली नागरिकलाई उद्धार गरी नेपाल पठाएका हुन् ।
उक्त अवधिमा थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसाको अवधि समाप्त भएपछि पनि नवीकरण नगरी बसिरहेका ६०२ नेपाली नागरिकहरूका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिबाना रकम मिनाहा गराएको छ । दूतावासले भिसा शुल्क तथा जरिबाना रकम मिनाहा गरेकाहरूलाई ‘ट्राभल डकुमेन्ट’ उपलब्ध गरी नेपाल फर्काउँदै आएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ६८ जना र आर्थिक वर्ष २०८१/८२ मा १५६ नेपालीलाई बैंककस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल फर्काएको थियो । तर, यो संख्या चालु आर्थिक वर्ष २०८२/८३ मा ह्वात्तै बढेर ७०० को नजिक पुगिसकेको छ ।
दूतावासले दक्षिणपूर्वी एसियाली राष्ट्रबाट उद्धार गरिएकाहरूलाई नेपाल फर्काउनुअघि उनीहरूलाई प्रलोभन देखाई अनलाइन स्क्यामिङ सेन्टरमा काम गर्न पठाउने व्यक्तिको नाम सोध्ने गर्छ ।
यस्तो क्रममा कतिले आफूलाई पठाउने व्यक्तिको नाम बताउने गरेका छन् भने कति मौन बस्ने गर्छन् । यसरी संकलन गरिएका नामहरू दूतावासले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको हो । “दूतावासले पठाएको विवरण हामीले प्राप्त गरेका छौँ,” नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता राजन लिम्बुले बाह्रखरीसँग भने, “अनुसन्धान गरिरहेका छौँ ।”
मानव तस्करहरूले प्रलोभन देखाई नेपालीहरूलाई दक्षिणपूर्वी एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा गैरकानुनी रूपमा सञ्चालित अलनाइन स्क्यामिङ सेन्टरहरू, क्यासिनोहरूमा अनलाइन ठगी तथा अन्य गैरकानुनी काममा लगाउने गरेको पाइएको छ ।
उद्धारपछि फर्केका पीडितहरूका अनुसार, काम गर्ने क्रममा नेपालीलाई ‘टार्गेट’ दिइन्छ । ‘टार्गेट’ हासिल गर्न नसकेमा शारीरिक थकान हुने सजाय दिने गरिन्छ । पानीको जार बोकाई भर्याङमा तलमाथि गर्न लगाउने, खुट्टाले शरीरमा कुट्ने, करेन्ट लगाउने, अध्याँरो कोठामा थुन्ने, फ्रग जम्प गर्न लगाउनेजस्ता सजाय दिने पीडितहरूले बताउँदै आएका छन् ।
काम मन नपरेको र त्यहाँबाट निस्कन खोज्दा आठ लाख नेपाली रुपैयाँ बुझाउन लगाउने अन्यथा ‘तिमीहरू जान पाउँदैनौँ’ भनी बन्धक बनाउने र बाध्यकारी रूपमा काम लगाउने गरेको पनि पीडितहरूको भनाइ छ । ‘टार्गेट’ हासिल गर्न दिनको १८ घण्टासम्म काममा लगाउने गरिन्छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्र पुगेका नेपालीहरू अनेक आपराधिक घटनामा संलग्न भएको पनि पाइएको छ । कम्बोडियाका जेलमा २९ नेपाली संगठित अपराध, यातना, मानव तस्करी लगायतका कसुरमा थुनामा छन् ।
म्यानमारमा थुनामा १८ नेपाली छन् । यसरी कम्बोडिया र म्यानमार कारागारमा ४७ नेपाली छन् । उद्धार गरिएका अधिकांश भ्रमण (भिजिट) भिसामा ती देश गई त्यहाँ अवैध रूपमा सञ्चालित ‘स्क्यामिङ सेन्टर’मा काम गर्नेहरू छन् ।
कम्बोडियाको अध्यागमनले उपलब्ध गराएको तथ्यांकअनुसार, सन् २०२१ मा १०१ नेपाली भ्रमण (भिजिट) भिसामा कम्बोडिया गएको देखिन्छ । सन् २०२२ मा यो संख्या एक हजार ९७७ पुगेको थियो । सन् २०२३ मा भिजिट भिसामा दुई हजार ९४० नेपाली कम्बोडिया गएका थिए ।
सन् २०२४ मा ६ हजार ४०४ नेपाली भिजिट भिसामा कम्बोडिया पुगेको अध्यागमनको तथ्यांकले देखाउँछ । भिजिट भिसामा कम्बोडिया जानेको संख्या सन् २०२५ मा ९ हजार ६७६ पुगेको थियो । सन् २०२१ यता मात्र २१ हजार नेपाली कम्बोडिया पुगेका छन् ।
कम्बोडियामा अवैध रूपमा रही काम गरिरहेका ठूलो संख्यामा नेपाली कारबाहीमा पर्ने जोखिम छ । ‘स्क्यामिङ सेन्टर’हरूमा काम गर्ने नेपालीलगायत विदेशीलाई लक्षित गरी कम्बोडिया सरकारले नयाँ कडा कानुन ल्याएपछि कारबाहीमा पर्ने जोखिम बढेको हो ।
नयाँ कानुनमा अनलाइन स्क्यामिङ केन्द्रहरूमा काम गर्नेहरूलाई कामको प्रकृति हेरेर न्यूनतम दुई वर्षदेखि आजीवन कैदको सजाय र एक लाख २५ हजारदेखि पाँच लाख अमेरिकी डलर जरिबाना लगाउने उल्लेख छ ।





























प्रतिक्रिया